१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
२o८२ असार १६ सोमबार १३:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अविरल वर्षासँगै धनगढी जलमग्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १३:१९:oo

हिजो रातिबाट परिरहेको अविरल वर्षासँगै धनगढी जलमग्न बनेको छ ।धनगढीका अधिकांश भूभाग जलमग्न बनेका छन् । मुख्यबजार क्षेत्रको क्याम्पस रोड, रातोपुललगायत क्षेत्र जलमग्न भएर केही पसलमा पानी पसेको छ ।

शिवनगर, विशालनगर, हसनपुर, क्याम्पसरोडलगायत क्षेत्रका कतिपय बस्ती जलमग्न बनेका छन् । यी क्षेत्रका कैयौँ घरमा पानी पसेको छ । वर्षा नरोकिएकाले डुबान बढ्दै जान थालेपछि स्थानीय चिन्तित बनेका छन् ।

क्याम्पस रोडमा डेरा गरी बस्ने विशाल बोहराले कोठाभित्र पानी पसेकाले बस्न सक्ने अवस्था नरहेको बताए । उनले डुबान बढ्दै गएकाले सामानसहित आफन्तकहाँ जान लागेको बताए । बजार क्षेत्रमा रहेका खोलानालामा पानीको सतह अत्यधिक बढेको छ । लगातारको वर्षाले जलमग्न भएपछि धनगढीका कतिपय विद्यालय आज सञ्चालन हुन सकेनन् । अविरल वर्षाले अत्तरियाको मालाखेती क्षेत्रमा पनि केही बस्ती जलमग्न बनेका छन् ।

अहिलेसम्म डुबानका कारण विस्थापित भएको जानकारी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अविरल वर्षाले धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका क्षेत्र बढी प्रभावित भएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । उनले धनगढी र अत्तरियाका केही घरमा पानी परेको खबर आएको उनले बताए ।
अविरल वर्षाका कारण मोहना नदीमा बाढीको सतह बढेको छ ।

मोहनामा बाढीको सतह ३.३४ मिटर पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मोहनामा पानीको सतह तीन मिटर नाघे चेतावनीको तह मानिन्छ । त्यस्तै ३.६० मिटर नाघेमा खतराको तह मानिने र यसले बस्तीहरूमा असर पर्ने गरेको जोशीले बताए ।

अत्तरियामा २१२.२ मिलिमिटर वर्षा

महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले अत्तरिया क्षेत्रमा पछिल्लो २४ घण्टामा २१२.२ मिलिमिटर वर्षा मापन गरेको छ । त्यस्तै, धनगढी एयरपोर्टको मापनमा पछिल्लो २४ घण्टामा दुई सय मिलिमिटर वर्षा भएको कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा कञ्चनपुरको बेलौरीमा २६४.६ मिलिमिटर मापन भएको छ । त्यस्तै, कञ्चनपुरकै कृष्णपुरमा १८४ मिलिमिटर वर्षा मापन भएको महाकाली बेसिनफिल्ड कार्यालय अत्तरियाका प्रमुख इन्जिनियर सञ्जय शाहले जानकारी दिए ।

कैलाली, कञ्चनपुरमा अति भारी वर्षा भएको उल्लेख गर्दै उनले वर्षाका कारण कैलालीको धनगढी, गोदावरी तथा कञ्चनपुरको कृष्णपुर, लालझाडी, पुनर्वास र बेलौरी क्षेत्र बढी प्रभावित भएको बताए । कार्यालयका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज रातिबाट वर्षा कम हुँदै जाने पूर्वानुमान रहेको शाहले जानकारी दिए ।