१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १ आइतबार
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १ आइतबार १७:o१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हुलाकी राजमार्गका लागि बजेट कम छुट्याएकोमा सांसद महतोको गुनासो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १ आइतबार १७:o१:oo

जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्रप्रसाद महतोले हुलाकी राजमार्गको निर्माण कार्यमा ढिलासुस्ती भएकोमा गुनासो गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै महतोले  तराई–मधेशको लाइफलाइन मानिएको राजमार्गलाई बजेट कम छुट्याएकोमा प्रश्न गरे।

उनले भने, ‘आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने भनिएको छ। तराई–मधेशको लाइफलाइन मानिएको यस राजमार्गलाई बजेट अलिक कम विनियोजन किन गरियो ? सरकारले यसमा ध्यान देओस्। धनुषा र सिराहा जोड्ने कमला पुल अलपत्र परेको छ। यसको पुनर्निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्छ।’

समग्रमा अहिलेको बजेट मुलुकको राष्ट्रिय आकांक्षा पूरा गर्न कोसेढुंगा बन्ने उनको विश्वास छ। ‘म जनता समाजवादी पार्टीको तर्फबाट आर्थिक वर्ष ०८२/८३ का लागि सरकारद्वारा प्रस्तुत बजेट तथा कार्यक्रममा पूर्ण समर्थनसहित स्वागत गर्दछु। यो बजेट मुलुकको राष्ट्रिय आकांक्षा पूरा गर्न कोसेढुंगा बन्ने मेरो विश्वास छ। निजी क्षेत्रको तर्फबाट बजेटको स्वागतसँगै देशको अर्थतन्त्र संरचनागत चुनौती र विगतका कमजोरीहरूको अवसरबाट मुक्त गर्न यसले प्रेरित गरेको छ,’ उनले भने।

महतोले अहिलेको बजेटले युवालाई केन्द्रमा राखेर नवप्रवर्तनमा जोड दिएको सुनाए। उनले भने, ‘यो बजेटले समेटेका मुख्य विषयवस्तुहरू– विशेषगरी युवालाई केन्द्रमा राखी नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमशीलता, स्टार्टअप उद्यमीलाई सिप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य शृंखलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम, तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन रकम विनियोजन, कृषि तथा प्रविधिमा नवप्रवर्तनजस्ता कार्यक्रम प्रशंसायोग्य छन्। यी योजनाहरूले स्वदेशमै अवसर सिर्जना गर्न र उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न निर्णायक भूमिका खेल्नेछन्।’

पूर्वमन्त्रीसमेत रहेका डा. महतोले यो बजेटले निजी क्षेत्रसँग सहकार्य गर्दै उत्पादनमूलक उद्योग, ऊर्जा, पूर्वाधार, यातायात र डिजिटल प्रविधिमा आधारित विकासको मोडेललाई अघि सारेको भन्दै प्रशंसा गरे।

जसपा सधैँ लोकतान्त्रिक, समाजवादी र समावेशी मूल्यमा आधारित उत्पादनमुखी अर्थतन्त्र निर्माणको पक्षमा दृढतापूर्वक उभिएको बताउँदै उनले भने, ‘यो बजेटले त्यसै दिशामा अग्रसर हुँदै देशका हरेक वर्ग, क्षेत्र र समुदायलाई समेट्ने प्रयास गरेको देखिन्छ। खासगरी पछाडि पारिएका वर्ग, विपन्न नागरिक, महिला, बालबालिका, ज्येष्ठ नागरिक र युवाहरूका लागि लक्षित कार्यक्रमले सामाजिक न्यायको मूल मर्मलाई सम्बोधन गरेको छ।’