१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १५ आइतबार १३:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खुला प्रतिस्पर्धाबाट त्रिविको उपकुलपति नियुक्त गर्न नेविसंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १५ आइतबार १३:३३:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता प्रणालीमा आधारित भएर खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न माग गरेको छ ।
 
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार मातहतका निकायलाई परिपत्र जारी गरी उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग गर्न र नगरेमा दबाबमूलक अभियान चलाउन माग गरेका हुन् । 

नेविसंघको अभियान र दबाबका कारण बनेको कार्यविधिलाई लत्याएर राजनीतिक भागबन्डाका आधारमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त नगर्न पनि उनले अनुरोध गरेका छन् । 
 
‘प्राज्ञिक योग्यता, पारदर्शिता र मर्यादालाई लत्याउँदै राजनीतिक भागबन्डा र सत्तानजिकका समूहको स्वार्थपूर्ति गर्ने नियतले पदपूर्ति प्रक्रिया अघि बढिरहेको स्पष्ट संकेत देखिन थालेको छ, यस्ता अभ्यासको नेविसंघ निन्दा गर्दछ, यस्ता बेथितिविरुद्ध विभिन्न अभियान सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ,’ अध्यक्ष शेर्पाले आज जारी गरेको परिपत्रमा भनिएको छ । 
 
यसका लागि सार्वजनिक बहस, हस्ताक्षर संकलन अभियानलगायत अन्य दबाबमूलक रचनात्मक कार्यक्रम गर्न पनि नेविसंघले मातहतका निकायलाई निर्देशन दिएको छ । दलीय भागबन्डामा नियुक्त गर्न लागिएकामा संयुक्त विरोध पत्र तयार पारेर सम्बन्धित निकायलाई बुझाइने पनि उनले बताए। यो अभियानमा अन्य संगठन र स्वतन्त्र समूहसमेतलाई जोड्ने नीति पनि नेविसंघले लिएको जनाइएको छ ।