१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १७ मंगलबार o६:o७:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देउवामाथि शेखरका प्रश्नैप्रश्न : सरकारको नेतृत्व एमालेलाई किन दिइयो ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार o६:o७:oo

कांग्रेस नेता डा. शेखर कोइरालाले एमालेको नेतृत्वमा सरकार बनाउनुको कारण र औचित्यमाथि गम्भीर प्रश्न उठाएका छन् ।  सोमबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले एमालेलाई सरकारको नेतृत्व दिएकामा असन्तुष्टि पोख्दै सभापति शेरबहादुर देउवामाथि प्रश्नैप्रश्न गरेका छन् । 

‘कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नुपर्छ भन्ने म नै हुँ । तर, मैले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ । के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?’ नेता कोइरालाले बैठकमा सभापति देउवालाई सोधेका थिए, ‘यदि संविधान संशोधनका लागि यो गठबन्धन हो भने सातबुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चित बुझ्ने जवाफ दिनुपर्छ ।’

कोइरालाले ०७९ को निर्वाचनको गठबन्धन र त्यसपछि क्रमश:  एमालेसँग सत्तासहकार्य गर्नुको कारणबारे पनि बैठकमा जवाफ खोजेका छन् । ‘०७९ को संघीय र प्रदेश निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर निर्वाचनमा गयौँ । अहिले एमालेसँग सरकारमा छौँ । त्यति वेला के कारणले माओवादीसँग गठबन्धन गर्‍यौँ र अहिले के कारणले एमालेसँग सत्तासहकार्य भयो ?’ उनको प्रश्न थियो । 

सभापति देउवाले पार्टीलाई एकढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा धन्यवाद भन्दै नेता कोइरालाले बैठकमा मन्तव्य राख्न सुरु गरेका थिए । ‘म सुरुदेखि नै पार्टी एकढिक्का होस् भन्ने व्यक्ति हुँ । सभापतिले पार्टीलाई एकढिक्का बनाएर लैजान्छु भन्नुभएकोमा धन्यवाद । तर, म आज केही तितो वास्तविकता भन्ने प्रयासमा छु, यसमा कसैले चित्त नदुखाइदिनुहोला,’ भन्दै उनले देउवामाथि प्रश्न सुरु गरेका थिए । 

कोइरालाले विधानअनुसार आगामी १५ मंसिरभित्र १५औँ महाधिवेशन गर्न आलटाल भइरहेको आशंका गर्दै सभापति देउवा र पदाधिकारीहरूसँग चित्तबुझ्दो कारण माग गरे । ‘हामी अहिले महाधिवेशनको वर्षमा छौँ । ०८२ सालको मंसिर महिनामै १५औँ महाधिवेशन गर्नुपर्छ भन्ने कुरामा म अहिले पनि दृढ छु । यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्‍यो । पदाधिकारी साथीहरू त महाधिवेशनका लागि जोडतोडले घुमिरहेको देखिन्छ,’ बैठकमा उनको भनाइ थियो । 

सभापति देउवाले आफूमाथि अनुशासनको कारबाहीको प्रयास गरेको भन्दै नेता कोइरालाले के गर्न खोजेको भन्दै धारणा पनि मागे । ‘अनुशासन समितिको बैठकमा पार्टी सभापतिज्यूले चितवनमा दिनेश कोइरालालाई शेखर कोइरालाले उठाएको हो, शेखरलाई किन कारबाही नगर्ने भनेर भन्नुभएछ । के आधारमा त्यो कुरा गरियो ? सभापतिज्यू यसको जवाफ चाहियो,’ उनको प्रश्न थियो । निष्पक्ष काम गर्न नसकेको भन्दै कोइरालाले अनुशासन समितिको औचित्यमाथि नै प्रश्न उठाएका थिए । 

‘अहिले अनुशासन समितिमा रहनुभएका साथीहरू कति कमजोर हुनुहुन्छ भने कारबाहीको लागि सिफारिस भएका केन्द्रीय सदस्य साथीहरूलाई एउटा चिठीसम्म पनि काट्न सक्ने ताकत राख्नुहुँदो रहेनछ । तपाईंका विरुद्ध यस्तो उजुरी छ, के हो भनेर सोध्न सक्ने हैसियत पनि राख्नुहुन्न उहाँहरू । यस्तो अनुशासन समितिले निष्पक्ष काम गर्न सक्दैन । एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गराइएको छ, कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको छ । कारबाहीमा किन विभेद ?’ कोइरालाको प्रश्न थियो । 

