
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडिसी)बाट स्तरोन्नति भएपछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणका लागि विश्व समुदायसँग आग्रह गरेका छन् ।
स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा मंगलबार आयोजित ‘सशक्तीकरणका लागि लचिलोपन : दिगो एलडिसी स्तरोन्नतिका लागि जलवायु–स्मार्ट वित्तीयकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको पनि बताए । नेपालको एलडिसी स्तरोन्नतिका लागि तीन मापदण्डमध्ये दुई पूरा भएको भए पनि प्रतिव्यक्ति आयस्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उनले उल्लेख गरे । ‘नेपालमा धरै अवसर छन् । देशको ४० हजार मेगावाटभन्दा बढीको जलविद्युत् सम्भावना छ,’ उनले भने ।