
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य एवं कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्। यादवको गएराति ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। स्व. यादवले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गरेकाे सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहिरहने उनले उल्लेख गरे ।
बाराको सुवर्ण गाउँपालिका– २ निवासी यादव लामो समयदेखि मधुमेह राेगबाट पीडित थिए। ०७० को संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट उनी निर्वाचित भएका थिए । यादवले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनकाे निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको देउवाले विज्ञप्तिमार्फत बताएका छन् ।