१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 18 May, 2025
सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी खण्डमा पर्ने सिमानपुरको अमाहा खोलामा आएको बाढीले भाँचिएको निर्माणाधीन पुल ।
Invalid date format o९:o७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

फोक्सिनटार पुलको बजेट सुनिश्चित, निर्माण अनिश्चित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o७:oo

गएको असोजमा आएको बाढीले बगाएको फोक्सिनटार पुल पुनर्निर्माणका लागि बजेट सुनिश्चित भए पनि निर्माण अनिश्चित भएको छ । सगरमाथा लोकमार्गकै गाईघाट–खोटाङ–दिक्तेल खण्डको सुनकोशी नदीमा पर्ने फोक्सिनटारको पुल बाढीले बगाएको थियो ।

गाईघाट–दिक्तेल सडक योजना कार्यालयका प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले फोक्सिनटार पुलका लागि अर्थ मन्त्रालयबाट ३५ करोड बजेट सुनिश्चित भएको पत्रमार्फत जानकारी आएको बताए । ‘बाढीले बगेको पुलकै पुनर्निर्माण गर्ने कि अर्को पुल बनाउने भन्ने विषयमा टुंगो लागेको छैन । पहिलाको पुल पनि ठेकेदार कम्पनीकै रेखदेखमा रहेको अवस्थामा बगाएकाले त्यसको जिम्मेवार ठेकेदार कम्पनी नै हुनुपर्ने कानुनी व्यवस्था छ,’ उनले भने, ‘त्यो पहिलाको ठेक्का नतोडीकन अर्को पुल बनाउन पाइँदैन । तर, नयाँ पुलका लागि पनि लोकेसनलगायतका स्थान पहिचान गर्ने काम गरिरहेका छौँ । यसको निर्णय सडक विभागले गर्छ ।’

फोक्सिनटार पुलको जिम्मा पाएको सडक विभागको पुल योजना पूर्वी क्षेत्र सेक्टर कार्यालय धरानका सूचना अधिकारी इन्जिनियर आविष्कार तिमिल्सिनाले पनि बगेको पुलको पुनर्निर्माणबारे टुंगो नलागेको बताए । उनले भने, ‘पहिला काम गरिरहेको ठेकेदार कम्पनीले छाडेको छैन । त्यो पुलको काम फेरि काम गरिरहेकै गौरी–पार्वती वाइपी कन्स्ट्रक्सन जेभी काठमाडौंलाई दिने कि त्यसको ठेक्का तोडेर अर्कालाई दिने भन्ने निर्णय सडक विभागबाट मात्र टुंगो लाग्छ । तर, फोक्सिनटार पुलको बजेट सुनिश्चित भएको जानकारीको पत्र हाम्रो कार्यालयमा आएको छैन ।’  

बगेको पुल निर्माण सुरु भएको १० वर्षपछि सञ्चालनमा आएको थियो । २२ चैत ०७३ मा सम्पन्न गर्ने गरी २३ चैत ०६९ मा ठेकेदार कम्पनीले जिम्मा लिएको आर्क ब्रिज ०७९ चैतमा सञ्चालनमा आएको थियो । 

तिमिल्सिनाका अनुसार ठेकेदार कम्पनीले भ्याटसहित २२ करोड ६७ लाखमा निर्माण गरेको थियो । जसको एक सय २० मिटर लम्बाइ र चौडाइ ११ मिटर चौडाइ थियो । तर, ०८१ असोजमा बगेपछि ११ करोड क्षति भएको मूल्यांकन गरिएको उनको भनाइ छ ।

खोटाङको खोटेहाङ गाउँपालिका– ९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका– ५, आँपटारको बिचमा फोक्सिटार पर्छ । उक्त पुल निर्माण नहुँदा पनि खोटाङ–उदयपुर बेलिब्रिजकै भरमा सञ्चालन हुँदै आएको थियो । अहिले पुल बगेपछि पनि बेलिब्रिजकै भर छ । उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजन आचार्यले बजेट सुनिश्चित भएकाले पुल बन्ने आस पलाएको बताए । 

सगरमाथा लोकमार्ग–गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका अनुसार फोक्सिनटारको पुल सगरमाथा लोकमार्ग–गाईघाट–दिक्तेल सडकखण्डमा पर्छ । सोही कारण व्यावहारिक पाटो आफूहरूले हेर्ने र बाँकी पुल आधिकारिक रूपमा सडक विभागको पुल योजना पूर्वीक्षेत्र सेक्टर कार्यालय धरानले हेर्ने गरेको छ । उनले भने, ‘अब ठेक्का प्रक्रियाबाट अघि बढेपछि छिटो निर्माण गर्न माग गर्दछु ।’ अहिले बेलिब्रिजले काम चलेको भए पनि बर्खायाम सुरु भएपछि बेलिब्रिज झिक्नुपर्दा समस्या आउने उनको भनाइ छ । 

बाढीले नै भाँचिएको कटारीको पुलको पुनर्निर्माण गर्न पत्राचार
गत २७ चैत ०८१ रातको वर्षासँगै आएको बाढीले भाँचिएको सिद्धिचरण लोकमार्गको उदयपुर खण्डमा निर्माणाधीन प्रिस्टे«स्ड प्रविधिको पक्की पुल पुनर्निर्माणका लागि ठेकेदार कम्पनीलाई पत्राचार गरिएको छ । कटारी नगरपालिका– २, सिमानपुरको अमाहा खोलामा बन्दै गरेको पक्की पुल बाढीका कारण काम नलाग्ने गरी भाँचिएको थियो । पुल भाँचिँदा दुई करोडको क्षति भएको थियो । मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्रप्रसाद महतोले बाढीले भाँचिएको पुलको पुनर्निर्माण गर्न पुल निर्माण कम्पनी सूर्य एन्ड सन्स प्रालि धरानलाई पत्र पठाएको र पुनर्निर्माणको प्रक्रिया सुरु गरेको जानकारी दिए । 

२९ असार ०७९ मा उक्त पुल निर्माण गर्ने जिम्मेवारी लिएको सूर्य एन्ड सन्स प्रालि धरानले सम्झौतामा २९ असोज ०८२ भित्र पुल निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको थियो । भाँचिएको ५० मिटर लम्बाइ भएको सिंगल स्पानको उक्त पुल ढलान गरेको २० दिनमै ढलेको थियो । उक्त लोकमार्गमा भाँचिएको पुलसँगै चारवटा पुल निर्माण गर्ने गरी निर्माण कम्पनीले भ्याटसहित २८ करोड ९९ लाख ५२ हजारमा सम्झौता गरी काम गरिरहेको छ । जसमा गिद्धवर खोला, खोक्सा खोलामा निर्माण जारी छ, भने ताराघारी खोलाको पुल निर्माण सुरु हुन बाँकी छ ।