
सांसदहरूले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले वर्षायाममा सतर्कता अपनाउन सुझाव दिँदै किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउनसमेत सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद उदयबहादुर बोहराले देशभर किसानलाई आवश्यक मल उपलब्ध नभएकोतर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । ‘झन्डै १३ लाख मेट्रिक टनसम्म मलको माग छ । सरकारले जम्मा चार लाख मेट्रिक टन मात्र आयात गर्न सकेको छ । किसानलाई पर्याप्त मल उपलब्ध गराउन सकिएको छैन,’ उनले भने।
सांसद नरबहादुर विष्टले निरन्तर वर्षाका कारण सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका किसान मर्कामा परेको बताए। यी प्रदेशका विभिन्न जिल्लाका बजारसमेत अस्तव्यस्त भएकोतर्फ ध्यानाकर्षण गराउँदै क्षति न्यूनीकरण र उद्धारका लागि सरकारको योजनाबारे गृह मन्त्रालयले सदनलाई जानकारी दिन सभाअध्यक्षमार्फत माग गरे ।
सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका अतिवृष्टिले प्रभावित भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए। उनले यी ठाउँहरूमा ढल निकासको उचित व्यवस्थापन नभएको र खोलाको छेउछाउ बस्ती विकास भएको भन्दै स्थानीय तहको ध्यानाकर्षण गराए । सांसद मिश्रले निजामती विधेयक पारित गर्दा ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा हेरफेर भएको पाइएकाबारे समेत छानबिन गर्न माग गरे ।
यस्तै, सांसद मदनकुमारी साह गरिमाले सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने हुलाकी सडकअन्तर्गत कर्णाली नदीको पुलको बर्दियातर्फको भाग क्षतिग्रस्त भएकाले तत्काल मर्मत गर्न ध्यानाकर्षण गराइन् । सांसद मोहम्मद खालिदले चामलमा आत्मनिर्भर हुने सरकारले लिएको लक्ष्यबारे सचेत गराए ।