
संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स (युएई)सँग २०० अर्ब डलरभन्दा बढीको सम्झौता घोषणा गरेको छ। सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्त्वपूर्ण खनिजहरू समावेश गरिएको छ।
जिई एरोस्पेसले इत्तेहाद एयरवेजबाट जिई इन्जिनद्वारा सञ्चालित बोइङ र विमान खरिद गर्नका लागि १४.५ बिलियन डलरको सम्झौता गरेको ह्वाइट हाउसले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
‘इमिरेट्स ग्लोबल एल्युमिनियम’ले ओक्लाहोमा राज्यमा चार अर्ब डलरको प्राथमिक एल्मोनियम गाल्ने परियोजनामा लगानी गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
एक्सोनमोबिल, अक्सिडेन्टल पेट्रोलियम र इओजी रिसोर्सेजले अबुधाबीको नेसनल आयल कम्पनीसँग ६० अर्ब डलरको तेल र प्राकृतिक ग्यासको उत्पादनका लागि सहकार्य गरिरहेको छ। यसैगरी, आरटिएक्सले इमिरेट्स ग्लोबल एल्मोनियम र युएईको काउन्सिल तवाजुनसँग चर्चित ‘ग्यालियम प्रोजेक्ट’मा साझेदारी गरिरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार (स्थानीय समय) साउदी अरब र कतारको भ्रमणपछि युएईको भ्रमण गरेका हुन्।