१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
अमृता दत्ता/अरानी वासु
Invalid date format १o:३२:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अप्रेसन सिन्दूर र सैन्यवाद

Read Time : > 2 मिनेट
अमृता दत्ता/अरानी वासु
नयाँ पत्रिका
Invalid date format १o:३२:oo
  • महिलामुक्ति महिलालाई राष्ट्रवादका अनुष्ठानमा बाँध्ने लिंग–आधारित रूपक भत्काउनु र महिला स्वायत्तताको परिभाषालाई युद्धमञ्चबाहिर विस्तार गर्नुमा छ

भारतीय सेनाका दुई महिला अधिकृत (एक हिन्दु, एक मुसलमान) द्वारा ‘अप्रेसन सिन्दूर’ घोषणा भएको क्षणलाई सरकारले लैंगिक समावेशिताको ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गर्‍यो । २६ जना पुरुषको मृत्युको बदला लिइएको र एकल महिलाको सिन्दूर फर्काइएको कथाले ती महिला अधिकृतको छवि ‘राष्ट्रसेवामा सशक्त महिला’को रूपमा स्थापित गर्‍यो । यस क्षणले १९७१ को भारत–पाकिस्तान युद्धका वेला प्रधानमन्त्री इन्दिरा गान्धीलाई देवी दुर्गासँग तुलना गरिएको इतिहास सम्झायो, जहाँ महिला नेतृत्वलाई धर्म, शक्ति र राष्ट्रवादको प्रतीकका रूपमा खडा गरिन्छ । यसले भारतमा राष्ट्रनीतिको प्रायः धार्मिक र लैंगिक मिथकसँग गाँसिएर व्याख्या गरिन्छ भन्ने देखाउँछ ।

महिलाले युद्धको नेतृत्व गर्नु नारीवादी कार्य हो त भन्ने प्रश्न उठ्छ, किनभने राष्ट्र निर्माण प्रक्रिया स्वयं लैंगिक रूपमा तटस्थ हुँदैन । नारीवादी विद्वान्हरूले देखाएझैँ राष्ट्रले महिलालाई प्रायः बलिदानी आमा, एकल महिला वा राष्ट्रकी छोरीको भूमिकामा सीमित गर्छ । निरा युभाल–डेभिसलगायत विद्वान् महिलालाई सांस्कृतिक इज्जतका प्रतीक बनाएर राखिन्छ, तर राजनीतिक स्वायत्ततासहितको नायिकाका रूपमा स्वीकृति दिइँदैन भन्छन् । भारतीय सन्दर्भमा समिता सेन र मैत्रेयी चौधरीले महिलाको सार्वजनिक भूमिका सधैँ पितृसत्तात्मक कर्तव्यको सन्दर्भमा व्याख्या गरिएको देखाउँछन् । त्यसैले, महिलाको उपस्थितिलाई मात्र लैंगिक प्रगति मान्न सकिँदैन, अर्थात् प्रतिनिधित्वको स्वरूपलाई पनि आलोचनात्मक रूपमा हेर्नुपर्छ । आजको ‘सैन्य नारीवाद’ले महिलाको सहभागितालाई पुरुषझैँ हुन सक्ने प्रमाणका रूपमा हेर्छ तर सैन्यवादको पुरुषप्रधान ढाँचालाई प्रश्न गर्दैन । ‘अप्रेसन सिन्दूर’ यसको स्पष्ट उदाहरण हो, जहाँ महिलाको उपस्थितिलाई नारी सशक्तीकरणको रूपमा चित्रित गरिए पनि उनीहरूको भूमिका पितृसत्तात्मक राष्ट्रवादको फ्रेमभित्र कैद रहन्छ ।

‘अप्रेसन सिन्दूर’जस्ता नारीवादी दृश्य आरएसएसको हिन्दु राष्ट्रवादी विचारधारासँग मेल खान्छन्, जहाँ महिलाको सहभागिता पितृसत्तात्मक राष्ट्रको सेवा गर्ने भूमिकामा सीमित हुन्छ । आरएसएस र यसका दुर्गाबाहिनीजस्ता महिला संगठनले महिलालाई नारीमुक्ति नभई हिन्दु राष्ट्रको रक्षाका लागि तयार पार्छन् । यस्ता दृश्यले युद्धकला, भगवा प्रतीक र ‘योध्दा नारीत्व’को सौन्दर्य शास्त्रमार्फत राष्ट्रवादी सोचलाई बल दिन्छन् । विनाडिकोस्टाको शोधले देखाएझैँ यस्ता सन्दर्भमा महिलाको शरीर राष्ट्रवादी परियोजनाको साधन बन्न पुग्छ ।

