
नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा बिहीबार नेदरल्यान्ड्माथि ६ विकेटको सानदार जित निकालेको छ । स्कटल्यान्डको ग्लास्गोउ मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा सात विकेट गुमाएर १७४ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा १८० रन बनाउँदै नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट जित दर्ता गरेको हो ।
जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ । नेपालले तीन खेलमा दुई जित र एक हार सामना गरी ४ अंक जोडेको छ । नेदरल्यान्ड्सले चार खेलबाट समान दुई जित र हार नतिजा निकाल्दै ४ अंक नै जोडेको छ । नेदरल्यान्ड्स रनरेटका आधारमा दोस्रो स्थानमा झरेको छ । आयोजक स्कटल्यान्डले तीन खेलबाट २ अंक जोडेको छ । नेपालले नेदरल्यान्ड्ससँगको पहिलो खेल सुपर ओभरमा गुमाएको थियो । निर्धारित २० ओभर तथा त्यसपछिका दुई सुपर ओभर नेपाल र नेदरल्यान्ड्सबिच ‘टाई’ भएको थियो । तेस्रो सुपर ओभरमा नेपाल पराजित भयो ।
त्रिकोणात्मक सिरिजको पाँचौँ खेलमा नेपाललाई नेदरल्यान्ड्सविरुद्ध जितका लागि अन्तिम ओभरमा ७ रन आवश्यक थियो । क्रिजमा लोकेश बम र दीपेन्द्रसिंह ऐरी थिए । १८.६ ओभरमा सेट ब्याट्सम्यान आरिफ शेख ‘रिटायर्ड’ हट हुँदै पेभेलियन फर्केका थिए । त्यसपछि लोकेश र दीपेन्द्रले अन्तिम ओभर ब्याटिङ गरे । १९.१ ओभरमा लिओन काचेटको बललाई लोकेशले छक्का प्रहार गरी टाई गरे । त्यसपछि लोकेशले लगातार दुई बल डट खेले । उनले १९.४ ओभरमा छक्का प्रहार गरी विजयी रन बटुले । उनले चार बलमा दुई छक्काको सहयोगमा १२ तथा दीपेन्द्रसिंह ऐरी १२ बलमा १६ रनमा अविजित रहे ।
कुशलको अर्धशतकीय योगदान
नेपालको जितमा महत्वपूर्ण योगदान ओपनर कुशलले गरे । उनले लगातार चौथो विकेटका लागि गतिलो साझेदारी गरी नेपाललाई जितनजिक पुर्याए । उनले ५१ बलमा ६ चौकाको सहयोगमा ६५ रनको योगदान दिए । उनले ३८ बलमा आफ्नो अर्धशतक बनाएका हुन् । उनको यो ११औँ टी–२० आई अर्धशतक हो । नेपालको जितमा भीमले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरी २७ रन बटुले । रिटायड हर्ट हुनुअघि आरिफले २३ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३९ रन जोडे ।
नेपालको बलियो साझेदारी
लक्ष्य पछ्याएको इनिङ्समा नेपालका ब्याट्सम्यानले गतिलो साझेदारी गरेका थिए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १७ बलमा २२ रन बनाए । कुशलले डेब्यु गरेका भीम सार्कीसँग दोस्रो विकेटका लागि ३२ बलमा ५४ रन जोडेका थिए । भुर्तेलले कप्तान रोहित पौडेलसँग १९ बलमा २१ रन बटुले । त्यसपछि भुर्तेलले आरिफ शेखसँग चौथो विकेटका लागि २७ बलमा ४४ रन जोडे । आरिफले दीपेन्द्रसिंहसँग पाँचौँ विकेटका लागि २० बलमा २७ रन जोडेका थिए । लगातार चार विकेटका लागि नेपालले आवश्यक रनरेटअनुसार साझेदारी गरेका कारण बलियो लक्ष्य पछ्याएको हो ।
माइकलको आक्रामक ब्याटिङ
पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सको सुरुवात गतिलो भएन । इनिङ्सको पहिलो ओभरमै ललित राजवंशीले विक्रमाजित सिंहको विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाए । नेदरल्यान्ड्सले ५.६ ओभरमा चार विकेट गुमाएर ४५ रन जोडेको थियो । तर, क्रिजमा ओपनर माइकल लेभिटले उत्कृष्ट इनिङ्स खेले । उनले आक्रामक रूपमा ५३ बलमा ८६ रन बटुले ।
यसक्रममा उनले ६ चौका र पाँच छक्का प्रहार गरे । उनी इनिङ्सको १४.३ ओभरमा आउट भएका थिए । उनी आउट हुँदा नेदरल्यान्ड्स १२७÷६ को बलियो अवस्थामा थियो । राफेल भान डेरले २१ बलमा ३६ तथा आयन दत्तले १८ बलमा १७ रन जोडे । नेपालको बलिङमा करण केसीले ४० रन खर्चेर दुई विकेट हात पारे । ललित, दीपेन्द्रसिंह, रूपेश सिंह र सन्दीप लामिछानेले समान एक विकेट हात पारे ।
भीमको टी–२० आईमा डेब्यु
भीम सार्कीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–२० आईमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका छन् । नेपालका लागि टी–२० आईमा डेब्यु गर्ने उनी ५२औँ खेलाडी हुन् । भीमलाई नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले डेब्यु क्याप हस्तान्तरण गरेका थिए । यसै सिरिजमा रूपेश सिंह र किरण ठगुन्नाले समेत डेब्यु गरेका थिए । नेपालले नेदरल्यान्ड्सविरुद्ध तीन खेलाडी परिवर्तन गरेको थियो । स्कटल्यान्डसँग खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्चमा रहे । भीम, आरिफ शेख र आसिफ शेखले टोलीमा मौका पाएका हुन् ।