
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सुपर थ्रीमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘सी’बाट शीर्ष स्थानमा रहँदै सुपर थ्रीमा पुग्न नेपालले हङकङ र बहराइनबिचको लिगको अन्तिम खेलको नतिजाको प्रतीक्षा गर्नुपर्नेछ । हङकङको जितले नेपाल समूह चरणबाटै बाहिरिनेछ । यसबाहेकको समीकरणबाट नेपाल सुपर थ्रीमा पुग्न सक्छ । हङकङमाथि बहराइनको जित तथा कारणवश खेल रद्द भए नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ ।
बहराइन र हङकङबिचको खेल हुन नसक्दा नेपाल बढी जितका आधारमा अगाडि बढ्नेछ । प्रतियोगिताको नियमअनुसार समान अंक भए बढी जित दर्ता गर्ने टोली सुपर थ्रीमा पुग्नेछ । नेपालले दुई र हङकङले एक जित मात्र दर्ता गरेको छ । छनोटमा सहभागी नौ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले सुपर थ्रीमा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान छ ।
समूह ‘सी’मा नेपालले आफ्ना सबै खेल खेलिसकेको छ । नेपालले चार खेलबाट सर्वाधिक ५ अंक बटुलेको छ । नेपालभन्दा एक खेल कम खेलेको हङकङ ४ अंकका साथ दोस्रो स्थानमा छ । समूहको तेस्रो टोली बहराइनले ३ खेलबाट १ अंक बटुलेको छ । नेपालले दुई जित र एक हारको सामना गरेको छ । एक खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अंक हात पारेको थियो । दोस्रो स्थानको हङकङले एक मात्र जित नेपालविरुद्ध प्राप्त गरेको थियो । वर्षाले दुई खेल रद्द हुँदा हङकङले २ अंक जोडेको थियो । बहराइनले तीन खेलबाट १ अंक मात्र हात पारेको छ । बहराइनले दुई खेल गुमाएको छ ।
बहराइनमाथि ६ विकेटको जित
थाइल्यान्डको बैंककमा चलिरहेको एसियन छनोटअन्तर्गत बिहीबार नेपालले बहराइनमाथि डिएलएस नियमअनुसार ६ विकेटको जित दर्ता गर्दै सुपर थ्रीमा पुग्ने सम्भावना जीवितै राखेको हो । वर्षाले प्रभावित खेल १२.४ ओभरमा झारिएको थियो । पहिलो ब्याटिङ गरेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाएर ७६ रन बनाएको थियो । पुनः वर्षाले खेल रोकिँदा नेपालले सात ओभरमा ५६ रनको नयाँ लक्ष्य पायो । नेपालले ५.४ ओभरमा चार विकेटको क्षतिमा ५६ रन जोड्दै बहराइनविरुद्ध जित निकाल्यो । नेपालले लक्ष्य पछ्याएको इनिङ्समा ९.८ को रनरेटमा ब्याटिङ गरेको थियो । बहराइनका बलरले नेपाललाई अतिरिक्त ९ रन दिएका थिए । जसमा चार बाई र पाँच वाइड समावेश रह्यो । नेपालको ब्याटिङमा एक मात्र छक्का प्रहार भएको थियो ।
वर्षाले प्रभावित खेल
नेपाल र बहराइनबिचको खेल वर्षाले प्रभावित पारेको थियो । टस जितेर ब्याटिङ रोजेको बहराइनले तीन विकेटको क्षतिमा ७६ रन बनाउँदा खेल रोकियो । बहराइनले नेपालविरुद्ध ओपनिङमा राम्रो साथ पाएको थियो । थरांगा गजनायके र रसिका रोड्रिगोले पहिलो विकेटका लागि ४.१ ओभरमा २२ रनको साझेदारी गरेका थिए । थरांगाले १२ बलमा १२ रन बनाइन् । रनआउट हुनुअघि उनले १२ बलमा दुई चौका प्रहार गरेकी थिइन् ।
त्यसपछि रासिका र कप्तान दीपिका रासानगिकाले दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गर्दै बहराइनलाई ९.४ ओभरमा ५८–२ को बलियो स्थितिमा राखे । रासिका पनि रनआउट भइन् । उनले २९ बलमा तीन चौकाको सहयोगमा २३ रन बनाइन् । कप्तान दीपिकाले २७ बलमा २३ रन जोडिन ।
कप्तान इन्दुले बलिङमा सात बलरलाई बलिङ गराएकी थिइन् । संयोगवश नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन् । बहराइनले गुमाएको तीनै विकेट रनआउटका रूपमा रह्यो । कविता कुँवर, पूजा, ईश्वरी विष्ट, रिया शर्मा, इन्दु, रजमती ऐरी तथा कविता जोशीले बहराइनविरुद्ध बलिङ गरेका थिए ।
कप्तान इन्दुको अलराउन्ड प्रदर्शन
नेपालकी कप्तान इन्दु बर्माले बहराइनविरुद्धको महत्वपूर्ण प्रतिस्पर्धामा अलराउन्ड प्रदर्शन गरेकी थिइन् । प्रतिस्पर्धामा विकेटविहीन भए पनि इन्दुले कसिलो बलिङ गरेकी थिइन् । उनले तीन ओभरमा १३ रन खर्चिन् । लक्ष्य पछ्याएको ब्याटिङमा उनी आक्रामक रूपमा प्रस्तुत भइन् । इनिङ्सको एक समय नेपाल १.५ ओभरमा ८–३ को दयनीय अवस्थामा थियो । ०.५ ओभरमा नेपालले ओपनर सम्झना खड्कालाई ५ रनमा गुमाएको थियो ।
यसैगरी १.१ ओभरमा रुबी पोडार १ रनमा आउट भइन् । अनुभवी खेलाडी कविता जोशी शून्यमा पेभेलियनमा फर्किइन् । उनले चार बलको सामना गरेकी थिइन् । त्यसपछि इन्दुले उपकप्तान पूजा महतोसँग चौथो विकेटका लागि १५ रनको साझेदारी गर्दै टोलीलाई ३.५ ओभरमा २३–४ को स्थितिमा राखिन् । पूजाले ११ बलमा दुई चौका प्रहाक गरी १३ रन बनाइन् । इन्दुले इनिङ्समा केवल सात बल सामना गरी सर्वाधिक २४ रनको योगदान दिइन् । उनले ३२४.८५ को स्ट्राइकमा ब्याटिङ गरी चार चौका र एक छक्का प्रहार गरेकी थिइन् ।
उनकै उत्कृष्ट ब्याटिङ प्रदर्शनमा नेपालले बहराइनलाई हराएको हो । बहराइनविरुद्ध पूर्वकप्तान रुविना क्षेत्रीले पाँच बलमा ४ रन बनाइन् । बलिङमा बहराइनका लागि पभिथा सेठीले दुई ओभरमा १० रन खर्चेर तीन विकेट हात परिन् । नेपालको जितमा महत्वपूर्ण योगदान दिएकी कप्तान इन्दु खेलकै म्यान अफ दी म्याच भइन् ।