१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 13 June, 2025
Invalid date format १७:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वागतद्वार निर्माणको विषयमा दुई पालिकाबिच सिमाना विवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

कैलालीको लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाबिच सिमाना विवाद चर्किएको छ। लम्कीचुहा नगरपालिकाले लम्की–टीकापुर सडक खण्डअन्तर्गत दुई पालिकाको सीमा क्षेत्रमा स्वागतद्वार निर्माण गर्न थालेपछि पालिकाबिच विवाद चर्किएको हो।

स्वागतद्वार बनाइरहेको स्थान आफ्नो क्षेत्रमा पर्ने भन्दै जानकी गाउँपालिकाले विरोध जनाएको छ। गाउँपालिकाले आफ्नो क्षेत्र मिचेर स्वागतद्वार बनाउन नदिने अडान लिएपछि शनिबार त्यहाँ तनावको स्थिति सिर्जना भयो। नगरपालिका प्रवेशद्वारका रूपमा स्वागत गेट निर्माणका लागि लम्कीचुहाले खाल्डो खन्न सुरु गरेको थियो।

अर्को पालिकाले आफ्नो क्षेत्र दाबी गर्दै गेट निर्माणको काम सुरु गरेपछि जम्मा भएका जानकी गाउँपालिका–५, अमरावतीका स्थानीयबासिन्दाले गेट निर्माणको काम रोक्न खाल्डो पुर्न खोजेका थिए।

लम्कीचुहाले काम सुरु गर्न नगर प्रहरी परिचालन गरेपछि तनावको स्थिति सिर्जना भएको हो। अप्रिय अवस्था नहोस् भनेर प्रहरी परिचालन गरिएको थियो।

लम्कीचुहाले भने उक्त क्षेत्र नगरपालिकाको वडा नम्बर १ मा पर्ने दाबी गरेको छ। दुई पालिकाबिच सिमाना विवाद बढेपछि जिल्ला समन्वय समितिको टोलीले समेत स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणमा गएका समन्वय समितिका उपप्रमुख खगराज भुसालले विवाद चर्कन थालेपछि स्थानीय प्रशासनलाई प्रहरी परिचालन गर्न आग्रह गरेका थिए।

गाउँपालिका अध्यक्ष गणेश चौधरीले लम्कीचुहाले जानकी गाउँपालिकाको क्षेत्रमा आएर गेट बनाउन थालेपछि विवाद सुरु भएको बताए। बलमिच्याइँ गरेर सीमा मिच्न खोजिएको उनले आरोप लगाए। वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयसँग बुझ्दा तथा साबिकको नक्सा हेर्दा पनि त्यो क्षेत्र कहाँ पर्छ भनेर छर्लंग हुने उनको दाबी छ।

‘त्यहाँका स्थानीयले सबै सेवा गाउँपालिकामा आएर लिन्छन्, राज्यपुर्संरचनाका क्रममा त्यो गाविस र वडा विभाजन गरेर यताउता पनि गरिएको थिएन,’ अध्यक्ष चौधरीले भने, ‘हाम्रो ठाउँमा आएर नगरपालिकाभित्र पर्ने भन्दै लम्कीले स्वागतद्वार बनाउन खोज्यो।’

लम्कीचुहा नगरपालिकाले भने नेपाल सरकारको आधिकारिक नक्साका आधारमा आफ्नो क्षेत्रमा स्वागतद्वार निर्माण सुरु गरिएको जनाएको छ। जिपिएसबाट हेर्दा पनि उक्त क्षेत्र लम्कीचुहामा देखाएको नगर प्रमुख सुशीला शाहीले दाबी गरिन्।

‘नेपाल सरकारले दिएको आधिकारिक नक्सामा उक्त क्षेत्र नगरपालिकाभित्र देखिएको छ, तर उनीहरूले आफ्नो हो भन्छन्,’ शाहीले भनिन्, ‘जिपिएसले जहाँ पनि देखाउँछ, यसलाई मान्दैनौँ भन्छन्। आधिकारिक नक्सा मान्दैनौँ भन्न कहाँ मिल्छ?’

पालिकाबिच विवाद चर्केपछि जिल्ला समन्वय समितिको पहलमा मंगलबार दुवै पालिका र सरोकारवाला निकायको समेत उपस्थितिमा विवादित क्षेत्रमा छलफल भयो। समन्वय समितिका उपप्रमुख भुसालले प्राविधिकले उक्त क्षेत्रको साबिक नक्सा हेर्ने र केही दिन काम रोक्ने सहमति भएको जानकारी दिए। ‘केही दिन काम रोकेर साबिक र नयाँ दुवै नक्सा हेर्ने कुरा भएको छ,’ उनले भने।

छलफलमा दुवै पालिकाका प्रमुख, इलाका प्रशासन कार्यालयका प्रतिनिधिलगायत सहभागी थिए। नगरप्रमुख शाहीले छलफलपछि केही दिनका लागि स्वागतद्वार निर्माणको काम रोकेको बताइन्। यी दुई पालिकाबिच कर्णाली नदीमा ढुंगाबालुवा उत्खनन गर्ने विषयमा पनि सिमाना विवाद छ।