
बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष ०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले मंगलबार बसेको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेका हुन् ।
उक्त प्रस्तावलाई प्रदेश सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रस्तावमाथि बुधबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गर्दै मन्त्री काफ्लेले संविधानमा व्यवस्था भएका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, प्रदेश सरकारको अधिकारका क्षेत्र र प्रदेश सरकारको दोस्रो आवधिक योजनाले लिएका सोच, लक्ष्य, रणनीति र प्राथमिकतालाई कार्यान्वयन गर्ने गरी प्रदेशको आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने बताएका छन् ।
लोक कल्याणकारी राज्य निर्माणका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा सामाजिक न्यायसहितको दिगो आर्थिक विकास तथा असमानताको अन्त्य गर्ने, समाजवादउन्मुख, आत्मनिर्भर, उन्नतशील, स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट निर्देशित हुने उनको भनाइ छ ।
लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट तर्जुमा गर्ने, उत्पादकत्व वृद्धि र आर्थिक तथा सामाजिक पूर्वाधारको विकासमा निजी क्षेत्रको भूमिकालाई जोड दिइने विधेयकका सिद्धान्त रहेको मन्त्री काफ्लेले बताए ।