१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दृष्टिन्युजविरुद्ध अवहेलना मुद्दा : अन्तिम सुनुवाइमा एमिकस क्युरी झिकाउने आदेश

दृष्टिका सञ्चालक शम्भुलाल श्रेष्ठ र दृष्टिन्युजका कार्यकारी सम्पादक एमपी सुब्बालाई २५–२५ हजार धरौटी माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:२६:oo

दृष्टिन्युजमाथि अवहेलनाको मुद्दामा एमिकस क्युरी (अदालतको सहयोगी) झिकाउने आदेश भएको छ । प्रतिवादी उपस्थित भएको निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार विशेषले यस्तो आदेश गरेको हो । मंगलबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा पाँचैजना सदस्यहरूको इजलासबाट यस्तो आदेश भएको हो ।

दृष्टि मिडियाका तर्फबाट सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बा भनिने मानप्रसाद लिम्बूले बयान दिएका थिए । दुवैजनाबाट जनही २५–२५ हजार रुपैयाँ धरौटी मागको आदेश भएको छ । ‘उल्लिखित सामग्रीको खास संवाददाता नरहेको र सो सामग्रीको जिम्मेवारी सम्पादकमा रहने भनी विपक्षी शम्भुलाल श्रेष्ठले आफ्नो बयानमा खुलाएको हुँदा प्रस्तुत निवेदन/प्रतिवेदनमा विपक्षीका रूपमा उल्लेख भएको संवाददातालाई बुझिरहनुपर्ने देखिएन,’ आदेशमा छ ।

अध्यक्ष कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाले आदेश सुनाएका हुन् । प्रतिवादी श्रेष्ठले उल्लेख गरेको साक्षीलाई १५ असारमा बकपत्रका निम्ति उपस्थित गराउन आदेशमा भनिएको छ । ‘बकपत्र सम्पन्न भएपछि अन्तिम सुनुवाइको पेसीका दिन प्रस्तुत विषयमा अदालतको सहयोगीको रूपमा तीनजना विद्वान् कानुन व्यवसायीसमेतलाई तोकी पठाइदिनू भनी विशेष अदालत बार एसोसिएसनलाई अनुरोध गरी लेखी पठाउनू,’ आदेशमा छ । बुधबारको सुनुवाइमा अदालतको सहयोगीका रूपमा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले स्वयं (सुओ मोटो) उपस्थित भई बहस गरेका थिए ।

दृष्टिन्युज अनलाइनमा विशेष अदालतका कामकारबाही र मुद्दाका विषय तथा फैसलाबारे कपोकल्पित र भ्रामक समाचार प्रकाशन भएको भन्दै कर्मचारीहरूले नै प्रतिवेदन बुझाएपछि अवहेलनाको कारबाही सुरु भएको हो । ती सामग्रीका कारण विचाराधीन मुद्दामा प्रभाव परेको र आमजनमानस दिग्भ्रमित भएको भन्दै १० असारमा दर्ता भएको प्रतिवेदनमाथि विशेषको सबै न्यायाधीश सम्मिलित इजलासले सुनुवाइ गरिरहेको छ । विशेषका कर्मचारीहरू नवराज सापकोटा, सागर भण्डारी, यज्ञराज रेग्मी, प्रमिला काफ्ले र गरिशा भट्टराईको प्रतिवेदनका आधारमा मुद्दा चलेको हो । यसअघि १० असारमा विशेषले पहिलो सुनुवाइमा आदेश गर्दै तीन दिनभित्र विपक्षीबाट लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

दृष्टिमा विशेष अदालतमा सेटिङका मुद्दामा धमाधम फैसला भएको समाचार प्रकाशित भएको थियो । त्यसपछि पहिलोपटक विशेषका सबै न्यायाधीश सम्मिलित इजलास बसेको थियो भने अर्को आदेश नभएसम्मका लागि ‘दृष्टिन्युज अनलाइनमा मिति २०८२/३/८ मा विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा तीन महिनामै सफाइ शीर्षकमा प्रकाशित र प्रसारित गरिएको समाचार सामग्री जे जुन अवस्थामा छ, सोही अवस्थामा राख्न, सो सामग्री नहटाउन, परिवर्तन, परिमार्जन इत्यादि केही पनि नगर्न/नगराउन’ आदेश भएको थियो ।