१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २ शुक्रबार १४:o७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १४:o७:oo

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले काठमाडौं महानगरपालिका– १६ अन्तर्गत बालाजु, बसपार्क, चापाकोट, च्याङ्ली, लाजिम्पाट, बेलकोटे, शिवपुरी तथा नागार्जुन नगरपालिकाअन्तर्गतको वडा नं. १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेवलगायतका क्षेत्रमा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको हो ।

काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्ने र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उद्देश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए।

उनले भने, ‘काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने अभियान र मन्त्रीज्यूको निर्देशनपश्चात् हामीले उक्त कार्यका लागि आज बोलपत्रसमेत आह्वान गरेका छौँ । नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।’ वितरण सञ्जाल सुधार कार्य, रिङरोड, बालाजुअन्तर्गत कुल पाइप लम्बाइ तीन हजार आठ सय ११ मिटर रहने जनाइएको छ ।

बालाजु ट्यांकीबाट नागरिकलाई सफा र प्रशोधन गरिएको पानी आपूर्ति गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले जनाएको छ । उक्त सेवा सञ्चालनपश्चात् मेलम्ची परियोजनाअन्तर्गत २७० मिलियन लिटर पानी प्रतिदिन काठमाडौंको विभिन्न भागमा आपूर्ति गर्न सकिने अनुमान गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार पानीको वितरणमा आएको ढिलाइलाई अब अन्त्य गर्दै, काठमाडौंमा पानीको आपूर्ति प्रक्रिया व्यवस्थित रूपमा अघि बढाएर काठमाडौं उपत्यकाभित्रको पानी संकटलाई एक हदसम्म समाधान गर्न मद्दत पुर्‍याउने खानेपानी मन्त्रालयले विश्वास लिएको छ ।

उक्त प्रक्रिया सञ्चालनसँगै काठमाडौं महानगरपालिका बालाजु र नागार्जुन नगरपालिकाका नागरिकले आगामी दिनमा नियमित रूपमा मेलम्चीको प्रशोधित पानी प्राप्त गर्नेछन् । सो कार्यका लागि अहिले काठमाडौं उपत्यकाभरिका नागरिकहरूलाई मेलम्चीको शुद्ध अनि सफा खानेपानी वितरणका लागि सञ्जाल निर्माणको कार्य फास्ट ट्रयाकअन्तर्गत अगाडि बढेको जनाइएको छ ।