हुरीपीडितको बिचल्ली : सात दिन बित्दा पनि पाएनन् राहत

२०७६ जेठ ३० बिहीबार ०६:२७:००

जेठ महिनाको टन्टलापुर घाम, बुधबार मध्याह्न डेढमहिने छोरालाई काखमा च्यापेर हावाहुरीले भताभुंग घरको आँगनमा बसेकी थिइन् कल्पना नेपाली । भित्र बस्नलाई छानो छैन, भित्ता चर्किएको छ । हावाहुरीले घर उडाएपछि कल्पना र उनका तीनजना नाबालक सन्तानको एक सातादेखि बिचल्ली छ । उनी डेढ महिनाअघि मात्र सुत्केरी भएकी थिइन् । 

छहारीविनै टन्टलापुर घाममा दिन कट्छ, राति छिमेकमै रहेको दिदीको घरमा आश्रय लिन्छन् ।  ‘किनेर राखेको अन्नपात भिजेर नष्ट भएपछि खानलाई केही बचेन, किनेर ल्याउन पैसा छैन ।’ उनले भनिन्, ‘म त भोकभोकै पनि बस्थेँ, छोराछोरीलाई के खुवाउनु ?’ बिजोग देखेर स्थानीयले दिएको ६ सय रुपैयाँको चामल किनेर उनी गुजारा चलाइरहेकी छिन् । पति नर नेपाली १८ जेठमा भारत गएका थिए ।

हावाहुरीले कैलालीमा सयौँ घर तहस–नहस पारेको सात दिन पुगिसकेको छ । तर, धनगढी उपमहानगरपालिकाभित्रकै बस्ती जुगेडा ‘सी’ गाउँकी कल्पनाले केही पनि राहत पाएकी छैनन् । ‘सी’ गाउँकै रतन कोलीको एउटा हात भाँचियो । घर भताभुंग भयो । उनको सातजनाको परिवार छिमेकी चन्दा कामीको घरमा आश्रय लिएर बसेको छ ।

‘ऋण लिएर उपचार गराउँदै छु । उपचारमै साढे चार हजार रुपैयाँ खर्च भइसक्यो,’ उनले भने, ‘न कसैले उपचारमा सहयोग गरे, न राहत पाइयो ।’ ऋण लिएरै खाद्यान्नको जोहो गरेको छु, आफू सक्दिनँ, घरको छानो कसले छाइदिने ? वडाध्यक्षले राहत आउँछ भन्थे, अहिलेसम्म पाइएको छैन ।’  ‘सी’ गाउँ रहेको वडा नम्बर १२ मा मात्रै एक हजार आठ सय घरधुरीमा क्षति पुगेको निवेदन स्थानीय प्रहरीचौकीमा दर्ता भएको वडाध्यक्ष गणेशप्रसाद जोशीले जानकारी दिए । 

स्थानीय सरकारले मात्रै राहत दिन सम्भव छैन : मेयर वड

प्रारम्भिक तथ्यांकअनुसार धनगढीमा मात्रै साढे ६ हजारभन्दा बढी घरमा क्षति पुगेको मेयर नृपबहादुर वडले बताए । ‘१९ सय घर पूर्ण रूपमा ध्वस्त भएका छन् । विपत्मा परेकाको राहत र सहयोगमा स्थानीय सरकार पूरै परिचालन भएको छ, तर हामीले मात्रै यो समस्या समाधान गर्न सक्दैनौँ,’ उनले भने, ‘संघ र प्रदेशले सहयोग नगरेसम्म पुनस्र्थापना सम्भव छैन ।’ नगरमा हालसम्म डेढ हजारभन्दा बढी त्रिपाल वितरण गरिएको उनले बताए ।

बारा र पर्सामा जस्तै यहाँ पनि सहयोगको प्याकेज ल्याउन नगर प्रमुख वडले आग्रह गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले स्थानीय तहमार्फत क्षतिको विवरण संकलन भइरहेको जनाए । प्रदेश सरकारले हावाहुरीबाट मृतकका आफन्तलाई डेढ लाख, घर पूर्ण क्षति भएकालाई २० हजार र आंशिक क्षति भएकालाई १० हजार दिने निर्णय गरेको छ । यकिन तथ्यांक संकलन भएपछि राहत वितरण गरिने प्रदेश सरकारले जनाएको छ ।

विनाशकारी हावाहुरीले थला परेका बस्ती तंग्रिन नपाउँदै विपत् थपिएको छ । बुधबार बिहान आएको हावाहुरी र वर्षाले जोहो गरेको अन्नपात र लुगाकपडा भिजाएको पीडितले बताएका छन् । ‘अस्तिको हुरीले जोडिएको अन्नपात घरभित्रै राखेका थियौँ, छाना थिएन, आजको पानीले भिजायो,’ धनगढी–७, मनेहरा मुक्त कमैया शिविरका चेचुराम चौधरीले भने । 


 

प्रतिकृया दिनुहोस