
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बुधबार विहान भएको ३५ मिनेट टेलिफोन कुराकानीमा आतंकवाददेखि द्धिपक्षीय व्यापारबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतको पहलगाममा ९ बैशाखमा भएको आतंककारी हमलापछि मोदी र ट्रम्पबिच दोस्रोपटक टेलिफोन वार्ता भएको हो । भारतीय प्रधानमन्त्री मोदीले भारत–पाकिस्तान मामिलामा कसैको मध्यस्थता कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
दुई नेताबिच जी–सेभेन शिखर सम्मेलनको साइडलाइनमा क्यानाडामा भेट्ने तय भए पनि अमेरिकी राष्ट्रपति ट्रम्प अपर्झट अमेरिका फर्केका कारण भेट हुन सकेको थिएन ।
‘प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबिच जी–सेभेन शिखर सम्मेलनको साइडलाइनमा भेट्ने कार्यक्रम थियो । तर, राष्ट्रपति ट्रम्प चाँडै अमेरिका फर्कनु परेको कारणले गर्दा यो भेटघाट हुन सकेन । त्यसपछि राष्ट्रपति ट्रम्पको अनुरोधमा दुवै नेताले टेलिफोनमा कुराकानी गर्नुभयो । कुराकानी लगभग ३५ मिनेटसम्म चल्यो,’ भारतीय विदेश सचिब विक्रम मिश्रीले भिडियोमार्फत् सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पसँग अपरेशन सिन्दूरको बारेमा विस्तृत कुरा गरेका थिए । ‘प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई २२ अप्रिलपछि भारतले आतंकवादविरुद्ध कारबाही गर्ने आफ्नो दृढ संकल्पबारे पुरै विश्वलाई जानकारी दिएको भनेर स्पष्ट शब्दमा बताउनुभयो । प्रधानमन्त्री मोदीले ६–७ मे को रातमा भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मिरमा रहेका आतंकवादी शिविर र उनीहरु लुक्ने ठाउँलाई मात्र निशाना बनाएको बताउनुभयो । भारतको प्रतिक्रिया सन्तुलित, सटीक र गैर–उत्तेजक थियो । भारतले पाकिस्तानबाट हुने कुनै पनि आक्रमणको कडा प्रतिक्रिया दिइने भनेर समेत स्पष्ट पारेको थियो,’ मिश्रीले भनेका छन् ।
अमेरिकी उपराष्ट्रपति भान्सले ९ मे राति भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन वार्तामा पाकिस्तानले भारतमाथि ठूलो आक्रमण गर्न सक्ने जानकारी गराएको मिश्रीले खुलासा गरेका छन् । ‘यस्तो कारबाही भएको खण्डमा भारतले त्यसको थप कडा जवाफ दिने कुरा प्रधानमन्त्री मोदीले उहाँलाई स्पष्ट शब्दमा भन्नुभयो । ९–१० मे को रातमा भारतले पाकिस्तानी सेनालाई उल्लेखनीय क्षति पु¥याई पाकिस्तानको आक्रमणको कडा र निर्णायक जवाफ दियो । उनीहरूका सैन्य हवाई अड्डा निष्क्रिय पारिए । भारतको कडा कारबाहीका कारण पाकिस्तान सैन्य कारबाही रोक्न अनुरोध गर्न बाध्य भयो,’ विदेश सचिब मिश्रीले दाबी गरेका छन् ।
प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई यस सम्पूर्ण घटनाक्रमको कुनै पनि बिन्दुमा भारत–अमेरिका व्यापार सम्झौता वा भारत र पाकिस्तानबीच अमेरिकाले मध्यस्थता गर्ने कुनै प्रस्तावबारे कुनै पनि स्तरमा छलफल नभएको बताएका छन् । ‘सैन्य कारबाही रोक्ने छलफल भारत र पाकिस्तानका दुई सशस्त्र बलहरुबीचको विद्यमान सञ्चार माध्यमबाट प्रत्यक्ष रुपमा भएको थियो र यो पाकिस्तानको अनुरोधमा सुरु गरिएको थियो,’ मिश्रीले भने, ‘प्रधानमन्त्री मोदीले भारतले मध्यस्थता कहिल्यै पनि स्वीकार नगर्ने भन्दै दृढतापूर्वक बताउनुभयो । यस विषयमा भारतमा पूर्ण राजनीतिक सहमति छ ।’
राष्ट्रपति ट्रम्पले मोदीलाई ध्यानपूर्वक सुनेको तथा आतंकवादविरुद्ध भारतको लडाइमा आफ्नो समर्थन व्यक्त गरेको मिश्रीले बताए । ‘प्रधानमन्त्री मोदीले भारतले अब आतंकवादलाई परोक्ष युद्धको रुपमा नभई युद्धको रुपमा नै हेर्ने र भारतको अपरेशन सिन्दूर अझै जारी रहेको कुरा पनि बताउनुभयो,’ मिश्रीले भने, ‘राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई क्यानडाबाट फर्कने क्रममा अमेरिका आउन सक्नुहुन्छ कि भनेर सोध्नुभयो । पहिले गरिएका प्रतिबद्धताका कारण प्रधानमन्त्री मोदीले त्यसो गर्न असमर्थ भएको कुरा व्यक्त गर्नुभयो । दुवै नेताले निकट भविष्यमा भेट्ने प्रयास गर्ने सहमति जनाउनुभयो ।’
राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले इजरायल र इरानबिच चलिरहेको द्धन्द्धबारे पनि छलफल गरेका थिए । दुवै नेताले रुस–युक्रेन द्धन्द्धमा शान्तिका लागि दुई पक्षबिच प्रत्यक्ष वार्ता आवश्यक रहेको र यसलाई सहज बनाउन निरन्तर प्रयास गरिनुपर्नेमा पनि सहमति जनाएका छन् । हिन्द–प्रशान्त क्षेत्रका सम्बन्धमा दुवै नेताहरुले आ–आफ्ना दृष्टिकोण साझा गर्नुका साथै यस क्षेत्रमा क्वाडको महत्वपूर्ण भूमिकाप्रति सहमति जनाएका थिए ।
प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई अर्को क्वाड शिखर सम्मेलनका लागि भारत भ्रमणको निमन्त्रणा दिएका छन् । राष्ट्रपति ट्रम्पले उक्त निमन्त्रणा स्वीकार गर्दै आफू भारत भ्रमणका लागि उत्सुक रहेको जानकारी दिएका छन् ।