
नेपालमा पेट्रोलियम पदार्थ बिक्री गर्दै आएको भारतको सरकारी स्वामित्वको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले मंगलबारदेखि भारतमा व्यावसायिक प्रयोजनको एलपी ग्यासको मूल्य ५८.५० भारु प्रतिसिलिन्डर घटाएको छ ।
मूल्य घटेपछि दिल्लीमा व्यावसायिक प्रयोजनको सिलिन्डरको भाउ १६ सय ६५ भारु कायम भएको छ । यसअघि प्रतिसिलिन्डर मूल्य १७ सय २३.५० भारु थियो । एक महिनाअघि १ जुनमा पनि भारतमा प्रतिसिलिन्डर २४ भारुका दरले ग्यासको घाउ घटेको थियो ।
आइओसीले नेपालमा पनि सोमबार साँझ नयाँ मूल्य पठाउँदा प्रतिसिलिन्डर ५१ रुपैयाँ मूल्य घटाएर पठाएको थियो । तर, आयल निगमले घटेर आएको ग्यासको मूल्य स्थिर राखेर बढेर आएका पेट्रोल, डिजेल र हवाई इनधनमा मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको दाबी गरे पनि ग्यासको मूल्य भने विगतको घाटा देखाउँदै समायोजन नगरेको तर्क गरेको छ ।
ग्यासमा स्वचालित प्रणाली लागू गरेको भए सोमबारदेखि नै प्रतिसिलिन्डर ५० रुपैयाँसम्म घट्न सक्ने अवस्था छ । दैनिक एक लाख सिलिन्डर ग्यासको खपत रहेकोले मूल्य घटाउँदा उपभोक्ताले भान्सामा ठुलो राहत पाउने अवस्था छ ।