
एनएमबि बैंकले ताप्लेजुङको मौवा खोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत् आयोजनामा ऋण लगानी (वित्तीय व्यवस्थापन) गर्ने भएको छ ।
बैंकले १७.८५ मेगावाट क्षमताको उक्त आयोजनामा ऋण लगानी गर्नेबारे दुईपक्षीय सम्झौता पनि भएको छ । सम्झौतापत्रमा बैंकका सस्टेनेबल इनर्जी बैंकिङका चिफ दिनेश दुलाल र परियोजनाको प्रवद्र्धक कम्पनी काङ हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक गणेशप्रसाद सुब्बाले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षरपश्चात् बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरे तथा प्रबन्ध निर्देशक सुब्बाले ऋण सम्झौतापत्र आदानप्रदान गरे ।
सोही कार्यक्रममा बैंकका सिइओ घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समयसीमाभित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखी सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे ।