
११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको मंगलबार पहिलो दिन नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य ६ अन्डर ६६ को उत्कृष्ट स्कोरका साथ शीर्षस्थानमा रहेका छन् ।
आचार्यले नेपालका वाङचेन ढोन्डुपलाई दुई स्ट्रोकले पछि पारेका छन् । वाङचेनले चार अन्डर ६८ को स्कोर गरेका छन् । नेपालका राहुल विश्वकर्मा, भारतका सुमित कोटवाल र बंगलादेशका मोहम्मद साहाब दुई अन्डर ७० को स्कोरसहित संयुक्त रूपमा तेस्रो स्थानमा छन् । इभन पार ७२ को स्कोरमा नेपालका प्रकृत तामाङ र श्रीलंकाका रेशन अलगामाले छैटौँ स्थान बाँडे । नेपालका टासी छिरिङ, भुटानका डेचेन लेन्डुप र निम दोर्जी तामाङ तथा भारतका भिभान उभयाकरले दुई ओभर ७४ को स्कोरमा संयुक्त रूपमा आठौँ स्थानमा पहिलो दिनको खेल सकाएका छन् ।
सदभावले बोगीरहित फ्रन्ट नाइन खेल्दा तीन अन्डर ३३ स्कोर गरेका थिए । उनले पहिलो, सातौँ र आठौँ होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा सदभावले ११औँ, १२औँ, १४औँ र १८औँ होलमा बर्डी निकाली तीन अन्डर ३३ स्कोर गर्न सफल भए । वाङचेनले पहिलो, छैटौँ र नवौँ होलमा बर्डी हात पारी फ्रन्ट नाइन तीन अन्डर ३३ को स्कोर गरे । १५औँ होलमा बोगीको सामना गरेसँगै ब्याक नाइनमा उनी एक अन्डर ३५ स्कोरमा रोकिए ।
महिलामा अनन्थी अगाडि
महिलातर्फ भारतकी अनन्थी विवेक एक अन्डर ७१ सहित शीर्षस्थानमा रहेकी छिन् । उनले नेपालकी तारा कार्की चित्रकारलाई नौ स्ट्रोकको फराकिलो अन्तरले पछि पारिन् । ताराले आठ ओभरमा ८० खेलिन् । अभान्थीले फ्रन्ट नाइनमा तीन अन्डर ३३ र ब्याक नाइनमा दुई ओभर ३८ को स्कोर गरेकी थिइन् । उनले तेस्रो, पाँचौँ, सातौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरिन् । नेपालकी ताराले पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन एक अन्डर ३५ मा सकाइन् ।
ब्याक नाइनमा उनले ६ होलमा बोगीको सामना गरिन् । यू–१६ मा रूबेन थापा ८० स्कोरसहित शीर्षस्थानमा छन् । पुरुषको टिम स्पर्धामा नेपाल ’ए’ टिमका सदभाव आचार्य र राहुल विश्वकर्मा एक सय ३६ स्कोरका साथ पहिलो स्थानमा रहेका छन् । नेपाल ’बी’ टिमका टासी छिरिङ र वाङचेन ढोन्डुप एक सय ४२ स्कोरसहित दोस्रो स्थानमा रहेको छ ।
तीनदिने ५४ होलको प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका बंगलादेश, भुटान, श्रीलंका र भारतका गरी कुल पाँच राष्ट्रका ५७ खेलाडीको सहभागिता रहेको छ ।