
सहकारी ठगीसम्बन्धी कसुर, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसभासद् इच्छाराज तामाङ थुनामै रहने भएका छन् । थुनामा राख्ने तल्लो तहको अदालतको आदेशविरुद्ध उनी सर्वाेच्च अदालत गएकोमा सर्वोच्चले शुक्रबार कानुनबमोजिम गर्नू भनी आदेश दिएपछि यसअघिकै आदेशले निरन्तरता पाउने भएको छ ।
थुनुवाका रूपमा रहेका उनले गत माघ तेस्रो साता सर्वोच्चमा निवेदन दिएका थिए । जसमाथि संयुक्त इजलासले कानुनबमोजिम गर्न आदेश गरेको हो । न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानले यस्तो आदेश गरेका हुन् । ‘कानुनबमोजिम गर्नू भन्नाले यसमा केही गरिरहन परेन भन्ने नै हो,’ सर्वोच्चका सूचना अधिकारी नीराजन पाण्डेयले भने, ‘यसर्थ यसअघिकै अदालतबाट भएको आदेशले निरन्तरता पाउने भयो ।’
पूर्वसांसदसमेत रहेका तामाङमाथि सिभिल सहकारीको हजारौँ बचतकर्ताको रकम हिनामिना गरेको अभियोग छ । यी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छन् । मुद्दा फैसलामा ढिलाइ हुँदा सहकारीका पीडितले बचत फिर्ता पाउन सकेका छैनन्।