
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानले आफ्नो मुहार फेर्ने क्रम दिनानुदिन बढाएको छ । केपी ओली प्रधानमन्त्री भएको पहिलो मन्त्रिपरिषद्को बैठकले तीन सय दिनभित्र मैदान सुविधासम्पन्न बनाउने निर्णय गरेको थियो ।
तर, घोषित २४ वैशाख काम पूरा नभएपछि दुई महिना समय थप गरिएको थियो । समय थपसँगै मैदानको प्यारापिट र फ्लडलाइट जोड्ने कामले तीव्रता पाएको छ । त्रिवि मैदानमा अहिले १५ हजार सिट क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान गर्ने काम भइरहेको छ ।
मैदानको प्यारापिट बनाउन बिकेओआई–केसिडिसी–बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार ११३.०३ रुपैयाँमा ठेक्का पाएको हो । फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जोइन्टभेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको थियो । यो काम सम्पन्न भएपछि सरकारले दोस्रो चरणका काम गर्न थप ४० करोड बजेट विनियोजन गरेको छ ।