
हेटौँडालाई काठमाडौंसँग जोड्ने सडक कान्ति लोकपथ आइतबारदेखि सञ्चालनमा आएको छ । कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका– ८ र ललितपुरको बागमती गाउँपालिका– २ को सिमाना बगुवास्थित बागमती नदीमा मकवानपुरतर्फ बेलिब्रिज जडान गरेसँगै कान्ति लोकपथ सञ्चालनमा आएको हो ।
२१ जेठबाट कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द गरेर सुरु गरिएको बेलिब्रिज जडानको काम शनिबार राति अबेर सकिएको कान्ति लोकपथ सडक आयोजनाका प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन् । ‘गत २१ जेठदेखि कान्ति लोकपथमा सवारी आवागमन नै बन्द गरेर हामीले काम सकेका छौँ । शनिबार राति ढिलोसम्मै काम गरेर बेलिब्रिज जडानको काम सकिएको हो,’ उनले भनिन्, ‘योसँगै आइतबार बिहानदेखि कान्ति लोकपथ सञ्चालनमा आएको छ ।’ उनले २४.४ मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको बेलिब्रिज जडान गर्न २४ सै घण्टा कामदार र प्राविधिकहरू खटिएको जानकारी दिइन् । बागमती पुलको मकवानपुरतर्फ बेलिब्रिज जडान गर्न तीनवटा एक्स्काभेटरसहित करिब ५० जना कामदार र प्राविधिकहरू खटिएको उनले बताइन् ।
योजना प्रमुख बज्राचार्यका अनुसार बेलिब्रिजको संरक्षणका साथै पुलसम्मको महुँचमार्गमा ग्याबिन जाली लगाउने काम पनि सकिएको छ । बेलिब्रिज र पुलसम्मको पहुँच मार्गको फाउन्डेसन निर्माणका लागि कुल दुई करोड रुपैयाँ बजेट विनियोजन गरिकोमा करिब एक करोड ४५ लाख रुपैयाँमा काम सम्पन्न भएको इन्जिनियर साजन न्यौपानेले जानकारी दिए ।
गत १२ असोजमा आएको बाढीले बागमती खोलामाथिको पुलको मकवानपुरतर्फको १५ मिटर पहुँच मार्ग बगाएपछि सवारी आवागमनमा समस्या हुँदै आएको थियो । अस्थायी डाइभर्सन बनाएर सवारी सञ्चालन गरिए पनि पटक–पटकको बाढीले डाइभर्सन बगाउँदा केही दिनदेखि उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको थियो ।
१५ जेठमा बागमतीमा आएको बाढीले एउटा तेलट्यांकर र एउटा डब्बा ट्रकसमेत बगाएको थियो । यसैबिच, कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकातर्फ ठिंगन–बगुवा सडकखण्डको गँगटेनजिकै रहेको भर्याङडाँडामा सडक चौडाइ विस्तारका लागि चट्टान कटानको काम सकिएको जानकारी पनि प्रमुख बज्राचार्यले दिइन् । उनले उक्त क्षेत्रमा अब तत्काल कुनै सडक समस्या नरहेको बताइन् ।