
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने मात्रै होइन, तस्करीमा संलग्न ‘मोस्ट वान्टेड’लाई मिलेमतोमा तेस्रो मुलुक उडाउने काम पनि भएको छ । करिब दुई महिनाअघि ९४ किलो सुन तस्करी अभियोगमा भारतीय प्रहरीले खोजी गरिरहेका व्यक्तिलाई यसरी उडाइएको थियो । तर, ‘सिस्टममै डिफल्ट’ आएको वेला अपराधी उम्किन सफल भएको भन्दै सामसुम पारिएको थियो ।
भारतीय दूतावासको सिफारिसमा नेपालले पनि कालोसूचीमा समावेश गरेका ती सुन तस्करलाई अध्यागमन कार्यालयका तत्कालीन ड्युटी अफिसर कमलराज उपाध्यायसहितको टोलीले यात्रा अनुमति दिएको थियो । ‘९४ किलो सुन तस्करीमा संलग्न एक भारतीय नागरिकलाई हामीले पनि कालोसूचीमा राखेका थियौँ । तर, उनले हाम्रै अध्यागमन प्रणाली प्रयोग गरेर तेस्रो मुलुक यात्रा गरेका रहेछन् । त्यसवेला ड्युटी अफिसर उपाध्याय थिए,’ अध्यागमन स्रोतले भन्यो ।
उपाध्याय भिजिट भिसा प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराईको ‘कोर टिम’का सदस्य हुन् । गृहमन्त्री रमेश लेखकले करिब साढे सात महिनाअघि उनलाई रोजेरै अध्यागमनमा पठाएका थिए । स्रोतका अनुसार भट्टराईको ‘कोर टिम’मा त्यतिवेला अधिकृतहरू उपाध्यायसहित यज्ञराज अर्याल, दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल र सरोज खनाललगायत थिए ।
यो घटनापछि भारतस्थित नेपाली दूतावासले कडा आपत्ति जनाएको थियो । त्यसपछि अध्यागमन विभागले भट्टराईसँग स्पष्टीकरण माग्नुका साथै तीन सदस्यीय छानबिन समिति पनि बनाएको थियो । ‘सिस्टमले काम नगर्दा कालोसूचीमा रहेको पासपोर्टलाई पनि हरियो बत्ती देखाउँदा मोस्ट वान्टेड छिर्न सफल भएको’ जवाफ दिएर भट्टराई त्यतिवेला उम्किएका थिए ।
छानबिन समितिले उपाध्यायसहित तीनजना अधिकृतलाई विभागमा ताने पनि उनीहरूको संलग्नता पुष्टि नरहेको प्रतिवेदन दिएपछि कारबाही फुकुवा गरिएको विभागका सूचना अधिकारी टीकाराम ढकालले बताए । अहिले त्यसमध्ये एकजना गृह मन्त्रालयमा छन् । उपाध्यायसहित दुईजना विभागमै कार्यरत छन् ।
‘सिस्टमकै डिफल्ट’ हुँदा ती व्यक्ति विदेश उड्न सफल भएको ढकालको दाबी छ । ‘सिस्टममा पासपोर्ट नम्बर प्रविष्ट गर्दा कालोसूचीमा परेका यात्रुहरू पहिचान हुने ‘नेपाली पोर्ट’ प्रणालीले काम नगरेको देखियो । सोही कारण उक्त व्यक्ति सहजै तेस्रो मुलुक जान सफल भएको देखियो,’ उनले भने, ‘सिसिटिभी फुटेज पनि हेरेर अनुसन्धान गरियो । तर, प्रणालीमा देखिएको ‘डिफल्ट’का कारण यात्रु छुटेका हुन् भन्ने निष्कर्ष छ ।’
गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको सूचनापछि अख्तियारले गत ७ जेठमा मात्रै कार्यालयमा छापा हानेको थियो । यस क्रममा कार्यालय प्रमुख भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिई उनीहरूका कम्प्युटर, मोबाइललगायत ‘डिभाइस’ जफत गरेको छ ।
अनुसन्धान नहुँदै गृहमन्त्री लेखकलाई कांग्रेसको ‘क्लिनचिट’
भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा तानिएका गृहमन्त्री रमेश लेखक निर्दोष रहेको सत्तारूढ दल कांग्रेसले ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइरहेको वेला सत्तारूढ कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस प्रकरणमा लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेकाले उनले राजीनामा गर्न नपर्ने ठहर गरेको हो ।
सभापति देउवानिवास बुढानीलकण्ठमा सोमबार बसेको बैठकको सुरुवात नै भिजिट भिसा प्रकरणबाट भएको थियो । सुरुमै गृहमन्त्री लेखकले आफूमाथि षड्यन्त्र भएको भन्दै गल्ती नगरेको स्पष्टीकरण दिएका थिए । उनले आफ्नो विगत केलाएर हेर्न आग्रह गर्दै पार्टी र नेताहरूबाट असहयोग हुने भए राजीनामा दिने बताएका थिए ।
‘ममाथि गम्भीर षड्यन्त्र भयो । हाम्रै पार्टीका नेता र सांसदले समेत मेरोविरुद्ध बोल्नुभयो । सार्वजनिक बेइज्जती गर्ने काम भयो । छानबिन ममाथि भएको पनि होइन । भोलि आवश्यक परे छानबिन पनि होला । मेरो कारणले पार्टीलाई अप्ठ्यारो नै परेको भए, पार्टी र नेताहरूबाट असहयोग हुने भए राजीनामा दिन तयार छु,’ लेखकको भनाइ उद्धृत गर्दै सहमहामन्त्री जीवन परियारले नयाँ पत्रिकासँग भने । लेखकले अध्यागमनमा बदमासी भएको गुनासो आएपछि कर्मचारी हटाएर मन्त्रालयमा तानेकोसमेत बैठकमा स्पष्टीकरण दिएका छन् ।
