
लामो बाटो धाएर मत्स्येन्द्रनाथलाई ल्याएपछि पानी परेको किंवदन्ती छ
अहिले मत्स्येन्द्रनाथ जात्रा चलिरहेको छ । मत्स्येन्द्रनाथको रथ तान्दै लगनखेल पुर्याइएकोे छ । मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताको रूपमा लिइन्छ । यो जात्रा लिच्छविकालदेखि चल्दै आएको किंवदन्ती छ । उपत्यकामा मनाइने जात्रामध्ये यो जात्रा सबैभन्दा लामो मानिन्छ । जात्रा सकिएपछि देवतालाई खटमा राखी बुङमती लगिन्छ । त्यहाँ ६ महिना राखेपछि मूर्तिलाई पुनः पाटन ल्याइन्छ ।
पाटनका संस्कृतिविद् तथा ललितपुर महानगरपालिकाका पहिलो मेयर बुद्धिराज बज्राचार्यका अनुसार मत्स्येन्द्रनाथलाई ललितपुरको बुङमतीसम्म मत्स्येन्द्रनाथ ल्याएको किवंदन्ती छ । लामो बाटो धाएर मत्स्येन्द्रनाथ यहाँसम्म ल्याएपछि पानी परेको किंवदन्ती छ ।
करिब एक हजार पाँच सय वर्ष पहिले उपत्यकामा १२ वर्षसम्म पानी नपरेपछि, डाँडापाखा र खेतबारी सबै सुक्खा भए । खानेपानीका मुहान सुक्न थाले, मानिसहरू खडेरीले व्याकुल भए । उब्जनी हुन छाडेपछि अनिकाल लाग्यो । मानिसहरू अत्तालिए, यस्तो स्थिति सिर्जना भएपछि जान्ने–बुझ्ने केही व्यक्ति र राजाहरूले कसरी बाँच्ने होला भनेर जुक्ति खोज्न थाले । यसै बखतमा काठमाडौंका बन्धुदत्त बज्राचार्य, भक्तपुरका राजा नरेन्द्रदेव र ललितपुर पाटनका ज्यापूले मत्स्येन्द्रनाथ देवतालाई उपत्यकामा ल्याएपछि पानी पर्छ भन्ने कसैबाट सुने । यति थाहा पाउनासाथ तीनैजना मिलेर कामरुकामक्ष पुगेर मत्स्येन्द्रनाथ ल्याउने निर्णय गरेको किंवदन्ती छ ।
कटुवालदहस्थित रातो मत्स्येन्द्रनाथ मन्दिरका पुजारी कपिल बज्राचार्यका अनुसार सर्वप्रथम ललितपुरको कटुवालदहबाट कलश ल्याएपछि मात्रै मत्स्येन्द्रनाथको जात्रा सुरु हुन्छ ।
उनका अनुसार भौतिक शरीर भारतको कामारुकाक्षमा छाडेर मत्स्येन्द्रनाथ यहाँ भएका थिए । तर, कसरी आए भन्ने सन्दर्भ भने प्रस्ट पाइँदै छ । पुजारी बज्राचार्यका अनुसार मत्स्येन्द्रनाथ तान्त्रिक विधिबाट उडेर यहाँ आएको र रूप धारण गरेको भन्ने जनविश्वास छ ।
कटुवाल दहबाट वर्षको तीनपटक मत्स्येन्द्रनाथको कलश लैजाने गरिन्छ– मत्स्येन्द्रनाथलाई पुल्चोकमा रथारोहण गराउने वेला, जावलाखेल लैजानुअघि लगनखेल महावली दिने वेला र साउन महिनामा दिल देवताको पूजा गर्दा । यहाँबाट कलश नलगेसम्म जात्राको तथा पूजाको कुनै पनि कार्य शुभारम्भ नै हुँदैन । ‘यो ठाउँ निकै शक्ति भएको ठाउँ र सुवर्णभूमि हो, मत्स्येन्द्रनाथले वास गरेको ठाउँ अहिले ओझेलमा छ,’ बज्राचार्यले भने, ‘मत्स्येन्द्रनाथको यो क्षेत्रलाई धार्मिक र मत्स्येन्द्रनाथको खास ठाउँ मानेर पर्यटकीय विकाससमेत गर्न जरुरी छ, पछिल्लोपटक ०७२ यता यस क्षेत्रमा मन्दिर, पुजारी घर सत्तल बनेका छन् ।’ उनका अनुसार यहाँ मन्दिरमा बज्राचार्य समुदायका पुजारी रहने व्यवस्था छ । यहाँ मत्स्येन्द्रनाथलाई विराजमान गराउँदा बज्राचार्य ले नै रहेको र उनीहरूले तान्त्रिक विधिबाट मत्स्येन्द्रनाथलाई तानेर ल्याएका कारण पनि उनीहरूले नै पूजाआजा गर्ने र बसोवास गर्ने चलन रहँदै आइको छ । त्यस्तै, कटुवाल दहको मन्दिरमा वर्षमा तीन दिन ठेचोका नेवार समुदायलाई पुजारी हुन पालो दिनुपर्छ । यो पनि परापूर्वकालदेखिकै चलन हो ।
यस क्षेत्र ०७२ सालअघिसम्म खण्डहर थियो । ०७२ यता भने ललितपुर र काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, गोदावरी नगरपालिकालगायतको आर्थिक सहयोगमा मन्दिर, सत्तल, पुजारी घर, दह र अन्य संरचना बनेका छन् । यहाँ ०७२ अघिसम्म मत्स्येन्द्रनाथको मूर्ति मात्रै थियो । तर, अहिले त्यो मूर्ति सुरक्षित छ भने मन्दिरसमेत निर्माण भइसकेको छ । उनका अनुसार पुजारी भवन गोदावरी नगरपालिकाले बनाएको हो भने मन्दिर र पार्टी ललितपुर र काठमाडौं महानगरपालिकाले बनाइदिएका हुन् ।
रातो मत्स्येन्द्रनाथलाई यहाँ ल्याउने क्रममा संकटाको समेत भूमिका रहेको बज्राचार्यको भनाइ छ । उनका अनुसार यस ठाउँमा रातो मत्स्येन्द्रनाथलाई तानेर राखिसकेपछि संकटाले रातो मत्स्येन्द्रनाथलाई केही नहोस् भनेर शक्ति दिएको र यहाँ पालो बसेको किंवदन्ती छ । त्यस्तै यहाँ राखिएको संकटाको हातले खबरदारको संकेत गरेको छ । ‘यहाँबाट मत्स्येन्द्रनाथलाई कहीँ लैजान पाइँदैन, कसैले हस्तक्षेप पनि गर्न पाउँदैन भनेर संकटाले औँला उठाउनुभएको छ,’ उनले भने, ‘सोहीकारण पनि यो ठाउँ निकै महŒवपूर्ण छ, उपत्यकाको प्रसिद्ध जात्रा मानिने मत्स्येन्द्रनाथको उद्गमस्थलको प्रचारप्रसार जरुरी छ ।’ उनले यस क्षेत्रमा संकटा पनि रातो मत्स्येन्द्रनाथ बसेको समयमै आएको किवंदन्ती रहेको जानकारी दिए ।
उनका अनुसार यस ठाउँलाई कटुवाल दह भन्नुको पनि कारण छ । यहाँ बागमतीको पानी दह बनेर बग्ने भएको र कुण्ड बन्ने भएका कारण यो ठाउँलाई कटुवाल दह भन्ने गरिएको हो । त्यस्तै यो ठाउँमा बागमती जति उर्लिएपनि नदी नजिकै रहेको संकटाको हात भन्दा माथि आउँदैन भन्ने मान्यता छ । त्यस्तै, बाढीले कोही मानिसलाई बगाएर ल्यायो भने यो ठाउँभन्दा तल नलैजाने किंवदन्तीसमेत रहँदै आएको छ । बज्राचार्यका अनुसार यस क्षेत्रमा रातो मत्स्येन्द्रनाथले ओगटेको जग्गा अतिक्रमणमा समेत परेको छ ।