
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ मा रहेको सिटिजन्स बैंकले सैनामैनामा रहेका वृद्ध, अपांगता भएका तथा असहायहरूलाई लट्ठी वितरण गरेको छ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुर्गिया शाखाको आयोजनामा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्ध, अपांग तथा असहाय व्यक्तिहरूलाई लट्ठी वितरण गरिएको बैंकका मुर्गिया शाखा प्रबन्धक कृष्ण पन्थीले जानकारी दिए।
सैनामैना नगरपालिका वडा नं. ४ को समन्वयमा आयोजित कार्यक्रम बैंकको मुर्गिया शाखा प्रांगणमा भएको थियो । कार्यक्रममा सैनामैना वडा नं. ४ का १५ वटै टोलमा रहेका ४० जना वृद्ध, अपांग तथा असहायहरूलाई हिँडडुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले आधुनिक लट्ठीहरू वितरण गरिएको बैंकका शाखा प्रबन्धक पन्थीले जानकारी दिए । यस कार्यक्रमको उद्घाटन १०३ वर्षीया वृद्धा आमा कस्तुरी विष्टलाई लट्ठी हस्तान्तरण गरेर गरिएको थियो ।
बैंकका शाखा प्रबन्धक पन्थीले बैंकद्वारा प्रदान गरिने सेवा–सुविधाहरूको साथै अस्पताल, ल्याब, होटेल आदिमा बैंकका ग्राहकहरूलाई दिइने विशेष छुटकाे बारेमा सर्वसाधारणलाई जानकारी गराएका थिए।
कार्यक्रमको अध्यक्षता गरेका प्रदेश प्रमुख प्रदीपकुमार श्रेष्ठले बैंक र स्थानीय निकायहरूबिचकाे सम्बन्ध नङ र मासुको जस्तै भएको उल्लेख गर्दै यस्ता रचनात्मक सहकार्यबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे।
सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत गर्दै आएका कार्यक्रमहरू प्रेरणादायक रहेको बताउँदै भने, 'आज हामीले जसलाई लट्ठी दिइरहेका छौँ, भोलि हामी सबैलाई यस्तै लट्ठीको सहाराको आवश्यकता पर्ने भएकाले बृद्धबृद्धाको संरक्षण र उनीहरूलाई सधैँ माया र आदर गर्नुपर्छ।'
यस कार्यक्रममा बोल्दै सैनामैना वडा नं. ४ का वडाध्यक्ष रामप्रसाद अधिकारीले बैंकले भौतिक विकासमा मात्र ध्यान नदिई सर्वांगीण समाजको विकासका लागि बैंक र सामाजिक संस्थाबिचको सम्बन्घ र सहकार्य अतिनजिक र अति घनिस्ट हुनुपर्नेमा जोड दिए। उनले यस्ता कार्यक्रमहरू अत्यन्तै उपयोगी र प्रशंसनीय हुने बताए।
कार्यक्रममा इलाका प्रहरी कार्यालय मुर्गियाका प्रमुख आदित्यराज बिष्ट, लुम्बिनी प्रदेश क्लस्टर–३ का प्रमुख प्रकाश गौतम, सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र प्रसाद पौडेल, वडा नं. ४ का जनप्रतिनिधि, १५ वटै टोल विकास समितिका पदाधिकारीहरू, वृद्धवृद्धा तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस कार्यक्रममा सिटिजन्स बैंकका कर्मचारीहरू महेन्द्र भट्टराई, गणेश तिमिल्सिना, सुस्मिता नेपाल, सञ्जय गौतम, शर्मिला जिसी, खुमन खत्री र कुसुम थारुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चालन बैंककी कर्मचारी मनिषा पौडेलले गरेकी थिइन् ।