
सामाजिक असमानता या पक्षपातको मान्यता वर्गीयता हो । यसले सामाजिक विभेद या असमानता बोध गराउँछ । यो मान्यता सामाजिक सन्दर्भसँगै आर्थिक आधारमा विकसित भएको हो । आर्थिक अवस्था, धनको सामाजिक प्रतिष्ठा, शैक्षिक स्तर र पेसागत सम्बन्ध पनि यसैसँग जोडिएको विषय हो । वर्गीयता संस्थागत असमानताको पनि आधार हो । यसलाई सामाजिक दरिद्रता र सामाजिक किनारीकृत समूहबाट पनि हेर्न सकिन्छ । वास्तवमा वर्ग, समाजमा विद्यमान आर्थिक असमानताले देखिने समूह हो ।
सामाजिक वर्ग आर्थिक, पुँजी तथा अर्थस्रोतमा निर्भर रहेको हुन्छ । यो अन्तरवर्गीय हुने गर्छ । सामाजिक पुँजीका रूपमा सामाजिक सीप तथा सांस्कृतिक सन्दर्भबाट आर्जित मूल्य पनि यसका पृष्ठभूमिमा बिर्सन मिल्दैन । वर्गलाई असमानताको स्वरूपमा हेरिन्छ र मानवीय समाजमा नकारात्मक प्रभावका रूपमा लिइन्छ । वर्गीयतामा असमानताको स्वरूप नै मुख्य हुन्छ । आर्थिक रूपमा हुने र नहुनेबिचको लडाइँमा नै वर्गाधारलाई हेरिन्छ । वर्गाधिकार, आर्जित सामाजिक मूल्य, उच्च सामाजिक पृष्ठभूमि अनि व्यक्तिगत रूपमा बोध हुने सामाजिक परिस्थिति आनुभविक रूपमा रहेको देखिन्छ । वर्गको पहिचान र सम्बोधनमा वर्गाधिकारले विशेष भूमिका खेलेको हुन्छ । राजनीतक नेतृत्वमा आर्थिक न्यायको संघर्षयुक्त कार्यबाट वर्गबोध मात्र नभई वर्ग उन्मूलन पनि सम्भव छ । यसका निर्माणमा प्राधिकारको अदृश्य प्रक्रिया रहेको छ र यो आनुभविक मान्यता पनि हो । वास्तवमा समाजमा रहेको उच्च र निम्न भन्ने मान्यताको समूहगत संश्लेषण नै वर्गीयता हो ।
वर्ग एक प्रकारको रुढिबद्ध, असमानताको संस्थागत अभ्यासमा गतिशील देखिन्छ । यसले निश्चित वर्ग या समूहलाई जनाउँछ । यसले सामाजिक जटिलता सिर्जना गरेको छ र किनारीकृत व्यक्तिका लागि यो चुनौती पनि बनेको छ । वर्ग फराकिलो दृष्टिकोण, विश्वास र विचारधारा हो । यसले असमानताको वर्गीय स्थितिलाई आधार बनाउँछ । वर्ण या जातिवाद, यौनवाद या लैंगिकताले वैयक्तिक दक्षता र वर्ग पक्षलाई चुनौती दिएको छ । यसमा बहुसीमान्तीय समूह पनि रहेको छ । वर्गीयता र वर्ण वा जातिवाद सामाजिक अन्तर्सम्बन्धका आधार हुन् । वर्गसँग बाँधिएको वर्ण र एक–अर्कासँगको अन्त: बन्धन तथा निकटस्थ रहेको आधार पनि स्मरणीय छ । वर्गमा पनि वर्गसँगै वर्णको असमानता हेर्दा यसमा दोहोरो भेदभाव तथा असमानता देखिन्छ । सीमान्तीकृत व्यक्ति यी दुवै बन्धन व्यहोर्न बाध्य छ ।
