
नेपाली कांग्रेस बाराका नेता एवं संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादवको बुधबार बिहान निधन भएको छ ।७१ वर्षीय नेता यादव लामो समयदेखि मिर्गौलासम्बन्धी रोगबाट ग्रसित रहेका उनको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
दुवै मिर्गौला खराब हुँदा एक हप्ताअगाडि ब्रेन ह्यामरेज भएपछि अस्पताल भर्ना भएका उनको उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस बाराका नेता लोकेश सिंहले जानकारी दिए । उनी ०७० सालको दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
बाराको सुवर्ण गाउँपालिका– २, कवहीगोठनिवासी नेता यादव नेपाली कांग्रेसका सक्रिय नेता पनि थिए । यस्तै, नेता यादव बारा क्षेत्र नम्बर २ ख प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका बच्चा यादव अहिरसँग पराजित भएका थिए । उनको पुर्खौली गाउँ कवहीगोठमा बुधबार नै अन्त्येष्टि हुने परिवारका सदस्यहरूले जनाएका छन् ।