
सल्यानमा असार १५ सम्म ७८ प्रतिशत धान रोपाइँ सकिएको छ। यस वर्ष समयमा नै निरन्तर वर्षा भइरहेकाले जिल्लामा ७८ प्रतिशत धान रोपाइँ सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।
लगातारको वर्षा र सिँचाइको सुविधा भएकाले बाँकी क्षेत्रमा पनि धमाधम रोपाइँ भइरहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए। उनले भने, ‘हालसम्म करिब ७८ प्रतिशत धान रोपाइँ सकिएको छ। बाँकी २२ प्रतिशत पनि असार महिनाभित्र रोपेर सकिन्छ।’
आर्थिक वर्ष ०८१/८२ मा ६ हजार १५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको बालि विकास अधिकृत निषेश घिमिरेले बताए। जसबाट २९ हजार १३७ मेट्रिक टन धान उत्पादन भएको छ। सल्यानमा ४.७० मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको छ। जुन राष्ट्रिय उत्पादकत्वभन्दा धेरै हो।
सल्यानमा वर्षेधान बढी खेती हुने गरेको छ। ६ हजार ५८ हेक्टर क्षेत्रफलमा वर्षे धान, १० हेक्टरमा चैते धान र ८९ हेक्टरमा घैया धान खेती हुँदै आइरहेको कृषि विकास कार्यालयको तथ्यांक छ।