१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २ सोमबार
  • Monday, 16 June, 2025
टेकराज थामी काठमाडाैं
२o८२ असार २ सोमबार o८:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिविमा तोडफोड प्रकरण : सुटुक्क छाडियो नेविसंघका दुई नेतालाई

मुख्य आरोपी दुई नेतालाई अनुसन्धानको दायरामै ल्याइएन, पक्राउ परेका दुईजनालाई १०–१० हजार धरौटीमा छाडियो

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २ सोमबार o८:५४:oo

त्रिवि उपकुलपति कार्यालय तोडफोडमा संलग्न दुई अभियुक्तलाई सरकारले सुटुक्क छाडेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई पक्राउ परेको पर्सिपल्टै छाडेको हो । गत १४ जेठमा उपकुलपति कार्यालय तोडफोड भएको थियो । घटनामा कांग्रेसनिकट नेविसंघका नेताहरू शंकरदेव क्याम्पसका मदन उपाध्याय र भक्तपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति पुकार पराजुलीको प्रत्यक्ष भूमिका रहेको सिसिटिभी फुटेजमा देखिएको थियो ।

सोही घटनामा संलग्न रहेको भन्दै प्रहरीले सानोठिमी क्याम्पसका स्ववियु सचिव दिक्पाल कार्की र शंकरदेव क्याम्पसका विद्यार्थी नेता लोकेश कुँवरलाई गत २७ जेठमा पक्राउ गरेको थियो । तर, उनीहरू पक्राउ परेको पर्सिपल्ट अर्थात् २९ जेठमा छुटेका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले पक्राउ परेका कार्की र कुँवर १०–१० हजार धरौटीमा छुटेका बताए । उनले भने, ‘उपकुलपति कार्यालय तोडफोडमा संलग्नमध्ये दुईजना पक्राउ परेका थिए । उनीहरू सिडिओ कार्यालयबाट १०–१० हजार धरौटी रकम बुझाएर छुटेका छन् ।’

त्रिवि उपकुलपति कार्यालय तोडफोडमा संलग्नमध्ये दुईजना पक्राउ परेका थिए । उनीहरू सिडिओ कार्यालयबाट १०–१० हजार धरौटी रकम बुझाएर छुटेका छन् ।
एसपी अपिलराज बोहरा, प्रवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौं

त्रिवि प्रशासनले उनीहरूसहित तोडफोडमा संलग्न १५ जनालाई कारबाहीको माग गर्दै गत १८ जेठमा प्रहरीमा निवेदन दिएको थियो । तर, प्रहरीले घटनामा संलग्नमध्ये दुईजनालाई मात्रै पक्राउ गरेको थियो । उनीहरूलाई छुटाउन मुख्य आरोपीद्वय उपाध्याय र पराजुली उल्टै प्रहरी कार्यालय पुगेर छुटाउन दबाबमा उत्रिएका थिए । उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयबाटै दबाब आएपछि प्रहरीले पक्राउविरुद्ध सबैभन्दा कमजोर अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरेको थियो । जसमा संलग्न अभियुक्त सिडिओको आदेशमा सजिलै छुट्ने गर्छन् । स्रोतका अनुसार मुख्य आरोपी मदन उपाध्यायको गृहमन्त्री रमेश लेखकको सचिवालयसँग निकट सम्बन्ध छ । 

त्रिविमा ‘गुन्डागर्दी’ गर्नेहरू प्रहरी वृत्तमै पुगेर प्रहरीलाई धम्क्याउने र प्रहरी निरीह हुने अवस्थाले थप आतंक सिर्जना गरेको त्रिविका पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूको गुनासो छ । प्रहरीमा उजुरी दिएको विषयलाई लिएरसमेत उनीहरूले त्रिविका पदाधिकारीलाई अप्रत्यक्ष रूपमा धम्की दिइरहेका छन् ।

प्रहरीले पक्राउ गरेका दुई विद्यार्थी नेता कार्की र कुँवर भने घटनाका मुख्य पात्र नभएको त्रिविका पदाधिकारीको भनाइ छ । मुख्य पात्रलाई उन्मुक्ति दिएर घटना दबाउन खोजिएको उनीहरूको गुनासो छ । त्रिविले स्नातक तह प्रथम वर्षको परीक्षा फारम बन्द गरेको र भर्ना समयसमेत नथपेको विषयमा विद्यार्थी संगठनले आपत्ति जनाएका थिए । परीक्षा फारम खुलेपछि पनि विद्यार्थीले भर्ना गर्न पाउनुपर्नेलगायत माग राखेका थिए । त्रिविले पछिल्लो समय फारम खुलेपछि भर्ना गर्ने प्रचलन बन्द गरिसकेको छ । तर, यसअघि स्ववियु निर्वाचनका कारण कतिपयको भर्नासमेत छुटेको भन्दै विद्यार्थीले भर्ना समय थप्न दबाब दिएका थिए । तर, गत माघमै त्रिविले भर्ना कार्यक्रम सकाइसकेको थियो । त्रिवि प्रशासनले नमानेपछि विद्यार्थी तोडफोडमा उत्रिएका हुन् ।