सभापति शेरबहादुर देउवाले ‘राजीनामा दिनुपर्दैन’ भन्दै गृहमन्त्री लेखकलाई आफ्नो काम नियमित राख्न भनेका छन् । सभापति देउवाले आफू गृहमन्त्री हुँदा पनि विवाद भएको स्मरण गर्दै गृहमन्त्री लेखकलाई चिन्ता नलिई काम गर्न आग्रह गरेका थिए । ‘म गृहमन्त्री हुँदा पनि केही समस्या आएका थिए । समस्याबाट भाग्ने होइन, समाधान गर्ने हो । गल्ती नगरेपछि डराउनुपर्दैन । चिन्ता नलिई आफ्नो काम गर्नू, राजीनामा दिनुपर्दैन,’ देउवाले भनेका थिए ।
कांग्रेस पदाधिकारी बैठकपूर्व आइतबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल भएको थियो । नैतिकताका आधारमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने मत बलियो हुँदै गएका वेला सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेताबिच बचाउमा उत्रने सहमति बनेको थियो ।
सोमबारको पार्टी बैठकमा गृहमन्त्री लेखकले स्पष्टीकरण दिएपछि उपसभापति पूर्णबहादुर खड्काले अनावश्यक विवादमा तान्ने काम विगतमा पनि हुने गरेको भन्दै आफू गृहमन्त्री हुँदाको अनुभव सुनाएका थिए । उनले पनि राजीनामा दिनुनपर्ने धारणा राखेका छन् । ‘म गृहमन्त्री हुँदा पनि विपक्षीले राजीनामा मागेका थिए । जसले बदमासी गर्छ उसैलाई कारबाही हुने हो । बदमासी नगरेपछि डराउनुपर्दैन, सामना गरेर जानुपर्छ । राजीनामा दिएर भाग्ने होइन,’ खड्काले बैठकमा भनेका थिए । महामन्त्री गगन थापाले अख्तियारले गर्ने छानबिन निष्पक्ष हुनुपर्नेमा जोड दिएका थिए । ‘अख्तियारले गर्ने छानबिन निष्पक्ष होस्, निर्दोष नफसोस्, दोषी उम्कन नपाओस् । बाहिर चर्चामा आएकै भरमा दोषी किटान गर्नु ठिक होइन,’ थापाले भनेका थिए ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गृहमन्त्री लेखकको संलग्नता नै नभएको विषयमा लाञ्छना लगाउने काम भएको भन्दै आपत्ति जनाएका थिए । उनले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने नेतालाई स्पष्टीकरण सोध्नसमेत माग गरेका थिए । ‘उहाँको कुरा सुनेर छर्लंग भएँ । उहाँको कुनै गल्ती छैन, एक इन्च पनि गलत गर्नुभएको छैन । लाञ्छना लगाइएको छ, यो गलत हो,’ कोइरालाको भनाइ थियो, ‘नेताहरूलाई बोलाउनुस् र समाधान निकाल्नुस् । शेखर, सुनील शर्मा र राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोध्नुस् ।’
राजीनामा माग्ने नेताहरूलाई स्पष्टीकरण सोध्ने विषयमा भने देउवाले केही पनि बताएनन् । कांग्रेसकै नेताहरू डा. शेखर कोइराला, सुनील शर्मा र राजेन्द्र्र बजगाईंलगायतले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । गत बुधबार विमानस्थलस्थित अध्यागमन प्रमुख तीर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा तानिएका छन् ।
अध्यागमनमा संस्थागत र संगठित रूपमा भिजिट भिसाको सेटिङ बढेको सूचनाका आधारमा अख्तियारले छापा हानी अनुसन्धान गरिरहेको छ । अख्तियारले भट्टराई तथा बिचौलियाको मोबाइल जफत गरी थप प्रमाण संकलन गरिरहेको छ । भट्टराईलाई गृहमन्त्री लेखकले गत असोजमा अध्यागमनमा पठाएका थिए । अख्तियारले छापा मार्नुअघि भट्टराईलाई गृह मन्त्रालय तानिएको थियो ।
बैठकमा लेखकले आफ्नो संलग्नता नभएको सविस्तार बताएपछि आफूहरू विश्वस्त भएकाले राजीनामा दिनुनपर्ने निर्णय भएको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘भिजिट भिसा प्रकरणमा उहाँको कुनै संलग्नता छैन भन्नेमा हामी विश्वस्त भयौँ । र, राजीनामा दिनुनपर्ने निर्णय गर्यौँ,’ डा. महतले भने । उनले निष्पक्ष छानबिन हुनुपर्ने र संलग्नमाथि कारबाही हुनुपर्नेमा दुईमत नरहेको बताए ।
स्वतन्त्र, निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ : माओवादी
प्रमुख प्रतिपक्षी दल माओवादीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्री पदमा हुँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै राजीनामा मागेको हो । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकालेको बताए । ‘अध्यागनमार्फत नेपालीलाई भिजिट भिसामार्फत विदेश पठाउने कार्यमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘राज्यका निकायले छानबिन सुरु गरिसकेको स्थितिमा स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ ।’ राजीनामा दिन ढिला गर्दा मुलुकको साख गिर्ने निष्कर्ष माओवादीले निकालेको छ ।