
मेलम्ची नगरपालिका र पाँचपोखरी क्रिकेट क्लब सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनलमा मेलम्चीले द माइटी साँगाचोक क्लबलाई सुपर ओभरमा पराजित गर्यो। अर्काे सेमिफाइनलमा भोटेचौर स्पोर्टस् क्लबसँगको खेल वर्षाका कारण हुन नसके पछि पाँचपोखरी समूह विजेताको हैसियतले फाइनलमा स्थान बनाएका हो।
दोस्रो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको साँगाचोकले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा मेलम्चीले निर्धारित १० ओभरमा पाँच विकेट गुमाउँदै ८१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।
वर्षाका कारण खेललाई १० ओभरमा झारिएको थियो। मेलम्चीका लागि कप्तान रिन्जिङ लामाले ३३, उत्तम थापामगरले १५ र सोनु देवकोटाले ११ रन बनाए। सँगाचोकका लागि उद्धव तिमल्सिनाले दुई तथा प्रतीक श्रेष्ठ, समुन चौलागाईं र मनीष पराजुलीले समान एक विकेट लिए।
साँगाचोकका लागि आशोक पौडेल ३३, प्रतिश श्रेष्ठले २१ र कप्तान उमंग धितालले १० रन बनाए। मेलम्चीका लागि सन्दीपकुमार शाहले दुई तथा सोनु देवकोटा, निशान भारती, राकेश श्रेष्ठ र रिन्जिङ लामाले समान एक विकेट लिए।
मेलम्ची समूह ‘बी’ को विजेता र साँगाचोक समूह ‘ए’ को उपविजेताका रूपमा अन्तिम चारमा पुगेका थिए। पाँचपोखरी समूह ‘ए’ को विजेता तथा भोटेचौर समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए।
पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगिताको फाइनल सोमबार हुनेछ। प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।