
मोरङको बुढीगंगा गाउँपालिका– १ मदननगरस्थित ऐलानी जमिनको सडकमुनि सानो झुपडी छ । त्यहाँ ३५ वर्षदेखि ६५ वर्षीय अगमलाल मुसहर र उनकी पत्नी गीता मुसहरले आफ्नो जिन्दगी कटाइरहेका छन् । देख्दै बिजोग छ, उनीहरूले कसरी भोगे होलान् ३५ वर्ष ? तैपनि आफ्नो भाग्यलाई दोष दिँदै मुसहरदम्पती आफ्नो आयु तानिरहेका छन् ।
उनीहरू बस्ने झुपडीमा असारदेखि असोजसम्म डुबान हुन्छ । यो वर्ष पनि उनीहरूको दुःखका दिन सुरु भइसकेका छन्। अत्यासलाग्दो जिन्दगी बिताइरहेका अगमलालपत्नी गीता भन्छिन्, ‘बसेको ठाउँ छाडेर कहाँ जाने ? अन्त गएपछि मजदुरी पनि पाइँदैन, यसैले जस्तोसुकै कष्ट सहेर पनि यहीँ बस्दै छौँ,’ अगमनलालपत्नी गीता मुसहरले चरम गरिबीको बाध्यता सुनाइन् ।
वृद्ध श्रीमान् अगमलाल जनमजदुरी गर्छन् भने वृद्धा श्रीमती घरधन्दा गर्न जान्छिन् । दुवैको नागरिकता छ । तर, आजसम्म वृद्धभत्ता पाएका छैनन् । ६० वर्ष पुगेपछि राज्यले दलितलाई वृद्धभत्ता दिने भने पनि उनीहरूलाई थाहा छैन । राज्यले दलितलाई जमिन पनि दिन्छ र जनता आवास कार्यक्रममार्फत घर पनि बनाइदिन्छ भन्ने त उनीहरूले सुनेका पनि छैनन् । ७० वर्ष पुगे मात्र वृद्धभत्ता पाइन्छ भन्ने उनीहरूलाई थाहा छ । तर, कसरी र कहाँ जाने भन्ने केही थाहा छैन र उनीहरूलाई सहयोग गर्ने पनि कोही छैनन् । अब त वृद्धभत्ता लिनलाई पनि राष्ट्रिय परिचयपत्र चाहिन्छ अरे, कहाँ गएर कसरी बनाउने ? हामी त केही जान्दैनाैँ,’ दम्पती अगमलाल र गीताले भने ।
राज्यका सम्मानित ज्येष्ठ नागरिक भइसकेका श्रमजीवी अगमलालदम्पतीका दुई छोरा त्यही झुप्रोमा हुर्किए । तर, उनीहरू अहिले बाबुआमालाई छाडेर अन्यत्र गएर बसेका छन् । एक छोरी पनि बिहे गरेर गइसकिन् । उमेरले ६५ वर्ष पार गरिसकेका यी मुसहरदम्पतीलाई अब धेरै दिन बाँचिन्छ भन्ने आस पनि छैन । उनीहरूलाई वृद्धभत्ता सहजै पाए हुन्थ्यो भन्ने चाहना मात्र छ ।