वर्गलाई समाजका विभिन्न तहमा हेर्नुपर्ने हुन्छ । यसलाई संस्थागत, अन्तरवैयक्तिक र अन्तर्राष्ट्रिय सन्दर्भबाट हेर्न सकिन्छ । संस्थागत वर्गीयता सामाजिक संस्थाबाट प्रतिनिधित्व हुन्छ । यसमा शिक्षा, स्वास्थ्य, सुशासन, सरकार, निजी संस्थालगायतबाट असमानता जन्मिएको पक्ष स्मरणीय छ । संस्थागत वर्गीयतामा नीति, अभ्यास, मान्यता, रुचिअनुसारका धनी र गरिब अनि शक्ति र शक्तिहीनका अन्त: सम्बद्ध आबद्धताबाट स्पष्ट हुन्छ ।
अन्तर्वैयक्तिक वर्गीयता व्यक्तिसँग प्रत्येक दिनको अन्तक्र्रिया या व्यवहारसँग जोडिएको हुन्छ । यसबाट वर्गमा आधारित भेद या असमानता सहज बोध गर्न सकिन्छ । यसले समाजमा विविध असमानता निर्धारण गरेको छ । कसैको कार्य मूल्यांकन र नीतिगत आधार वर्ग पृष्ठभूमिबाटै स्पष्ट हुन्छ । यसमा वर्गीय मापदण्ड भाषाको प्रयोग, उपहास, व्यंग्यबाट झल्किएको बोध गर्न सकिन्छ । यसमा व्यक्तिलाई सामाजिक घटनासँग जोडेर उसको वर्गस्तरबाट हेर्दै मूल्यांकन गरिएको हुन्छ । यस्तै आन्तरिक तथा अन्त: साक्ष्य वर्गता सीमान्तकृत व्यक्तिको वर्ग पृष्ठभूमिबाट हेर्न सकिन्छ । वर्गअनुसारको नकारात्मक सोच अनि दिइएको सन्देशमा आफ्नो दक्षता र मान्यताअनुसारको सोच संश्लेषण भएको हुन्छ । सीमान्तीय पात्रलाई हेप्ने यस प्रकारको वर्गीयतामा लज्जास्पद अनुभूतिको सम्प्रेषण भएको हुन्छ । आत्मशंका, अस्वस्थ उपस्थितिबाट यो सम्बन्ध सतहमा आएको हुन्छ । यसैले सामाजिक तहमा वर्गीयताको जरो जटिल मात्र होइन, विभेदकारी पनि रहेको छ ।
परिणति : व्यक्ति र समाजसँग वर्गीयताको परिणतिगत सम्बन्ध स्पष्ट नभएसम्म वर्गीयताको प्रभाव हेर्न सकिँदैन । यसले समाजका विविध क्षेत्रमा असमानता सिर्जना गरेको छ । शैक्षिक अवसर र दीक्षित हुने सन्दर्भमा पनि वर्गीयताको आधार रहेको छ । रोजगारका सन्दर्भमा पनि उम्मेदवारको मूल्यांकन, क्षमता कार्यनीति उपयुक्त हुने या नहुने स्थिति वर्गीयताबाटै निर्धारण हुन्छ । यसबाट वर्गीयता शिक्षा, व्यक्तिको भाषिक जोड, उपस्थितिमा देखिने तर शैलीबाट पनि सहजै अनुमान हुन्छ । रोजगारीको असमानतामा सामाजिक प्रभाव वा वर्गगत असमानताको स्पष्ट झलक आएको देखिन्छ । राम्रो तलब र अवसरको फाइदा लिन वर्गको भूमिका फरक देखिन्छ । उच्च वर्गले पाएको सुविधा निम्न वर्गले पाएको छैन र सीमान्तीय व्यक्तिले त यसको उपयोगमा झनै चुनौती व्यहोरिरहेको छ । वर्गीयतामा स्वास्थ्यगत पहुँचको असमानता पनि रहेको छ । निम्न आर्थिक अवस्था भएको व्यक्ति विविध रोगसँग मुकाबिला गरेरै बाँचेको हुन्छ । उसलाई राज्यका स्वास्थ्य संस्थासम्म सहज पहुँच नपुर्याउनमा वर्गकै भूमिका देखिन्छ । यो मानसिक रूपमा