
कुनै समय जहाँतहीँ कलकल बग्ने पानीका मुहानहरू हिजोआज सुक्न थालेका छन्। जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण सल्यान जिल्लाका ग्रामीण क्षेत्रमा पानीको संकट बढ्दै जान थालेको छ । वषौंदेखि उपयोग गर्दैै आइरहेका धारा, कुवा इनार दिनप्रतिदिन सक्दै जान थालेका छन् ।बाल्यकालमा पानीका मुहानसँग खेल्दै बिते पनि हाल नजिकका सबै मुहान सुक्दा पानीको अभाव झेल्नुपरेको सल्यानको दार्मा गाउँपालिका–१ का ४६ वर्षीय सेतिराम बुढाथोकीकोको भनाइ छ ।
गाउँघर नजिकै धारा कुवा थिए। आजभोलि सडकले हो वा मौसम परिवर्तनका असरका कारण हो खै बाजे जिजुबालेले प्रयोग गर्दै आइरहेका धारा तथा कुवा सुकेर गइ सके उनले भने। पानीका मुहान सुक्दै जान थालेपछि दैनिक जीवन निकै कठिन बनाएको दार्मा–२ का उदयराम खत्रीकोे भनाइ छ। उनका अनुसार अनुसार पुराना मुहानहरू क्रमशः लोप हुँदै गएपछि गाउँमा पानीको हाहाकार सामान्यजस्तै बनिसकेको छ। पानीको अभावले सरसफाइसमेत समस्या भएको उनी बताउँछन्।
नेपाल सरकारका अनुसार देशभर झण्डै ३८ प्रतिशत ग्रामीण बस्तीमा अझै भरपर्दो खानेपानी सेवा उपलब्ध छैन ।जलवायु परिवर्तन, अनियमित वर्षा, रुख कटानी, र सडक निर्माणका क्रममा स्काभेटर प्रयोग जस्ता मानवीय गतिविधिले पानीका स्रोतहरू सुकाउँदै लगेका छन् ।यस समस्यालाई ध्यानमा राख्दै दार्मा गाउँपालिकाले पानीका मुहानहरूको खोजी र संरक्षण कार्य अघि बढाएको दाबी गरेको छ।
गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार रिचार्ज पोखरी निर्माण, वृक्षारोपण र साना खानेपानी योजनाहरू जनश्रममार्फत सञ्चालनमा ल्याइएको छ। पानीका मुहान सुक्दै जानुले स्थानीय बासिन्दाको जीवनशैली मात्र होइन, स्वास्थ्य, शिक्षा, कृषि र समग्र भविष्यमा गम्भीर असर पारिरहेको छ । मुहान नजिकै सडक खन्न बन्देज गर्ने देखि मुहान संरक्षणका कार्यक्रम समेत ल्याएको उनकाे भनाइ छ। खानेपानीका मुहान संरक्षणका लागि क्षति पुगेका खानेपानी योजनाहरू मर्मत गरिँदैछ भने सडक निर्माणका लागि स्काभेटरको प्रयोगमा प्रतिबन्ध लगाइएको वास संयोजक प्रकाश थापाले जानकारी दिए।