१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
रासस ढाका
२o८२ असार १८ बुधबार १७:२o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

Read Time : < 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार १७:२o:oo

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ।
 
सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएकी थिइन्। उनले ढाका फर्कन दिइएको अदालतको आदेशको अवज्ञा गरेपछि सजाय सुनाइएको हो।

अदालतको फैसलापछि मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले पत्रकारहरूसँग भने, ‘उहाँ बंगलादेश पुगेको दिन वा अदालतमा आत्मसमर्पण गरेकै दिन सजाय भुक्तान गर्नुहुनेछ।’

यो मुद्दा पूर्वप्रधानमन्त्रीलाई सत्ताबाट हटाइएपछि उनले गरेको टिप्पणीमा केन्द्रित थियो। अभियोजनकर्ताले जारी अदालती सुनुवाइमा हसिनाले साक्षीहरूलाई धम्की दिएको बताएका थिए।

इस्लामले भने, ‘उहाँको टिप्पणीले मुद्दा दायर गर्नेहरू र साक्षीहरूबिच डरको आभा पैदा गरेको अभियोजन पक्षको जिकिर छ।’ प्रतिबन्धित अबामी लिगका देशबाहिर रहेका अर्का नेता सकिल अकान्डा बुलबुललाई सोही मुद्दामा दुई महिनाको जेल सजाय सुनाइएको थियो।

संयुक्त राष्ट्रसंघका अनुसार गत वर्षको जुलाईदेखि अगस्टसम्म हसिनाको सरकारले सत्तामा टिक्न असफल प्रयासस्वरूप प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि एक हजार ४०० जनाको मृत्यु भएको थियो।

जुन १ देखि सुरु भएको अर्को सुनुवाइमा अभियोजनकर्ताहरूले हिंसाका लागि हसिनाले समग्र कमान्डको जिम्मेवारी लिएको बताएका छन्। उनका सरकारी वकिलले बंगलादेशी कानुनअनुसार मानवताविरुद्धको अपराधका विभिन्न आरोप अस्वीकार गरेको बताएका छन्।