१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:२१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपेन्द्र यादव भन्छन्- खसी-बोका बिक्न समय लाग्छ, तर सांसद बिक्न लाग्दैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२१:oo

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणालीमा फेरबदल आवश्यक रहेको र खर्चिलो प्रणाली फेरिनुपर्ने बताएका छन् । सांसद खरिद–बिक्रीले अस्थिरता आएकाले यसमा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । 

निर्वाचनसम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पार्टी वा उम्मेदवारले निर्वाचनमा खर्च गर्नुपर्ने अवस्था आउन दिन नहुने धारणा राखे । ‘बरु खसी–बोकाको वेट लिन्छ, बिक्न समय लाग्छ । तर, सांसदको त्यो पनि नहुने भयाे,’ उनले भने, ‘भारतीय नेताको घरमा त कसैलाई रिसोर्टमा र थाइल्यान्डमा राखेको पनि छ ।’

अस्थिरता नेपाली राजनीतिज्ञको मनमा रहेको भन्दै नेता यादवले विषयविज्ञहरूलाई मन्त्री बनाउनुपर्ने बताए । सांसदहरूलाई मन्त्री बनाउने प्रवृत्तिले गर्दा सरकार टिक्न नसकेको उनको भनाइ थियो । राजा महेन्द्रको पालामा विकास हुनुको कारण विज्ञ मन्त्रिमण्डल रहेको भन्दै उनले सरकार परिवर्तनका लागि शासकीय स्वरूप पनि फेर्नुपर्ने उनको भनाइ थियो । अहिले व्यक्तिहरूको योग्यता र क्षमता बोझ हुन थालेको र चाकडी गर्नेले पद पाउने भएकाले यसमा परिवर्तन अपरिहार्य रहेको उनले बताए ।

‘सांसदलाई मन्त्री बनाउन छाडिदिनुस् । जति अस्थिरता भएको छ सबै मन्त्री बन्न भएको छ,’ उनले भने, ‘मैले भोगेको छु । आइज तलाईं मन्त्री बनाइदिन्छु भनेर न दल फुटेको हो । यहाँ प्रधानमन्त्रीले गर्वका साथ मैले सरकार जोगाउन पार्टी फुटाएको हो भनेर भाषण गर्छन् ।’

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक–फरक राखिनुपर्ने यादवको भनाइ थियो । संविधानमै राखेको कुरा पनि कार्यान्वयन नहुने देशमा मानसिकता नै फेर्नुपर्ने उनको भनाइ थियो । ‘फलानोलाई प्रधानमन्त्री नियुक्त गर भन्नुपर्ने देश हो यो । यस्तो कहीँ भएको छ ?’ उनले भने । 

स्थानीय तहमा दलीय निर्वाचन हुन नहुने विषयमा नेपाली कांग्रेसले ०४७ सालमा प्रस्ताव राखेको, तर कम्युनिस्ट दलले समर्थन नगरेको स्मरण गर्दै यादवले स्थानीय तहलाई विकासको एजेन्सीका रूपमा लानुपर्ने धारणा राखे । 

‘हाम्रोमा बहुमत त के भन्नु दुईतिहाइको सरकार त टिकेन । आफैँ फुट्यो । २००७ सालदेखि कुनै सरकारले कार्यकाल पूरा गरेको छैन,’ उनले भने, ‘यो राजनीतिक प्रणाली र नेतृत्वको मानसिकतमा भर पर्ने कुरा हो ।’ थाइल्यान्डमा सरकार परिवर्तन भइरहने भए पनि विकास भइरहेको उदाहरण दिँदै उनले नेपालमा दल र नेताको मानसिकता परिवर्तन हुनुपर्ने बताए ।

नेपालमा प्रधानमन्त्री र मन्त्री देशको नभई निश्चित निर्वाचन क्षेत्रको मात्र हुने गरेको उनको भनाइ थियो । अहिले राजनीति लगानी र प्रतिफलजस्तो भइसकेको भन्दै उनले यसलाई पेसा वा व्यवसाय नभई सेवा बनाउनुपर्ने बताए । यसका लागि पनि निर्वाचन प्रणाली फेर्नुपर्ने उनको भनाइ थियो । 

‘बल्ल–बल्ल ६०–४० को रेसियोमा समानुपातिक ल्यायौँ । तर, त्यसमा पनि उद्योगपति, व्यापारी कुन्नि के–के पति भेट्न थाल्यौँ, यसले विकृति ल्यायो,’ यादवले भने । विश्वका ७१ देशमा पूर्ण समानुपातिक प्रणाली लागू भएको भन्दै उनले नेपालमा पनि दल र उम्मेदवारले खर्च गर्नु नपर्ने गरी निर्वाचन प्रणाली ल्याउनुपर्ने बताए ।