१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १ आइतबार १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इजरायलमै छन् विराटनगरका मेयर नागेश कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १८:४o:oo

इजरायल र इरानबिच युद्ध चलिरहँदा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला यतिवेला इजरायलमा छन्। इजरायलको पराराष्ट्र मन्त्रालयले २६ जेठदेखि आयोजना गरेको कृषिसम्बन्धी तालिम कार्यक्रममा सहभागी हुन मेयर कोइराला इजरायल पुगेका हुन्। बेमौसमी फलफूलको उत्पादन र हरियाली विकाससँग सम्बन्धित तालिम आगामी ६ असारसम्मका लागि तोकिएको छ।

सो तालिम कार्यक्रम निर्वाध रूपमा चलिरहेको र आफू सुरक्षित रहेको मेयर कोइरालाले बताए। ‘म अहिले पनि क्लास लिइरहेको छु। यहाँ कुनै आत्तिनुपर्ने अवस्था छैन,’ आइतबार दिउँसो नयाँ पत्रिकासँगको टेलिफोनमा मेयर कोइरालाले भने।

उनले इजरायलमा करिब पाँच हजार नेपाली रहेको र सबैजना सुरक्षित अवस्थामा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताए। साथै, मेयर कोइरालाले तेलअभिभस्थित नेपाली दूतावासको सम्पर्कमै रहेको पनि जानकारी दिए।

‘दूतावाससँग मेरो सम्पर्क भइसक्यो। मैले कुनै समस्या परेको छैन भनेर जानकारी गराएको छु,’ उनले भने। उनी तेलअभिभदेखि करिब २५ किलोमिटरको दूरीमा रहेको अर्को सहरमा तालिममा सहभागी छन्।

दुई दिनदेखि जारी इजरायल–इरान युद्धले दुवै देशमा ठुलो जनधनको क्षति भइसकेको छ। तेलअभिभस्थित नेपाली दूतावासले पनि सम्भावित जोखिमबाट बच्न नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन सूचित गरिसकेको छ। दूतावासका उपप्रमुख कुमारबहादुर श्रेष्ठले इजरायलमा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए।

‘यहाँ रहेका अधिकांश नेपालीसँग सम्पर्कमै छाैँ । कुनै समस्या भए तुरुन्त खबर गर्नुस् भनेका छौँ,’ उनले भने, ‘अहिलेसम्म कसैले पनि समस्या राख्नुभएको छैन।’