
प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ बहुमतले पारित भएको छ।
आजको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त विधेयक पारित गरियोस भनी प्रस्ताव पेस गरेका थिए। त्यसअधि आजै गृहमन्त्री लेखकले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्ताव पेस गर्दै गृहमन्त्री लेखकले नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानले आमाकै नामबाट नागरिकता पाउने व्यवस्थालाई विधेयकमा प्रत्याभूति गरिएको बताए।
‘आमाको नामबाट नागरिकता पाउने व्यवस्था सुनिश्चित गर्नका लागि यो विधेयक आएको छ। नागरिकतासम्बन्धी विषयमा विभिन्न समयमा अदालतबाट भएका फैसलालाई यो विधेयकमार्फत कार्यान्वयनमा ल्याउन खोजिएको छ’, गृहमन्त्री लेखकले भने। वैदेशिक रोजगारमा गएका महिलाहरुले विदेशमा सन्तान जन्माउने तर नेपाल फर्किदा त्यस्ता सन्तानले नागरिकताविहीन हुनुपर्ने अवस्था नरहने उनको भनाइ छ।
विधेयकमा ‘नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्नसक्ने’ व्यवस्था राखिएको छ। त्यस्तै, १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा राखिएको छ।
सांसद प्रेम सुवालले सीमा क्षेत्रका नागरिकले जहिल्यै नागरिकतासम्बन्धी समस्या भोग्नु परेको बताउँदै यसमा विधेयकमार्फत स्पष्ट व्यवस्था ल्याइनुपर्ने बताए। आमाको नामबाट नागरिकता दिने व्यवस्था राम्रो भए पनि बाबुको खोजी गर्न आवश्यक रहेको धारणा उनले राखे।
सांसद रामकृष्ण यादवले यो विधेयक पारित भएर कार्यान्वयनमा जाँदा नागरिकतासम्बन्धी अहिले देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे। तराईका जिल्लामा नागरिकतासम्बन्धी समस्या धेरै रहेको उल्लेख गर्दै उनले नागरिकताविहीन व्यक्तिहरु राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताए। यो विधेयकमा राखिएका व्यवस्थाले त्यस्ता व्यक्तिको समस्या समाधान गर्ने सांसद यादवको भनाइ थियो।
सांसद रञ्जुकुमारी झाले आमाको नामबाट नागरिकता दिन मिल्ने भनेर सर्वोच्च अदातलले दिएको आदेशको नजिर कार्यान्वयन हुने गरी यो विधेयक आएको बताइन्। सांसद चित्रबहादुर केसीले नागरिकताको विषयमा सदनमा धेरै छलफल र विमर्श भएको भए पनि भारतसँगको खुला सीमाका कारण देखिएको नागरिकतासम्बन्धी विवाद र समस्यालाई यो विधेयकले समाधान गर्न नसक्ने भन्दै चिन्ता व्यक्त गरे।
विधेयकमाथि सांसदहरु रुपा सोशी चौधरी, शेरबहादुर कुँवर, माधव सापकोटा, मुक्ताकुमारी यादव, नारायणी शर्मा, पूर्णबहादुर घर्ती, भगवती चौधरी, अमृतलाल राजवंशी, कान्तिका सेजुवाल, सुशिला थिङ, अमृतादेवी अग्रहरीलगायतले आफ्नो धारणा राखेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक यही असार गते असार १५ गते दिउँसो १ बजे बस्नेछ ।