यस सन्दर्भमा मुसलमान महिला अधिकृतको उपस्थिति धर्मनिरपेक्ष बहुलताको संकेतजस्तो देखिन सक्छ । तर, डिकोस्टा यस्ता समावेशिता प्रायः बहिष्करणकारी संरचनालाई वैधता दिनका लागि गरिन्छन् भनेर चेतावनी दिन्छिन् । उनको उपस्थितिले बहुसंख्यकवादी प्रस्तुतिलाई ‘सफा’ बनाउँछ, किनभने अल्पसंख्यकको देखिने उपस्थितिलाई राष्ट्र एकताको प्रमाणका रूपमा प्रस्तुत गरिन्छ, तर सार्वजनिक बहसमा इस्लामद्वेषी भाष्य भने यथावत् रहन्छन् । सिन्दूर हिन्दु विवाहित महिलाको निष्ठा र लच्छिनको प्रतीक हो, जसलाई राष्ट्रवादी विमर्शले मातृभूमिको सम्मानसँग जोड्छ । ‘अप्रेसन सिन्दूर’ नामले पाकिस्तानमाथिको सैन्य कारबाहीलाई एकल महिलाको सिन्दूर फिर्ता गर्ने कार्यका रूपमा प्रस्तुत गर्छ । तर, यसले एकल महिलाको दुःखलाई राष्ट्रवादी इन्धन बनाउँछ । नारीवादी इतिहासकार उर्वशी बुटालियाका अनुसार युद्धमा महिलाको शरीर र प्रतीक ‘साक्ष्य’ बन्न पुग्छन्, अर्थात् सिन्दुर गुमाउनु भनेको सम्मान र सुरक्षाको ह्रास हो । राष्ट्रको काल्पनिक मुक्तिको कथामा सिन्दुर केवल ती एकल महिलालाई फिर्ता गरिँदैन, यो त राष्ट्रवादी सद्गुणको एउटा ‘ब्याज’मा रूपान्तरण हुन्छ । ती महिला अधिकृतलाई स्वायत्त व्यक्ति नभई राष्ट्रमाताको सिपाहीका रूपमा देखाइनु भारतीय राष्ट्रवादमा व्याप्त पितृसत्तात्मक परिकल्पनाको निरन्तरता हो ।

यहाँ मनाइने उत्सव महिला मुक्ति नभई महिला सैन्य पुरुषत्वमा समाहित हुनुमा आधारित छ । ‘सैन्यीकृत नारीत्व’ले राज्यको हिंसालाई वैधता दिन्छ न कि प्रतिरोध । प्रतीकको आलोचनात्मक विश्लेषण जरुरी छ । जब महिला युद्ध नेतृत्वमा देखिन्छन्, के हामी युद्धको उत्सव मनाइरहेका छौँ वा त्यसमा महिलाको सहभागिताको ? यस्तो दृश्यमा महिलालाई पुरुषझैँ बन्ने दबाब दिइन्छ र उनीहरूको सहभागिता राज्यको सैन्यवादलाई वैधता दिन प्रयोग हुन्छ, जसले लैंगिक हिंसाको संरचनालाई जस्ताको तस्तै राख्छ ।

नारीवादी स्वायत्तता भन्नुको अर्थ महिलाले आफ्ना सर्त आफैँ तय गर्नु हो, तर यहाँ ती सर्त आरएसएसको पितृसत्तात्मक राष्ट्रवादले निर्धारण गरेका छन् । ती महिला अधिकृत पहिल्यै लेखिएको स्क्रिप्टमा सामेल भए, जसले नारीत्वलाई राष्ट्रप्रति कर्तव्यमा सीमित गर्छ । उनीहरूको भूमिकाले सैन्यवादलाई नै स्वाभाविक बनाउँछ । मुसलमान महिला अधिकृतको समावेशिता आकस्मिक होइन । 

नारीवादी आन्दोलनले सधैँ युद्ध र सैन्यवादको विरोध गर्दै आएको छ । राष्ट्रनिर्माण प्रक्रिया स्वयं पितृसत्तात्मक हुँदा यो प्रक्रियामा महिलाको सहभागिता समाधान होइन । बरु महिलाको मूल्यलाई पत्नी वा बलिदानी सिपाहीका प्रतीकसँग बाँध्ने ‘राष्ट्रिय इज्जत’को बिम्बलाई प्रश्न गर्नुपर्छ । साँचो लैंगिक न्याय भनेको शान्ति, पुनस्र्थापना र नीतिनिर्माणमा महिलाको नेतृत्वलाई प्राथमिकता दिनु हो, न कि पितृसत्तात्मक प्रतीकमा उनीहरूको समावेशितालाई उत्सवका रूपमा मान्नु हो ।

‘अप्रेसन सिन्दूर’ले सनसनीखेज समाचार शीर्षक त दिन सक्छ । तर, यो तथाकथित नारीवादी विजयको सतहमुनि एक पुरानै पितृसत्तात्मक स्क्रिप्ट लुकेको छ, जसमा महिलालाई मातृभूमिको रूपकका रूपमा हेरिन्छ र उनीहरूको मूल्य तब मात्र मानिन्छ, जब उनीहरूले राष्ट्रको युद्धकालीन आवश्यकतामा सेवा गर्छन् । साँचो नारीवादी मुक्ति महिलाको सैन्यीकृत छविमा छैन । यो मुक्ति तिनीहरूलाई राष्ट्रवादको अनुष्ठानमा बाँध्ने लिंग–आधारित रूपक भत्काउनु र महिला स्वायत्तताको परिभाषालाई युद्धमञ्चभन्दा बाहिर विस्तार गर्नुमा छ ।

(दत्त बिलिफेल्ड विश्वविद्यालयको इतिहास र समाजशास्त्रमा स्नातकोत्तर अध्ययन कार्यक्रमकी लेक्चरर हुन् भने वासु ट्रान्सकल्चरल अध्ययन केन्द्र हाइडेलबर्ग विश्वविद्यालयका सहप्राध्यापक हुन्) 

अल जजिराबाट