नै नैतिक परिपक्वताबाट ओझेल पारिएको विषय हो । गुणात्मक स्वास्थ्य सुविधा र राज्यको दोहनमा उच्च वर्गकै हालीमुहाली देखिन्छ । गुणात्मक स्वास्थ्यमा देखिएको यो वर्गीय असमानता सीमान्त व्यक्तिका सन्दर्भमा अर्को अवरोध या बाधाका रूपमा रहेको तथ्य पनि भयावह रहेको छ । यसरी वर्गीयताको आघात या वर्ग असमानताको परिणति व्यक्तिका मानसिक तथा शारीरिक तहमा परिरहेको देखिन्छ ।
वर्गीयता विविध सामाजिक कार्यसँग सम्बद्ध छ । सञ्चारको पहुँच, राजनीतिक मूल्य, सांस्कृतिक मान्यतासँग पनि यो जोडिएको छ । वर्गीयताले कसरी विकासको रणनीतिमा भूमिका खेल्छ भन्ने विषय बुझ्नैपर्ने हुन्छ । यसले शक्ति र अर्थका आडमा ठाडै हाँक दिएको हुन्छ । सञ्चारको पहुँचमा पनि धनसम्पत्ति तथा उपभोक्तावादी सोच नै हाबी भएको देखिन्छ । सञ्चारले उच्च वर्गको जीवनशैलीको आदर्शीकरण गरेको देखिन्छ । सीमान्तीकृत समूहको प्रतिनिधित्वमा सञ्चारका कारण फरक धारणा निर्माण भएको पाइन्छ ।
वर्गीयता सामाजिक गतिशीलताको अवरोध पनि हो । यो व्यक्तिको क्षमतामा सामाजिक आर्थिक भर्याङमा तलमाथि गर्ने चाल पनि हो । भेदभाव, संरचनागत असमानता, स्रोतको उपयोगमा सीमित व्यक्तिको मात्र पहुँचजस्ता पक्षले वर्गआधारमा प्रभाव पारेको हुन्छ । अवसर, कार्यगत सम्बन्ध र उच्च गतिको चालमा नै वर्गगत प्रभावलाई हेर्ने गरेको पनि पाइन्छ । सीमित पहुँचका कारण गुणस्तरीय आर्थिक स्रोत नहुनु र रोजगारीमा भेदभाव यसले देखाएको सामाजिक पाटो हो । उच्च शिक्षाको पहुँचमा पनि सामाजिक गतिशीलताको यो भेद स्पष्ट देखिन्छ । जो न्यून आय र सीमान्तीय पृष्ठभूमिका छन्, ती समूहलाई शिक्षाको अवसरमा पनि किनारामा पारिएको छ ।
वास्तवमा सामाजिक सम्बन्धमा पहुँच नहुनु, सांस्कृतिक पुँजीले पनि उच्च तहकै गतिलाई जोड दिनु, जागिर र सुरक्षाको अवसरमा विभेद हुनु, व्यावसायिक वातावरण पनि सहज नहुनु वर्गीयताकै खाडल हो । गरिबीमा पिल्सिएको शक्ति अर्थात् मिहिनेती वर्ग नै समाजको मजबुत शक्ति हो । सीमान्तकृत निम्न आय भएका व्यक्ति र समुदाय पनि यसका आधार हुन् । त्यसैले वर्गीयता असमान सामाजिक गतिको विरोधमा देखिने स्पष्ट आधार हो ।
निकास : सामान्यतया भेदभाव या असमान स्थिति कुनै कानुनी आधार या संरक्षणले टिकिराख्दैन । सामाजिक सन्दर्भमा देखिएको यो वर्गीय असमानता घटाउन सकिन्छ । यो भेदभाव हटाउन नागरिक चेतना, राजनीतिक नेतृत्व अनि संरचनात्मक परिवर्तनमा विशेष जोड दिनुपर्ने हुन्छ । वास्तवमा वर्गीय भेद उन्मूलन नभएसम्म सुखी, समृद्ध र वैज्ञानिक समाजको