
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै नेपालमा रेमिट्यान्स आय ऐतिहासिक देखिएको छ । वैशाख महिनामा हालसम्मकै सबैभन्दा धेरै अर्थात् एक खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनामा मात्रै एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । त्यसअघि सबैभन्दा बढी गत फागुनमा एक खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको दश महिना अर्थात् वैशाखसम्ममा रेमिट्यान्स आय १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय १६.९ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको वैशाख महिनामा रेमिट्यान्स एक खर्ब १५ अर्ब ९९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आय १०.५ प्रतिशतले वृद्धि भई नौ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
वैशाखसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख पाँच हजार ६ सय १० र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार तीन सय १४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख ७३ हजार तीन सय सात र दुई लाख ३६ हजार तीन सय ९८ रहेको थियो ।
२५ खर्ब विदेशी मुद्रा सञ्चिति
वैशाख मसान्तसम्म आउँदा कुल विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । वैशाखसम्म आउँदा त्यो २३.१ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा १८ अर्ब ४० करोड विदेशी मुद्रा सञ्चिति पुगेको छ । यो सञ्चितिले १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ । यो विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च हो । बढ्दो रेमिट्यान्सलगायतका कारण पछिल्लो समय विदेशी मुद्रा सञ्चिति निरन्तर बढ्दै गएको छ ।
शोधनान्तर बचत ४.३८ खर्ब
समीक्षा अवधिमा मुलुकबाट बाहिरिने र भित्रिने रकमबिचको अन्तर चार खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा देखिएको छ । गत आवको यसै अवधिमा शोधनान्तर नाफा तीन खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ थियो । बढ्दो रेमिट्यान्सलगायतका कारण शोधनान्तर बचत उच्च देखिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
मूल्यवृद्धि दर २.७७ प्रतिशत मात्रै : उपभोक्तालाई राम्रो, तर अर्थतन्त्रमा भने मन्दीको संकेत
गत वैशाख महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि दर (मुद्रास्फीति) २.७७ प्रतिशत मात्रै देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८१/८२ को वैशाख मसान्तसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विषयक प्रतिवेदनले मुद्रास्फीति उक्त विन्दुमा देखाएको हो ।
चालू आवमा मुद्रास्फीति प्रतिशतमा कायम गर्ने मौद्रिक नीतिको लक्ष्य थियो । वैशाखमा भने मुद्रास्फीति २.७७ प्रतिशत कायम भएको छ । वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत छ । गत आवको वैशाखमा मुद्रास्फीति ४.४० प्रतिशत थियो । गत आवभरको मुद्रास्फीति भने ५.४४ प्रतिशत थियो ।
यो मुद्रास्फीति ५२ महिनायताकै कम हो । यसअघि माघ ०७७ मा मुद्रास्फीति २.७० प्रतिशत विन्दुमा थियो । त्यसपछि मुद्रास्फीति बढेर जेठ ०७९ मा ८.५६ प्रतिशतसम्म पुगेको थियो । तर, पछिल्लो समय वस्तु तथा सेवामा आएको मागको कमीका कारण मुद्रास्फीति निरन्तर घट्दै आएको छ ।
यसरी निरन्तर र न्यून विन्दुमा मुद्रास्फीति आउनुले मन्दीको संकेत गर्ने अर्थविद् नरबहादुर थापा बताउँछन् । यो आर्थिक सुस्तताको द्योतक भएको उनले बताए । ‘यसरी निरन्तर मूल्य वृद्धिदर घट्नु आमनागरिकका लागि राम्रो हो । तर, अर्थतन्त्रका लागि भने राम्रो होइन । यसलाई मैले आर्थिक सुस्तताको द्योतकका रूपमा लिएको छु,’ उनले भने ।
थापाका अनुसार मूल्य घट्नुमा दुई कारण हुन्छन् । एक, उत्पादन बढेर आपूर्तिमा सुधार आएपछि । अर्काे, मागमा कमी आएपछि मूल्य तथा मूल्यवृद्धि दर घट्छ । ‘अहिले नेपालमा उत्पादन व्यापक बढेर आपूर्तिमा सुधार आएको होइन ।
केही वर्षअघि होङ्सी सिमेन्ट उद्योग सञ्चालनमा आएपछि प्रतिबोरा सात–आठ सय पर्ने सिमेन्टको मूल्य चार सय हाराहारीमा झरेको थियो,’ उनले भने, ‘तर, अहिले नेपालमा उत्पादन बढेर आपूर्तिमा सुधार आएको अवस्था होइन । वस्तु तथा सेवामा मागमा आएको कमीका कारण यस्तो अवस्था आएको हो । यो आर्थिक सुस्तताको द्योतक हो ।’ वस्तु तथा सेवाको माग बढी गर्ने युवा उमेर समूह अहिले उच्च मात्रामा विदेश पलायन भइरहेको छ । त्यसले गर्दा मागमा उच्च कमी आएको उनको भनाइ छ ।
आयात बढ्यो, तर अर्थतन्त्र चलायमान छैन
अहिलेको अवस्थामा आयात–निर्यात बढ्नुले अर्थतन्त्र चलायन भयो भनेर स्वीकार गर्न नसकिने विज्ञहरू बताउँछन् । चालू आवको १० महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले बढेर दुई खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । वस्तु आयात भने १३.१ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यो आयात–निर्यातले आर्थिक गतिविधि बढाउन ठुलो सहयोग नगरेको अर्थविद् थापा बताउँछन् ।
‘अहिले भारतले भटमासको खानेतेलमा भन्सार बढाएको छ । तर, विभिन्न सुविधाअन्तर्गत नेपालबाट हुने आयातमा भने भारतले भन्सार लिँदैन । त्यसो हँुदा नेपालका व्यापारीले तेस्रो मुलुकबाट भटमास तेलको कच्चा पदार्थको आयात बढाएर त्यसलाई प्रशोधन गरी निर्यात गरेका हुन् । त्यसले नै आयात–निर्यात बढाएको हो । यसले अर्थतन्त्रको विकासमा त्यति ठुलो सकारात्मक प्रभाव पार्दैन,’ उनले बताए ।