
बर्दियाको मधुवन नगरपालिका– १ सूर्यपटुवामा रहेको त्रिभुवन माध्यमिक विद्यालयको हाताभित्र रहेको नहर खुला भए पनि सरोकारवाला निकाय मौन छन् । ८१५ विद्यार्थी अध्ययनरत विद्यालयको हाताभित्र रहेको नहरको दुवै साइडमा कक्षाकोठा छ । विद्यार्थी नहरको बाटो भएर कक्षाकोठामा जाने–आउने गरेका छन् ।
नहरको बाटो हिँड्ने क्रममा यसअघि विद्यालयमा अध्ययनरत दुई विद्यार्थी नहरमा खसेर घाइते भएका थिए । बर्खा सुरु भएसँगै विद्यार्थी नहरमा खस्ने हुन् कि भन्ने चिन्ता हुने गरेको विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर सुनारले बताए । ‘बर्खाका वेला विद्यालयभित्र रहेको नहरमा पानी आउँछ । अन्य समयमा नहरमा पानी नभए पनि विद्यार्थी खेल्ने क्रममा नहरमा खसेर चोटपटक लाग्ने जोखिम छ । यसअघि दुईजना विद्यार्थी खसेर घाइते भइसकेका छन्,’ उनले भने ।
त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर सुनार भन्छन्-बर्खाका वेला विद्यालयभित्र रहेको नहरमा पानी आउँछ । अन्य समयमा नहरमा पानी नभए पनि विद्यार्थी खेल्ने क्रममा नहरमा खसेर चोटपटक लाग्ने जोखिम छ । यसअघि दुईजना विद्यार्थी खसेर घाइते भइसकेका छन् ।
विद्यालयमा रहेको करिब दुई मिटर नहरमध्ये १५२ मिटर लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय गत वर्ष निर्माण गरेको थियो । ‘अझै ५० मिटर नहर अस्थायी प्रकृतिको रहेको छ । मन्त्रालयले निर्माण गरेको नहर खुला हुँदा बर्खायाममा विद्यार्थी डुब्ने तथा पानी नभएको समयमा खसेर चोट लाग्ने जोखिम छ,’ उनले भने, ‘विद्यालयमा रहेको करिब चार मिटर चौडाइ र करिब दुई मिटर गहिराइको नहर छोप्न सकियो भने पनि बालबालिकालाई सुरक्षित राख्न सकिन्छ ।’
मधुवन नगरपालिका– १ का वडासदस्य तथा विद्यालय व्यवस्थापन विकास समितिका अध्यक्ष रामचरण थारूले लुम्बिनी प्रदेश मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालयमा नहरलाई व्यवस्थापित गर्न बजेट माग गरिएको बताए । ‘मन्त्रालय बजेट पठाउने विषयमा सकारात्मक भए पनि बजेट पर्छ वा पर्दैन अझै अन्योल छ,’ उनले भने ।