
नवलपुरको मध्यविन्दु नगरपालिकास्थित अम्रसा जंगलमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा मध्यविन्दु- ७, चोरमाराका २२ वर्षीय रादिम मिधुन र २४ वर्षका नवीन कुमाल रहेका छन् ।
त्यसैगरी, नवलपरासी पश्चिम बर्दघाट- ५ घर भई चोरमारामा टायल मार्बलको काम गरी बस्ने २८ वर्षीय मनीष घर्ती मगरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुर पठाइएको प्रहरी नायब उपरीक्षक नेपालले बताए ।
उनका अनुसार उत्तर अम्रसा गाउँबाट चोरमारातर्फ आउँदै गरेको तीनजना सवार लु.९प ८११६ नम्वरको होन्डा साइन मोटरसाइकलका चालकले चिप्लो सडकमा नियन्त्रण गुमाउँदा उक्त दुर्घटना भएको हो ।
बिहान ६ बजे भित्री सडकमा भएको दुर्घटनाका घाइतेलाई उपचारार्थ मध्यविन्दु प्रादेशिक अस्पताल डन्डा ल्याइएकोमा बिहान ६:३० बजे चिकित्सकले दुईजनालाई मृत्यु भएको घोषणा गरेका थिए ।