
पहाडको टुप्पोमा भिरालाे पाखामा मौलिक ढुंगेघरहरू भएको झुरुप्प बस्ती। पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाँडापाखा। गाउँको फेदीदेखि शिरसम्म ढुंगा छिनेर बनाएको सफा–सुग्घर पदमार्ग। पाैरखी र मिजासिला गाउँलेको न्यानो आतिथ्यता।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ मा पर्ने हिस्तान टिकोट गाउँ प्रकृति र संस्कृतिको संगम हो। पुन थरका मगर समुदायको बाहुल्य रहेको सुन्दर, शान्त र रमणीय टिकोट पर्यटकको पर्खाइमा छ।
होमस्टे सञ्चालकसमेत रहेका टिकोट माविका प्रअ ठगराज पुनले कोरोनाकालमा सुस्ताएको टिकोटको पर्यटन व्यवसाय अझै लयमा फर्कन नसकेको बताए। ‘महावीर पुनको योजनामा सन् २०११ मा सुरु भएको अन्नपूर्ण–धौलागिरी पर्यावरणीय पदमार्गमा समेटिएको टिकोटमा कोरोना महामारी अघिसम्म पर्यटक आगमन राम्रै थियो,’ उनले भने, ‘पछिल्लो पाँच वर्षयता फाट्टफुट्ट मात्र पर्यटक आउने गरेका छन्।’
सामुन्द्रिक सतहदेखि दुई हजार २५० मिटर उचाइमा रहेको टिकोटको पृष्ठभूमिमा धौलागिरी, मानापाथी, नीलगिरी, अन्नपूर्ण र बराह शिखर हिमालको दृश्य अवलोकन गर्न सकिन्छ। टिकोटदेखि ३० मिनेट (हाइकिङ) उकालो पैदलयात्रा गरेपछि पुगिने पञ्चबल डाँडादेखि हिमशृंखलाको अलावा सूर्योदय, म्याग्दीका ग्रामीण बस्ती र पहाडी भूगोल देखिन्छ।
टिकोटका १० वटा घारमा होमस्टे सुविधा छ। यहाँको होमस्टेमा एक दिनमा ४० जनाभन्दा बढी पाहुना वास बस्न सक्छन्। विदेशी पर्यटक आउँदा सामुदायिक लजमा खाना खुवाउने र आलोपालो गरेर व्यक्तिका घरमा सुताउन लैजाने नियम छ। होमस्टेका कोठाको झ्यालबाट हिमाल देखिन्छ।
नेपाली पाहुनाहरू व्यक्तिगत सम्पर्क गरेर सीधै होमस्टेमा जान्छन्। लघुउद्यम विकास कार्यक्रमको सहयोगमा घरवास र सामुदायिक लज स्थापना भएको थियो। स्थानीय जंगलमा पाइने च्याउ, टुसा, ढकायो सागको गुन्द्रुक, लोकल कुखुराको मासु, फापर, कोदोको ढिँडो, गाईभैँसीको दुध, दही, विषादी र रासायनिक मलको प्रयोगविना उत्पादन गरिएको प्रांगारिक तरकारीका परिकारको स्वाद चाख्न पाइन्छ। आमा र पुर्ख्यौली समूहले मौलिक गीत तथा नृत्यले स्वागत गर्छन्। कृषि पेसामा आधारित टिकोटवासीको जीवनशैली पनि पर्यटकको थप आकर्षण हो।
अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको बेनी–मल्लाज–बाँसखर्क–डाँडाकटेरी–नागी–मोहरेडाँडा–फूलबारी–ठुलाखर्क हुँदै पाँचौँ दिनमा पुगिने टिकोटबाट बेनी–जोमसोम सडकको तिप्ल्याङ र खिवाङ हुँदै खोप्रातर्फ जान सकिन्छ। बेनीदेखि तिप्ल्याङ, महभिर हुँदै दुई घण्टा जिप अथवा मोटरसाइकलमा कच्ची सडकको यात्रा गरेर पनि टिकोट पुगिन्छ।
अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीहरूको संरक्षण गर्न संग्रहालय स्थापनाका लागि भवन बनाएको छ। पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको रु. २९ लाख बजेटबाट निर्माण भएको दुईतले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री संकलन गरेर राखिने अन्नपूर्ण गाउँपालिका– ७ का वडाध्यक्ष मइलन पुर्जा पुनले बताए।