कोइरालाले उद्योगी विनोद चौधरीलाई विधान उल्लंघन गरेर केन्द्रीय सदस्य बनाएको भन्दै बैठकमा आपत्ति जनाए । ‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन ? त्यो हेरियो ? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो ?’ सभापति देउवातिर हेर्दै उनले सोधे, ‘सभापतिज्यूलाई स्मरण होला, पहिलोपटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्थ्यो । उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो । १० वर्ष नपुगेकाले गिरिजाबाबुले सुजातालाई उम्मेदवार बन्न दिनुभएन ।’ 

सर्वोच्च अदालतले वन मुद्दामा भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई नहटाउँदा कांग्रेसलाई क्षति पुर्‍याएको विषयमा पनि कोइरालाले प्रश्न उठाएका थिए । ‘सर्वोच्च अदालतले दोषी किटान गरिसकेको व्यक्ति आज पनि सर्लाहीको जिल्ला सभापति पदमा बसिरहनुभएको छ, के कारणले उहाँलाई हटाइएको छैन ? यो घटनाले कांग्रेसलाई कति क्षति पुगेको छ भन्ने कुरा सभापतिज्यू र पदाधिकारीहरूले बुझ्नुभएको छ ?’ उनको प्रश्न थियो । 

त्यस्तै, तरुण दल, नेविसंघ, महिला संघजस्ता भ्रातृ संगठनमा महाधिवेशन गराउन ढिलाइ भएको भन्दै कोइरालाले ध्यानाकर्षण गराए । ‘नेपाल दलित संघका ४२ जिल्ला विघटन गरिएको सुन्नमा आएको भन्दै उनले अधिवेशनमा जाने कि विघटन गर्ने ? जिल्ला विघटनको अधिकार दलित संघको अध्यक्षलाई कसले दियो ? यसको जवाफ चाहियो,’ उनको भनाइ थियो । नेता कोइरालाले आफूले १४औँ महाधिवेशनमा पराजित भएलगत्तै भागबन्डाको राजनीति गर्दिनँ भनेर अडिए पनि त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानिएको बैठकमा सुनाएका थिए । ‘मैले आज बाध्य भएर भनिरहेको छु । पार्टीमा एकता होस्, गुटबन्दी र भागबन्डाले कांग्रेस कमजोर नबनोस् भनेर १४औँ महाधिवेशनमा पराजित भएलगत्तै म भागबन्डाको राजनीति गर्दिनँ भनेर भनेको थिएँ । सभापति एवं पदाधिकारीहरूले पार्टीका आन्तरिक कुरामा गरेको निर्णयमा कहिल्यै पनि मैले फरक मत राखिनँ । मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो,’ उनको भनाइ थियो ।

देउवाले भने– पार्टीलाई एकढिक्का बनाएर लैजान्छु 
सभापति शेरबहादुर देउवाले देशलाई ठिक ढंगले नेतृत्व गर्न पार्टी एकतासहित अगाडि बढ्नुपर्ने बताएका थिए । ‘देशको नेतृत्व कांग्रेसले नै गर्ने हो, अहिले पनि हामी सरकारमा छौँ, त्यसैले पनि पार्टीभित्र बलियो एकताको खाँचो छ,’ उनको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘तपाईंहरूले पनि आफ्ना कुरा बाहिर होइन, बैठकमा राख्नुहोस्, म पार्टीलाई एकढिक्का बनाएर लैजान्छु, त्यसका लागि तपाईंहरू सबैको सहयोग चाहिन्छ ।’

बैठकमा १३ एजेन्डा 
बैठकमा १३ एजेन्डा छलफलका लागि प्रस्तुत भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । जसअनुसार पार्टीको सयदिने देशव्यापी अभियानको समीक्षा प्रतिवेदन, केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन, संसदीय प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति प्रतिवेदन, अधिवेशन हुन नसकेका भ्रातृसंस्थाहरूको अधिवेशनलगायतका एजेन्डामा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको उनले जानकारी दिए ।

कांग्रेस क्रियाशील सदस्य संख्या आठ लाख ७० हजार 
बैठकमा उपसभापति तथा केन्द्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको प्रगति विवरण र महामन्त्री गगन थापाले सदस्यता नवीकरण तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा कांग्रेसको क्रियाशील सदस्यता संख्या आठ लाख ७० हजार ७८० पुगेको उल्लेख छ । तीमध्ये चार लाख ४७ हजार ३४६ सदस्य १४औँ महाधिवेशनपछि नयाँ थपिएका हुन् । त्यस्तै, प्रवासमा रहेका जनसम्पर्क समितिमा १९ हजार ४९२ सदस्य पुगेका छन् ।