१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
२o८२ असार १७ मंगलबार o७:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्लब विश्वकपले सोचेजस्तो चर्चा पाएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार o७:५५:oo

फिफाले सबै महादेशका क्लबहरूबिचको सहभागिताले क्लब विश्वकप च्याम्पियनसिपमा रोमाञ्चकता प्रदान गराउने उद्देश्य राखेको थियो । अमेरिकामा आयोजना भइरहेको प्रतियोगितामा ३२ राष्ट्रका क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । अहिले यसको क्वार्टरफाइनल समीकरण लगभग पूरा हुने तर्खरमा छ । फिफाले जुन लक्ष्यका साथ यस संरचना परिवर्तन गर्‍यो । अपेक्षित रूपमा क्लब विश्वकपले सफलता पाएको छैन । युरोपबाट सहभागी चेल्सी, म्यानचेस्टर सिटी, रियल म्याड्रिड, बायर्न म्युखिन र फ्रेन्च पेरिस जर्मन (पिएसजी)जस्ता क्लबका अफिसियलले यसको आलोचना गरेका छन् । 

लगभग उनीहरूको भनाइ एउटै छ, ‘क्लब विश्वकप अहिले ‘जोक्स’जस्तै भइरहेको छ ।’ चेल्सीका प्रशिक्षक इन्जो मार्सेकाले बेनिफिकाविरुद्धको प्रिक्वार्टरफाइनल खेल हुनु दुई घन्टाअगाडि आयोजकले स्थगित गरेको निर्णयलाई जोक्सका रूपमा लिए । ‘हामी प्रिक्वार्टरफाइनल खेल खेल्न तयारी अवस्थामा थियौँ, तर आयोजकले दुई घण्टाअगाडि नै खेल नहुने भनी सूचना जारी भयो,’ इन्जोले भने, ‘फिफा स्वयं प्रत्यक्ष संलग्न भएको प्रतियोगितामा पनि खेल तालिका ठाउँको ठाउँ परिवर्तन हुन्छ ?’ 

अमेरिकाले क्लब विश्वकप फुटबल प्रतियोगिताको व्यवस्थापन राम्रो गर्न नसकेको आरोप उनले लगाएका छन् । ‘यो फुटबल होइन, क्लबहरूको विश्वकप चलिरहँदा यसको खेल तालिका अगाडि नै सार्वजनिक हुन्छ । त्यस्तै, केही गम्भीर समस्या आउँदा मात्र खेल तालिका परिवर्तन हुने गर्छ,’ इन्जोले भने, ‘फेरि चार घण्टापछि पुन: खेल सञ्चालन भयो । यसलाई व्यवस्थापन पक्षले जोक्सजस्तै बनाएको छ ।’

समरमा विश्वकप गर्न उपयुक्त छ ? 
क्लब विश्वकपमा सहभागी धेरैजसो खेलाडीले समर सिजनमा अमेरिकामा विश्वकप फुलबल प्रतियोगिता उपयुक्त हुन्छ वा हुँदैन भनी प्रश्न गरेका छन् । डिफेन्डर टेभोन्हले भनेका छन्, ‘हामीहरूको खेल शनिबार सुरु भयो र खेल समाप्त आइतबार भएको थियो ।’ शनिबार खेल हुँदा चट्याङका कारण खेल रोकिएको थियो । खेल पुन: सुचारु हुँदा आइतबार भएको थियो । अमेरिकाको पाँच सहरमा ठुलो चट्याङ र हुरी–बतास चल्दा घण्टौँ खेल रोकिएको थियो । ‘अर्को वर्ष पनि यही समयमै यहाँ विश्वकप हुन्छ । त्यसवेला पनि यस्तै समस्या आउने देखिन्छ । यसकारण, समरको समयमा विश्वकप आयोजना गर्न कति उपयुक्त हुन्छ ?,’ डिफेन्डर टेभोन्हले भने ।

६ खेल रद्द
वेलावेलामा आउने चर्को हुरी, बतास र चट्याङका कारण क्लब विश्वकपमा अहिलेसम्म ६ खेल रद्द भए । निर्धारित समयमा खेल नहुँदा खेलाडीको मिहिनेत सबै खेर जाने चेल्सीका म्यानेजर इन्जोको भनाइ छ । ‘अहिले हामीले के देखेका छौँ भने सामान्य किसिमको चट्याङ र हुरी बतासले पनि खेल रद्द भएका छन् । अचानक खेल रद्द हुँदा खेलाडीको मिहिनेत खेर गइरहेको छ,’ उनले भने, ‘यहाँको मौसमअनुसार खेल तालिका प्रकाशित गर्नुपर्ने थियो ।’ आयोजकले भने खेलाडीहरूको सुरक्षाको दृष्टिकोणमा राखी खेल तालिका परिवर्तन गरेको जनाएको छ । 

‘हामीहरूको पहिलो प्राथमिकता नै खेलाडीहरूको सुरक्षा हो । खतराजनक अवस्थामा खेलाडीहरूलाई मैदानमा उतार्नु भनेको जोखिमपूर्ण कदम हो,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले यो समयमा अमेरिकाको मौसमसम्बन्धी सबैलाई जानकारी गराएका छौँ । उहाँहरू तयार हुनुपर्ने थियो ।’ अमेरिकाले मेक्सिको र क्यानडासँग संयुक्त रूपमा अर्को वर्ष फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छ । विश्वकपको समय पनि यही समय हो । यसैकारण, अर्को वर्षको विश्वकपमा खेल प्रभावित हुन सक्ने अनुमान छ ।