
प्रधानमन्त्री केपी ओली र स्पेन सरकारका अध्यक्ष पेड्रो सान्चेजबिच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघद्वारा आयोजित विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको मड्रिड पुगेका ओलीले आइतबार सान्चेजसँग द्विपक्षीय वार्ता गरेका हुन् ।
ओली आइतबार स्पेन पुगेका थिए । प्रधानमन्त्री ओलीलाई मेड्रिडको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत सनिल नेपाल र संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरे ।
सोमबार ओली सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुनेछन् । त्यसपछि गेट्स फाउन्डेसनद्वारा आयोजना गरिने विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा उनले सम्बोधन गर्नेछन् । लगत्तै उनको स्टोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय वार्ता हुनेछ । ओलीले सम्मेलनलाई अपराह्न अल्पविकसित राष्ट्रहरूको संगठनको अध्यक्षका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ ।
सोमबारै ओलीले इजिप्टका प्रधानमन्त्री
डा. मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक र संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
खाद्य तथा कृषि संगठनको मन्त्रीस्तरीय विशेष सत्रलाई परराष्ट्रमन्त्रीको सम्बोधन
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इटालीको रोममा आयोजित राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मन्त्रीस्तरीय विशेष सत्रलाई आइतबार सम्बोधन गरेकी छिन् । उनले नेपालले नागरिकको खाद्यसम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको उल्लेख गरिन् ।
नेपालको संविधानको मौलिक हकमै नागरिकको खाद्यसम्बन्धी अधिकारको व्यवस्था गरिएको उनले जानकारी दिएकी छिन् । संगठनको जारी ४४औँ विशेष सत्रअन्तर्गत आजको अतिकम विकसित, साना टापु राष्ट्रहरू तथा भूपरिवेष्टित राष्ट्रहरूमा खाद्य अधिकार तथा पोषणसम्बन्धी सत्रमा उनले सम्बोधन गरेको प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।