१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १८ बुधबार
  • Thursday, 03 July, 2025
२o८२ असार १८ बुधबार १२:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तापक्षकै सांसदको आलोचनाबिच सुदूरपश्चिमको बजेट सर्वसम्मत पारित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १८ बुधबार १२:५८:oo

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रदेश सभाबाट पारित भएको छ । बजेटमाथिको छलफल सकिएपछि प्रदेश सभाले बजेट सर्वसम्मत पारित गरेको हो । सभामुख भीमबहादुर भण्डारीले बजेटलाई निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदले समर्थन जनाए भने प्रतिपक्षी दलका सांसद मौन बसेका थिए ।

छलफलका क्रममा बजेटविरुद्ध सत्तापक्षकै सांसदले सदनमा छलफलका क्रममा तीव्र विरोध र आलोचना गरेका थिए । तीन दिनसम्म चलेको बजेटमाथिको छलफलमा प्रतिपक्षीभन्दा सत्तापक्षका सांसद आक्रामक देखिए । बजेटमा बिचौलिया हाबी भएका र आर्थिक लेनदेनका आधारमा योजनाहरू राखिएका भन्दै सत्ता र प्रतिपक्षीका अधिकांश सांसदले यस विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए ।

‘बजेटमा बदमासी भएको छ, एक–एक बदमासी पत्ता लाग्छ,’ आज बजेट पारित हुनुअघि छलफलमा भाग लिँदै एमाले सांसद धर्मराज पाठकले भने, ‘यसलाई रोक्न जरुरी छ । मुख्यमन्त्रीज्यू छानबिन समिति गठन गरौँ ।’ उनले बजेटका नाममा कमाउधन्दा चलिरहेको आरोप लगाए ।

पाठकले बजेटलाई लिएर केही मन्त्रीमाथि नैतिक प्रश्न उठेको उल्लेख गर्दै त्यसको जवाफ चाहिने बताए । ‘हाकाहाकी पैसा लिएको कुरा उठिरहेको छ ।सांसदहरूले प्रदेश सभा बैठकमै प्रमाण दिन्छौँ भनिरहेका छन् । सम्बन्धित मन्त्रीमाथि यो नैतिक प्रश्न हो कि होइन ?’ उनले भने, ‘दुई–चार करोडका लागि मात्र राजनीतिमा आएका हौँ भने ठिकै छ ।’

एमाले संसदीय दलका प्रमुख सचेतक चक्र मल्लले प्रदेश सांसदभन्दा बिचौलिया बलिया देखिएका भनेर टिप्पणी गरे । पैसा ल्याएर योजना लैजाऊ भन्ने परिपाटी बजेट निर्माणमा देखिएको उनले बताए । ‘बिचौलियाले १० योजना हाल्दा हामीले एउटा हाल्न सकेका छैनौँ,’ मल्लले भने, ‘कट्टामा पैसा ल्याऊ, डोकोमा योजना लैजाऊ भन्ने परिपाटी देखियो । यो दुःखद कुरा हो ।’  

नेकपा माओवादी केन्द्रका सांसद रमेशसिंह धामीले बजेट निर्माणमा आर्थिक चलखेल भएको भन्दै बजेट फेल गरेर जान प्रदेश सरकारलाई आग्रह गरे । ‘यहाँ छानबिन समितिका कुराहरू पनि आए । मेरो एउटै माग छ– सरकार नढाल्नोस्, बजेट फेल गर्नोस् र मन्त्रालय बदल्नोस्,’ धामीले भने, ‘एक महिनापछि हेर्नोस् कसको घर कति जनाले घेरा हाल्छन् पैसा फिर्ता माग्नका लागि । कतिको सामाजिक सञ्जालमा आउँछन् । आँट गर्नोस् ।  बोरामा पैसा देख्ने मान्छे छन् ।’

सत्तापक्षकै अधिकांश सांसदले बजेटको विपक्षमा धारणा राखेपछि माओवादीका सांसद मानबहादुर धामीले सरकार नैतिक रूपमा ढलिसकेको टिप्पणी गरे । ‘संख्याको हिसाबले झन्डै दुईतिहाइ हुनुहुन्छ, नैतिक हिसाबले यो सरकारले आफ्नो धरातल गुमाइसकेको छ । एकपटक परीक्षण गर्नुहोस् मुख्यमन्त्रीज्यू । पुनः विश्वासको मत लिनुहोस् भन्ने आग्रह गर्न चाहन्छ,’ धामीले भने, ‘२७ जनामा एक–दुईजनाबाहेक कसैले समर्थन गरेको छैन । सुदूरपश्चिम सरकार नैतिक रूपमा ढलिसक्यो ।’ 

सत्तासाझेदार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले मन्त्रीमुखी बजेट आएको बताए । पहुँचका आधारमा हचुवाका भरमा बजेटमा योजनाहरू राखिएका उनले आरोप लगाए । छलफलको पहिलो दिन एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापा, कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीलगायतले बजेट निर्माणमा अनियमितता भएको आरोप लगाउँदै छानबिन समिति गठन गर्न माग गरेका थिए ।

बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बजेटलाई धेरै राम्रो भन्न सकिने अवस्था नरहेको स्विकारे। ‘स्रोतको कमी र अन्य कतिपय कारणले सोचेजस्तो गर्न सकेका छैनौँ,’ मन्त्री थापाले भने, ‘समग्रमा बजेट धेरै राम्रो भन्न सकिने अवस्था मैले पनि पाएको छैन ।’ मन्त्री थापाले गत १ असारमा ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।