Skip This
दक्षिण एसियामा आणविकभन्दा भाष्यको हतियार घातक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
सयेदा साना बतुल
२o८२ जेठ १६ शुक्रबार ११:१७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दक्षिण एसियामा आणविकभन्दा भाष्यको हतियार घातक

Read Time : > 2 मिनेट
सयेदा साना बतुल
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार ११:१७:oo
  • संघर्षका दौरान भारत र पाकिस्तानका मिडिया सिसाको महलमा सीमित भए, जहाँ केवल आफूले हेर्न चाहेको विषय मात्र देखिन्थ्यो

जब भारतले अप्रेसन सिन्दूर सुरु गर्‍यो र पाकिस्तानले प्रतिक्रियास्वरुप बुन्यान–उम–मरसुस सञ्चालन गर्‍यो । विश्वले आणविक तनावको आशंकामा सास थामेर हेरिरहेको थियो । दुई अपूरा राष्ट्रिय काल्पनिकीको खत अर्थात् नियन्त्रण रेखा फेरि बल्झियो । र, तपाईंले यो घटनालाई केवल सैन्य मुठभेड ठान्नुभयो भने तपाईंले मुख्य कथा छुटाउनुभयो । यो भाष्यको युद्ध पनि थियो जुन हेडलाइन, ह्यासट्याग र समाचार कक्षमा लडिएको थियो । मिडिया नै रणभूमि बन्यो र सत्य, जटिलता एवं मानवीयता सिकार बने । विद्वान्ले यसलाई संकथन युद्ध भने, जहाँ भाष्यमार्फत पहिचान, वैधता र शक्ति निर्माण गरिन्छ । भारतीय र पाकिस्तानी मिडियाले हिंसालाई योजनाबद्ध रूपमा प्रस्तुत गरे । यी समाचार नभई नाट्य निर्देशन थिए ।

दृश्य एक, न्यायसंगत आक्रमण : ६ मेमा भारतले सुरु गरेको ‘अप्रेसन सिन्दूर’लाई भारतीय मिडियाले आत्मरक्षाको पहल भन्दै नाटकीय ढंगले प्रस्तुत गरे । २५ मिनेटमा २४ प्रहार, नौ ‘आतंकी अड्डा’ ध्वस्त, शून्य सर्वसाधारण हताहती भन्दै नैतिक विजयको भाष्य तयार गरियो । पाकिस्तानमा रहेका खलनायक जैस–ए–मोहम्मद र लस्कर–ए–तैड्ढयबालाई धुलिसात बनाइयो र भारतलाई संयमित, धर्मसिद्ध राष्ट्रका रूपमा चित्रित गरियो । समाचारहरूमा ‘सर्जिकल स्ट्राइक २.०’ र ‘न्याय सम्पन्न’जस्ता विजयोल्लासपूर्ण शीर्षक थिए । भारतीय रक्षामन्त्रीले पनि यो कारबाहीलाई फिल्मी भाषामा प्रस्तुत गरे । मिडियाले भारतको पहिचान आक्रामक नभई नैतिक शक्ति सम्पन्न राष्ट्रको रूपमा निर्माण गर्‍यो, जहाँ प्रहार मिसाइलले मात्र नभई धर्मले पनि गरिएको थियो । शत्रु पाकिस्तान नभई आतंक थियो । 

दृश्य दुई, पवित्र प्रतिरक्षा : तीन दिनपछि पाकिस्तानले ‘अप्रेसन बुन्यान–उम–मरसुज’ घोषणा गर्‍यो, नामले नै यो कारबाहीले धार्मिक र राष्ट्रवादी सन्देश बोकेको संकेत गर्‍यो । मिसाइल भारतीय सैन्य संरचनामा प्रहार गरिएको दाबी गरियो र पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफले यसलाई सन् १९७१ को युद्धको बदलाको संज्ञा दिए । यो वास्तवमा रणनीति नभई मिथक निर्माण थियो । पाकिस्तानी मिडियाले भारतीय आक्रमणलाई युद्ध अपराधको रूपमा चित्रित गर्‍यो । यसक्रममा मस्जिदमा प्रहार, सर्वसाधारणको मृत्यु र सहादतका भावनात्मक तस्बिर प्रस्तुत गरिए । पाकिस्तानी प्रत्याक्रमणलाई चाहिँ नैतिक, सटिक र अपरिहार्य भनियो । पाकिस्तानले आफूलाई धार्मिक रूपमा पीडित तर संयमित राष्ट्रका रूपमा चित्रित गर्‍यो । र, भारतसरह नै पाकिस्तानले पनि आफूलाई रक्षक, दुस्मनलाई आक्रमणकारी भन्यो । दुवै पक्षले नैतिक श्रेष्ठताको दाबी गरे र युद्धलाई ‘विकल्पविहीन’ कदम बनाए ।

