१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
Invalid date format o७:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धरान नगरपरिसर दिनभर तनावग्रस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:१९:oo

मेयर साम्पाङ र उपमेयर बेघाबिच चर्काचर्की, समर्थकबिच झडप

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाबिच चर्काचर्की र दुवै पक्षका समर्थकबिच झडपका कारण मंगलबार दिनभर नगरपरिसर तनावग्रस्त बन्यो । साम्पाङले श्रमदानका नाममा डोर हाजिरी तयार गरी भुक्तानी वितरण गर्न खोजेपछि विवाद चुलिएको हो ।

उपप्रमुख बेघाले नियमविपरीत श्रमदानमा सरकारी सम्पत्ति दुरुपयोग गर्न नदिने भन्दै सोमबार नै श्रमदानस्थलबाट नगरको सवारीको चाबी खोस्न लगाएका थिए । साम्पाङले सोमबार नै कार्यकक्षमा छलफलका लागि बोलाएपछि पुगेका बेघालाई उनका समर्थकले हातपात गर्ने कोसिससमेत गरेका थिए । त्यही विषयलाई लिएर मंगलबार विवाद बढेको थियो ।

बेघाका समर्थक नगरपरिसरमा जम्मा भएर साम्पाङको विरोधमा नाराबाजी गरेका थिए । दिनभरजसो प्रमुख र उपप्रमुखका समर्थकबिच नाराबाजी, आरोप–प्रत्यारोप र झडपले नगरपरिसर तनावग्रस्त बन्यो । स्थिति भड्किन नदिन इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले दुवै पक्षलाई नगरपरिसरबाट हटाएर अवस्था सामान्य बनाएको थियो । बेघा समर्थकले नगर प्रमुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।

बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समितिले नगरपालिकासँग सात लाख ४१ हजार भुक्तानी माग गरेको थियो । भुक्तानी मागेपछि उपमेयर बेघाले श्रमदानको नाममा भएको कार्यविधि नियमसंगत नभएको भन्दै रोकेका थिए । विधि र नियमविपरीतका कुनै पनि भुक्तानी नहुने बेघाले बताए । ‘श्रमदाताको ज्यालासहित अन्य उपकरणको भुक्तानीका लागि मेयरज्यूले बिल ल्याएपछि त्यसलाई रोकेको हो,’ उनले भने, ‘हामी कुनै पनि नियमविपरीतका भुक्तानी गर्दैनौँ ।’ वडाध्यक्षले गर्नुपर्ने लेखापरीक्षण आफैँले गरेको, उपभोक्ता समिति गठन प्रक्रियासमेत नमिलेको भन्दै उनको कार्यशैलीप्रति असन्तुष्टि जनाएको उनले बताए ।

नगर प्रमुख साम्पाङले सामाजिक सञ्जालमा देखिएको डोर हाजिरी नियमसंगत भएको दाबी गरेका छन् । मंगलबार साँझ एक भिडियोमार्फत उनले अभिलेखीकरणका लागि विधिसंगत काम गरेको बताए । 

गौशाला उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक

महोत्तरी- नगर प्रमुख डा. दिपेन्द्र महतोसँगको विवादकै कारण गौशाला नगर उपप्रमुख रेणु कुशवाहालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । मंगलबार प्रमुख महतोको आदेश भन्दै आफूलाई गाडीसहित गेटमै रोकिएको कुशवाहाको आरोप छ । लिखित आदेश देखाउन माग गरे पनि नगर प्रहरीले नदेखाएको र भित्र जानसमेत नदिएको उनले बताइन् । प्रमुख र उपप्रमुख दुवै जसपाबाट निर्वाचित हुन् । सोमबार नगरपालिकाको दर्ता चलानी किताबमा कार्यालयमा भइरहेका गतिविधि इन्ट्री नभएको भन्दै खोसेपछि मंगलबार आफूलाई कार्यालय प्रवेशमा रोक लगाएको उनले आरोप लगाइन् । नगर प्रमुख महतोले भने आफूले उपप्रमुखलाई नरोकेको बताए ।