
मोरोक्कोको रावतमा भएको कराँते वान प्रिमियर लिग नेपालकी एरिका गुरुङ ऐतिहासिक कांस्य पदक जिती मंगलबार स्वदेश फर्केकी छिन् । पहिलोपटकको सहभागितामै एरिकाले मुलुकलाई विश्वस्तरकै अर्को एक पदक दिलाउन सफल भइन् । स्वदेश फर्कँदा उनलाई राष्ट्रिय खेलकुद परिषद्, नेपाल कराँते महासंघ तथा विभिन्न खेल संस्थाका पदाधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका थिए । एरिकाले यसअघि जति पनि मुलुकलाई पदक दिलाएकी थिइन्, त्यसवेला मुख्य प्रशिक्षक कुशल श्रेष्ठसँगै हुन्थे ।
योपटक रावतमा नेपालको कराँते इतिहासमा अहिलेसम्मकै ठुलो पदक भित्र्याउँदा एरिकाले रिङमा मुख्य प्रशिक्षक श्रेष्ठविना नै प्रतिस्पर्धा गरेकी थिइन् । यद्यपि, पहिलोपटक मुख्य प्रशिक्षकविना नै कराँते वान प्रिमियर लिगमा प्रतिस्पर्धामा उत्रेकी एरिकाले इतिहास रच्न सफल भइन् । उज्वेकिस्तानमा भएको २१औँ एकेएफ एसियन कराँते च्याम्पियन खेल्ने क्रममै एरिकाले अन्तिम समयमा प्रिमियर लिगमा ‘इन्ट्री’ गरेकी थिइन् । खेलाडी र प्रशिक्षकले एकैपटक इन्ट्री गर्ने समय पाएनन् । फेरि आयोजकबाट एरिकाको कन्फर्मेसन आइसकेको थिएन । ‘कराँते वान प्रिमियर लिगको अन्तिम समयमै उसको इन्ट्री भयो,’ मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘एरिकाको कन्फर्मेसन आएको थिएन ।’ रावतमा विश्वकै उत्कृष्ट खेलाडीबिच एरिकाले खेल्ने पक्का भएपछि उसलाई उज्वेकिस्तानमै बिदाइ गरिएको श्रेष्ठले बताए ।
रावतमा रहेका अन्य प्रशिक्षकसँग वार्तालाप
मोरोक्को पहिलोपटक प्रशिक्षकविना प्रतिस्पर्धा जानुअघि एरिकाले आफूभित्र आत्मविश्वास भएको गुरु श्रेष्ठलाई बताइन् । यसअघि पनि विनाप्रशिक्षक अन्य प्रतियोगितामा सहभागिता जनाइसकेकी एरिकाले लिग वानमा सहजै लिइन् । ‘हामीले उसलाई सोधेका थियौँ, विना प्रशिक्षक खेल्न सक्छौँ,’ उज्वेकिस्तानमा रहँदा मुख्य प्रशिक्षक श्रेष्ठले एरिकासँग सोधेका थिए, ‘उसले सहजै रूपमा खेल्न सक्ने जवाफ दिइन् ।’ उज्वेकिस्तानमै रहँदा एरिकालाई रावतमा प्रशिक्षणका लागि त्यहाँ रहेका प्रशिक्षकसँग छलफल भएको जानकारी श्रेष्ठले दिएका छन् । ‘हामीले रावतमा रहेका चिनेका प्रशिक्षकहरूसँग छलफल गरेका थियौँ, उहाँहरूले एरिकालाई हेर्ने बताए,’ उनले भने । विश्व कराँते महासंघले आयोजना गर्ने प्रतियोगितामा अहिलेसम्मकै ठुलो पदक एरिकाले भित्र्याएको मुख्य प्रशिक्षक श्रेष्ठको भनाइ छ ।
२०औँ वरीयतालाई हराउँदै पदक
कराँते वान प्रिमियर लिगमा एरिकाले फ्रेन्च खेलाडी पिए क्लेमेन्सलाई ६–२ अन्तरले हराउँदै ऐतिहासिक कांस्य जितेकी हुन् । ६८ केजी तौल समूहमा विश्व वरीयतामा ५०औँ स्थानमा रहेकी एरिकाले २०औँ स्थानकी क्लेमेन्सलाई हराइन् । कांस्यपदकमा प्रतिस्पर्धा गर्नुअघिसम्म एरिकाले पाँच बाउट खेलिसकेकी थिइन् ।
प्रिमियर लिग भएकाले यो प्रतियोगिताभन्दा फरक थियो । यसमा विश्वकका ३१ खेलाडी उत्कृष्ट खेलाडीबिच मात्र प्रतिस्पर्धा हुन्छ । एरिका पुल ६ को विजेताकी रूपमा नकआउट चरणमा प्रवेश गरेकी थिइन् । नकआउट चरणको पहिलो खेलमा उनले इजिप्टकी हैदी महघुबलाई ८–२ ले हराएर सेमिफाइनलमा स्थान बनाइन् । तर, फाइनल प्रवेश खेलमा उनले विश्व नम्बर १ खेलाडी मारिया टोरेस गार्सियाविरुद्ध प्रतिस्पर्धा गरिने । सुरुमा अग्रता लिएकी एरिकाले अन्तिमसम्म त्यसलाई कायम राख्न सकिनन् । एरिका र टोरेसबिचको खेल ५–५ को बराबरी भयो । तर, सेन्सुका आधारमा टोरेस विजयी हुँदा एरिकाले भने कांस्य पदकका लागि खेल्नुपर्ने भयो ।
विश्व कराँते महासंघले आयोजना गर्ने कराँते वान प्रिमियर लिगमा एरिकाले कांस्य पदक जितेर इतिहास बनाइन् । उनले यस क्षणलाई करिअरकै ठुलो भएको बताइन् । ‘यो मेरो करिअरकै ठुलो क्षण हो, अहिले यसलाई सुरुवातका रूपमा लिन चाहन्छु,’ एरिकाले भनिन्, ‘आउँदा दिनमा योभन्दा धेरै सफलता प्राप्त हुनेछ ।’