शत्रु एवं पीडितपनको निर्माण : भारत र पाकिस्तानबिचको समानता दुस्मनको बनावटी छवि र पीडितको चयनमा पनि झल्किन्थ्यो । भारतले पाकिस्तानलाई आतंकी राष्ट्रका रूपमा चित्रित गर्‍यो र पाकिस्तानले भारतलाई फासिस्ट, मुसलमानमाथि अत्याचार गर्ने राष्ट्रका रूपमा प्रस्तुत गर्‍यो । दुवै पक्षमा दुस्मनलाई केवल खतरा नभई विचारका रूपमा पनि देखाइयो, जहाँ संवाद सम्भवै थिएन । मिडियाले ‘अर्को’ पक्षलाई राक्षसी रूप दिएर संवादलाई मार्‍यो, कूटनीति उपेक्षित बनायो, सम्झौता विश्वासघात बनायो र युद्धलाई नै उचित ठहर्‍यायो । पीडित निर्धारण पनि पहिचानका आधारमा भयो अर्थात् आफ्ना मरे भने शोक र अर्काको मरे भने उपेक्षा गरियो ।

जब मिसाइल उडिरहेका थिए र मानिस मर्दै थिए, त्यसमा दुवै पक्षका कस्मिरी सर्वसाधारण चपेटामा परेका थिए । निर्दोष मानिस मारिए र विस्थापित भए । तर, यी मानवीय कथा राष्ट्रवादी भाष्यको भग्नावशेषमुनि पुरिए । दुवै देशका मिडियाले शोक मनाएनन् । मारिने, घाइते हुने वा विस्थापित हुने तब पीडित भए, जब ती ‘हाम्रा’ थिए । ‘तिनीहरूका’ पीडित ? ती सामान्य सामान्य क्षति (कोल्याटरल) थिए वा उपेक्षाका विषय थिए । 

वैधानिकताको लडाइँ : भारत–पाकिस्तान संघर्षमा भूमि र रणनीतिमा मात्र नभई वैधता पनि थियो । दुवै देशले आफैँलाई सही देखाउने प्रयास गरेका थिए । भारतले अमेरिका र इजरायलले गरेझैँ ‘आतंकवादविरुद्धको युद्ध’को सन्दर्भ प्रयोग गर्‍यो । ‘सर्जिकल’, ‘सटिक’, ‘प्रत्याशित’जस्ता शब्दले आफूलाई नैतिक देखाउने प्रयास गरेको थियो । पाकिस्तानले सम्प्रभुताको अपमान र इज्जतमाथिको आक्रमणका रूपमा भारतको प्रहारलाई चित्रित गर्‍यो । धार्मिक स्थल र सर्वसाधारणको मृत्यु देखाएर भारतलाई दादागिरी गर्ने राष्ट्र बनाइयो ।

दुवै पक्षका तथ्य फरक–फरक थिए । भारतले ८० लडाकु मारेको दाबी गर्‍यो, जसलाई पाकिस्तानले नकार्‍यो । त्यसैगरी, पाकिस्तानले विमान खसालेको भन्यो, त्यसलाई भारतले खारेज गर्‍यो । दुवै मिडिया आफ्नै भाष्यमा सीमित थिए, अर्थात् ऐनाको महलमा सीमितमा जहाँ केवल आफूले हेर्न चाहेको कुरा मात्र देखिन्थ्यो ।

प्रतिकूल सत्य स्विकारौँ : अन्ततः अमेरिकी मध्यस्थतामा युद्धविराम भयो । दुवैले आफूलाई विजेता भने, मिडिया शान्त भए र जनजीवन सामान्यतर्फ फर्कियो । तर, हामी सही थियौँ र उनीहरू गलत थिए भन्ने भाष्य भने बाँकी नै रह्यो । यिनै भाष्यले पाठ्यपुस्तक, चुनाव र भविष्यमा युद्धको दिशा तय गर्नेछ । तर, यसलाई परिवर्तन भने गर्न सकिन्छ । जब हामीले अघोषित, चुप लगाइएका आवाज सुन्न थाल्छौँ, तब यो भाष्य परिवर्तन हुनेछ । युद्धको ढोल बज्दा कसले पहिले गोली चलायो भन्दा पनि अन्तिम शब्दमा कसले के भन्यो भनेर सोच्नुहोस् । किनभने, दक्षिण एसियामा सबैभन्दा खतरनाक आणविक हतियार नभई भाष्य नै हो ।

(बतुल बेलायत आधारित पत्रकार एवं मिडिया भाष्यकी पोस्टडक्टरल शोधकर्ता हुन्) 
अल जजिराबाट