निर्माण हुँदैन । माक्र्सवादको मूल मान्यता नै मानव समाजमा विद्यमान वर्गसंघर्षको ऐतिहासिक आधारको खोजी हो । माक्र्सवादमा वर्गीयताबाट टाढा हुनु इतिहासको द्वन्द्वात्मक विकासको बोध नहुनु हो । वर्गको विनाश सर्वहारा वर्गको नेतृत्वमा विकसित क्रान्तिबाट नै सम्भव रहेको छ । पूर्ण रूपमा राजनीतिक परिवर्तनविना वर्गभेदबाट टाढा हुन सम्भव देखिँदैन । वर्गीयताका सन्दर्भमा सामाजिक पक्षका बहुदृष्टिकोणको सम्बोधन हुनु आवश्यक छ । यसमा वैयक्तिक र संरचनात्मक अवरोध नै मुख्य पक्ष हो । नागरिक चेतना, जागरण, परिवर्तनप्रतिको सम्बोधन, आर्थिक न्यायसँगै नीतिगत सुधार गर्न वर्ग सम्बन्धको राजनीतिक मार्ग तय हुनुपर्छ । बृहत् सामाजिक आर्थिक गतिशीलतासँगै समानतामूलक समाजको सिर्जनामा जोड दिँदा यही वर्ग आधार नै मुख्य हुन्छ ।
अन्तिम परिवर्तनमा राजनीतिक प्रणाली पुन: संरचित गर्दै असमानताको मूल पक्षमै सम्बोधन हुन जरुरी छ । वर्गीयताको सम्बन्धमा राजनीतिक अभ्यास, सामाजिक विविधता, सकारात्मक विभेदसहित समानता, सीमान्तकृत समूहको सहभागितामा जोड दिनपर्ने हुन्छ । शैक्षिक संस्थामा पनि वर्गीय प्रभाव देखिन्छ । विद्यालय तहदेखि विश्वविद्यालयसम्मको शैक्षिक अवसरमा वर्गीय भेदको पहिचान गरी असमानता र भेदभावबाट मुक्त हुन उल्लेख्य पहलको आवश्यकता देखिन्छ । वर्गीयताको आलोचनात्मक अध्ययनमा उच्च शिक्षाको क्षेत्र विशेष आधार हुन जरुरी छ । उच्च शिक्षाको पहुँच र क्याम्पसको संस्कारमा उच्च वर्गको विद्यार्थीले नै अवसर पाएको देखिन्छ । शैक्षिक क्षेत्रमा निम्न वर्गाधार भएका विद्यार्थीको पहुँच र अवसर सिर्जनामा संघर्ष केन्द्रित हुन जरुरी छ ।
यसका लागि मेरिटोक्रेसी उपयुक्त आधार भए पनि यसको मिथबाट मुक्त हुन आवश्यक छ । कडा परिश्रमद्वारा उद्देश्य प्राप्तिमा वैयक्तिक दक्षता उल्लेख्य भए पनि नीतिगत स्पष्टताविना निम्न वर्गको व्यक्तिले उचित अवसर पाउन सक्दैन । अवसरको समान पहुँचका लागि संरचनात्मक असमानता भत्काउँदै लामो समयदेखि पहुँचमा रहेको वर्गलाई नीतिगत रूपमा ध्वस्त पार्नुपर्ने देखिन्छ । यथार्थमा सामाजिक गतिशीलता र परिवर्तनमा सामाजिक पारिवारिक पृष्ठभूमि नै प्रभावशाली देखिन्छ । यसैले वर्ग पहिचान गरी स्रोतमा पहुँच र प्रणालीगत अवरोध हटाउँदै अघि बढ्न आवश्यक छ । समान अवसरको मेरिटोक्रेसी पनि संरचनात्मक असमानता र अव्यवस्थाका कारण पहुँचवाला वर्गकै अधीनमा परिभाषित बनेको छ । यसर्थ शैक्षिक क्षेत्रमा रहेको वर्गीय असमानता संघर्षबाटै उन्मूलन गर्नुको विकल्प देखिँदैन ।