
बंगलादेशले आफ्नो देशलाई स्वतन्त्र बनाउन भएको क्रान्तिको नेतृत्व गरेका सेख मुजिबुर रहमानसहित सन् १९७० को चुनाव जित्ने चार सयभन्दा बढी राजनीतिज्ञको स्वतन्त्रता सेनानीको मान्यता रद्द गरेको छ । राष्ट्रिय स्वतन्त्रता सेनानी परिषद् (जामुका) अध्यादेशले यी नेताहरूको पहिचानलाई ‘मुक्ति युद्धका सहयोगीहरू’ भनेर परिभाषित गरेको बताए ।
मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बंगबन्धु सेख मुजिबुर रहमानका अतिरिक्त सन् १९७१ को स्वतन्त्रता संग्रामको समयमा अस्थायी सरकारका राष्ट्रपति तथा प्रधानमन्त्री सैयद नजरुल इस्लाम र ताजुद्दिन अहमदको स्वतन्त्रता सेनानीको मान्यता पनि खारेज गरेको छ ।
सरकारले मंगलबार राति जामुका ऐन संशोधन गर्ने अध्यादेश जारी गरी वीर स्वतन्त्रता सेनानीको नयाँ परिभाषा तोकेको छ । संशोधित अध्यादेशअनुसार निर्वासनमा रहेका मुजिबनगर सरकारका सदस्यहरू ‘मुक्ति युद्धका सहयोगी’ हुनेछन् ।
राष्ट्रपतिको आदेशमा कानुन मन्त्रालयको विधायी तथा संसदीय विभागले अध्यादेश जारी गरेको हो । अध्यादेशअनुसार मुक्ति युद्धका वेलाको निर्वासित सरकार मात्र नभएर मान्यता प्राप्त स्वतन्त्रता सेनानीका अन्य चार वर्गलाई पनि ‘मुक्ति युद्धका सहयोगी’ भनेर पहिचान गरिएको छ ।
त्यस्तै, स्वतन्त्रता सेनानीका चार वर्ग छन् । पहिलो, विदेशमा मुक्तियुद्धमा विशेष योगदान दिएका र विश्व जनमतलाई आकार दिन सक्रिय भूमिका खेलेका बंगलादेशी पेसेवरहरू छन् । दोस्रो, मुक्ति युद्धका वेला गठित बंगलादेश सरकार (मुजिबनगर) अन्तर्गत अधिकारी, कर्मचारी, दूत र अन्य सहयोगीका रूपमा सेवा गर्नेहरू रहेका छन् ।
तेस्रो, स्वाधीन बंगला रेडियो स्टेसनका सबै कलाकार र प्राविधिक र स्वदेश र विदेशमा मुक्ति युद्धको समर्थनमा सेवा गर्ने सबै बंगलादेशी पत्रकार रहेका छन् । चौथो, स्वाधीन बंगला फुटबल टोली रहेको छ ।
राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको नेतृत्वमा सन् १९७१ मा पाकिस्तानविरुद्ध नौ महिनाको रक्तपातपूर्ण युद्धबाट बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो । भारतले बंगलादेशलाई स्वतन्त्रता प्राप्त गर्न सहयोग गरेको थियो ।