१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
Invalid date format १o:२८:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुटवल-नारायणगढ सडकखण्डको नवलपुर खण्डको सडक बुधबारसम्म २४ पटक अवरुद्ध

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:२८:oo

वैशाख २३ गतेयता बुटवल–नारायणगढ सडकखण्डको नवलपुर खण्डको सडक बुधबारसम्म २४ पटक  अवरुद्ध भएको छ। पछिल्लो ४४ दिनको अवधिमा २४ पटक नवलपुर खण्डकाे सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख छ।दाउन्नेको १४ किलोमिटर सडक खण्ड, दुम्कीबासको विनयी खोला, चोरमाराको गिरुबारी खोला, गैँडाकोटको बेल्डियामा पुलमा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ।

यो अवधिमा दाउन्नेको सडक १० पटक अवरुद्ध भएको छ भने मध्यविन्दुको चोरमारामा गिरुबारी खोलाको पुल भाँचिएपछि ६ पटक र दुम्कीबासको विनयी खोलामा पुल भाँचिएपछि नाैपटक सडक अवरुद्ध भएका छन् । त्यसका अवला अन्य ठाउँमा पनि पटक–पटक सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भए पनि सडक खुल्न दुईदेखि १२ घण्टासम्म लाग्ने गरेका छन्।

मंगलबार बिहानै भारी वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग गएराति केही समय सञ्चालनमा आएको भए पनि बिहान ४ बजेदेखि पुनः अवरुद्ध भएको छ । मंगलबार बिहान दुम्कीबासको विनयी खोलामा डाइभर्सन बगाएर सडक अवरुद्ध भएको थियो भने दाउन्नेमा सडक हिलो र चिप्लो भएर उकालोमा सवारीसाधन चढ्न सकेका थिएनन्। दाउन्नेमा साँझपखबाट केही सवारीसाधन पास भएको भए पनि दुम्कीबासको विनयी खोलामा डाइभर्सन मर्मतपछि राति सडक सञ्चालनमा आएको थियो।

बुधबार बिहान ४ बजेबाट दुम्कीबासको विनयी खोलाको डाइभर्सन बगाएपछि पुनः सडक अवरुद्ध भएको सडक आयोजनाले जनाएको छ। नदीमा पानीको सतह घटेपछि पुनः डाइभर्सन मर्मत गरी सडक सञ्चालन गर्ने सडक आयोजनाले जनाएको छ। तथापि, बुधबार दिनभर सडक खुल्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, दाउन्नेको उकालोमा पनि अहिले हिलो र चिप्लोका कारण सवारीसाधन उकालोमा उक्लन सकेका छैनन्। दाउन्ने खण्डको नाै किलोमिटर पूर्वी खण्डमा ६ ठाउँमा बाटो एकतर्फी रहेको छ। यहाँ कल्भर्ट निर्माणको काम अपूरै रहेकाले ६ ठाउँमा सडक एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए। चोरमाराको गिरुबारी खोलाको पुलमाथिबाट सवारीसाधन सञ्चालनमा नआउँदासम्म एकैपटक तीन ठाउँसम्म सडक अवरुद्ध हुने गरेको थियो। एसपी ढकालका अनुसार दाउन्ने र दुम्कीबासमा तत्काल सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था छैन।

नवलपुर र यसआसपासको क्षेत्रमा मंगलबार बिहान ४ बजेतिर भारी वर्षा भएको थियो भने बुधबार राति २ बजेतिर फेरि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत वैशाख २९ गते अधिक भार बोकेको सिमेन्ट उद्योगको ट्रकको कारण गिरुबारी खोला पुलमा क्षति भएको थियो। उक्त पुल गत जेठ २३ गते शुक्रबार साँझबाट सञ्चालनमा आएको छ । तथापि, पुल जीर्ण रहेको कारण प्रहरी २४ घण्टे पहरा दिएर बसेको छ। यहाँ ४० टनभन्दा बढीका सवारीसाधन बोक्न नपाउने गरी प्रहरीले सुरक्षा दिएको छ। 

गत २६ पुसमा भारतीय हेबी ट्रक पास हुने क्रममा दुम्कीबासको विनयी खोलामा पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ ।दुम्कीबासमा पर्ने विनयी खोलामा नयाँ पुल निर्माणको काम सकिएको भए पनि निर्माण सम्पन्न भएको २८ दिनसम्म पुल सञ्चालनमा नल्याउने भएका कारण अझै सञ्चालनमा आउन सकेको छैन । जेठ २३ गते निर्माण सम्पन्न भएको पुल सञ्चालनमा आउन कम्तीमा असार २० गतेसम्म कुर्नुपर्ने देखिन्छ । यता दाउन्ने सडकखण्डको अवस्था भने यस्तै छ। यो सडकखण्ड यसपटकको वर्षामा ढलान तथा कालोपत्रे नहुने भएको छ । दाउन्नेको पश्चिम खण्डमा यात्रा सहज भए पनि दाउन्नेको पूर्वी खण्डमा भने यात्रा अझै सकस पूर्ण रहेको छ ।

दाउन्नेमा पूर्वी खण्डमा रहेको नाै किलोमिटर सडकमध्ये करिब चार सय मिटर मात्र ढलान भएको छ। चाइना स्टेट कम्पनी बुटवल नारायण सडक पूर्वी खण्डका इन्जिनियर राकेश झाका अनुसार अब ६ सय मिटर ढलान गर्ने तयारीमा रहेको छ। दाउन्ने खण्डमा त्योबाहेक अन्य ढलान वा कालोपत्रेको काम यस बर्खाअगाडि हुन नसक्ने चाइना स्टेट कम्पनी बुटवल–नारायण सडक पूर्वी खण्डका इन्जिनियर राकेश झाले बताए । बुटवल–नारायणगढ सडकखण्डमा अहिलेसम्म भौतिक प्रगति ६७ प्रतिशतकाे हाराहारीमा पुगेको छ ।